शनिबार, पुष १४ २०८०
काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्थाहरु खराब नरहेको बताएकी छन् । तरकारी फलपूmल बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न २४औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले पछिल्लो समय थुप्रै सहकारीमा समस्या देखिएको भए पनि सबै सहकारी खराब छन् भन्न नमिल्ने बताइन् । तरकारी फलपूmल साकोसका आर्थिक सूचकांक र गतिविधिबारे अध्ययन गरेपछि उनले सुशासनबाट चलेका यस्ता सहकारी पनि रहेको तर्क गरेकी हुन् ।
कालिमाटी तरकारी बजारका व्यवसायीहरुले संचालन गरेको तरकारी फलपूmल साकोसबारे आफू राम्रो जानकार रहेको भन्दै उनले उक्त सहकारी सुशासनमा संचालन भइरहेको आफूले पाएको बताइन् । रकारी बजारका व्यवसायीले निःशुल्क उपलब्ध गराउने तरकारीका कारण कोभिड १९ को महामारी चलेका बेला आफूले दुई वर्षसम्म लाखौँ नागरिकलाई खाना खुवाउन सकेको स्मरण गरिन् । उनले त्यसरी सेवा दिइरहेका व्यक्तिहरु मिलेर चलेको सहकारीले आफ्ना सेयर सदस्यहरुलाई पनि धेरै किसिमका सेवा दिएको आफूले पाएको उनको भनाइ थियो ।
हाल आफू विभिन्न अध्यादेशहरुको अध्ययनमा व्यस्त रहेको भन्दै उनले सहकारी अभियानलाई अझ बढी आफ्ना सेयर सदस्यहरुको आर्थिक जीवनस्तर उकास्ने माध्यम बनाउनुपर्ने धारणा राखिन् । उनले सहकारी साक्षारता, आर्थिक साक्षारता वृद्धिमा काम गर्न पनि सुझाव दिइन् ।
संचालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका विशिष्ट अतिथि बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले तरकारी फलपूmल साकोस सुशासनमा चलेको आफूले पाएको चर्चा गरे । सहकारीका सूचकांकहरुको अध्ययन गर्दा यसले आफ्ना सेयर सदस्यहरुलाई केन्द्रमा राखेर धेरै सिर्जनशील काम गरेको, सेयर सदस्यहरुको आर्थिक विकासमा टेवा पुर्याएको आफूले पाएको उनको भनाइ थियो ।
विशेष अतिथिका रुपमा सम्बोधन गर्दै सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले पनि तरकारी फलपूmल साकोसको आर्थिक विवरणको सरसर्ती अध्ययन गर्दा सुशासनमा संचालन भइरहेको आफूले पाएको बताइन् । आफू नियमनकारी निकायको प्रतिनिधि भएको नाताले आफूले सहकारीभित्रका विकृति सुधारका निम्ति प्रयास गरिरहेको भन्दै उनले अझ बढी सदस्यमुखी बन्न सुझाव दिए ।
मुलुकको अर्थतन्त्रका तीनमध्ये एक खम्बा भए पनि सहकारी संस्थाहरुमा समस्या देखिएकाले कानुनी व्यवस्था गरेरै समाधान खोज्न प्रदेश सरकार प्रयासरत रहेको उनले बताए ।
साधारणसभाले १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको सहकारी संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिए । कार्यक्रममा उक्त सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुंगानालाई सम्मान गरिएको थियो । यसैगरी, सहकारी संस्थाका सेयर सदस्यहरुका छोराछोरीमध्येबाट गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल २२ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
नियमित बचतकर्तामध्येबाट असल बचतकर्ताका रुपमा कविता श्रेष्ठ, विन्दुलाल श्रेष्ठ, लक्ष्मण श्रेष्ठ र आकृति लामा, असल ऋणी सम्मानबाट सुनिता गोपाली, भरतप्रसाद पुडासैनी, मदन श्रेष्ठ र प्रसिद्धा स्यांगतानलाई सम्मान गरिएको थियो । यसैगरी, उत्कृष्ट कर्मचारी मन्दिरा बिँडारीलाई सम्मानसमेत प्रदान गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले बताइन् ।
२०५६ साल माघ २१ गते ३० जना सदस्यहरूले ३१ हजार ९ सय सेयरपुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल २४ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा यस संस्थाको सेयर पुँजी ४ करोड २६ लाख ६ सय रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९÷०८० मा सेयर पुँजी रकम वृद्धि भई ६ करोड ९५ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ ।
सात वर्षअघि आर्थिक वर्ष २०७३÷०७४ मा सदस्य बचत रकम २४ करोड ९४ लाख १४ हजार ४ सय ३२ रुपैयाँ थियो । आर्थिक वर्ष २०७९÷०८० मा आइपुग्दा सेयर सदस्य बचत रकम ४४ करोड ६५ लाख लाख ३२ हजार ३ सय ३४ रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा २४ करोड ९९ लाख ८६ हजार ४ सय ७७ रुपैयाँ ऋण लगानी भएको थियो भने आर्थिक वर्ष २०७९÷०८० मा आउँदा ४६ करोड एक लाख ९८ हजार ८ सय ४२ रुपैयाँ ऋण लगानी भएको छ ।
संचालन मुनाफातर्फ आर्थिक वर्ष २०७३÷०७४ मा एक करोड ६४ लाख १८ हजार ५ सय ३३ रुपैयाँ थियो । आर्थिक वर्ष २०७९÷०८० मा ३ करोड ५४ लाख ६ हजार २ सय ५४ रुपैयाँ संचालन मुनाफा पुगेको छ ।
जगेडा तथा अन्य कोषमा आर्थिक वर्ष २०७३÷०७४ मा ३ करोड ८ लाख ७ हजार ४ सय २४ रुपैयाँ छुट्याइएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा १० करोड, ९३ लाख, ३४ हजार २ सय ५९ रुपैयाँ जगडा तथा अन्य कोषमा छुट्याइएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ को वासलात हेर्दा सात वर्षअघि ३३ करोड, ९८ लाख ६३ हजार ५ सय १३ रुपैयाँको यो संस्था आर्थिक वर्ष २०७९÷०८० मा आइपुग्दा ६६ करोड, ११ लाख, ९२ हजार, ३ सय ५७ रुपैयाँको बन्न पुगेको छ ।
यस सहकारी संस्थाकाले प्रत्येक सदस्यको जीवनसँग सहकारी प्रत्यक्ष रूपमा जोडिनुपर्छ भन्नेमा सचेत रहँदै विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । नवजातलाई लक्षित गरी बाल शैक्षिक बचत योजना चलाइएको छ । खुत्रुको बचत योजना कार्यान्वयन गरिरहेका छौँ । सुत्केरी भत्ता, जेष्ठ सदस्य र एकल महिला भत्ता वितरण गर्दै आएका छौँ । अपांगता भएकाहरु बालबालिकालाई लक्षित गरी छात्रवृत्ति योजना संचालन गरिएको छ । सदस्य दुर्घटना बिमा, प्राणघातक रोग उपचार खर्च दिँदै आएको छ ।
बालबालिकाको मानसिक, शारीरिक र सामाजिक विकासका निम्ति प्रत्येक वर्ष सिर्जनशील कार्यक्रमहरु समावेश गरी रमाइलो वनभोज कार्यक्रम चलाउँदै आएको छ भने जेष्ठ सदस्य र एकल महिलाहरुलाई सम्मान गर्दै आएको छ ।
सेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरीलाई एसईई अवार्ड वितरण गर्दै आएको छ ।
उद्घाटन सत्रलाई तरकारी फलपूmल साकोसका निवर्तमान अध्यक्ष उज्वल कार्की, सहकारीका वर्षसदस्य तथा सल्लाहकार भरतप्रसाद खतिवडा, तरकारी फलपूmल थोक बजार व्यावसायिक संस्थाका अध्यक्ष गिताप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कुन)का सचिव गोविन्द काफ्ले, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कुन)का अध्यक्ष दीपक पनेरु, कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिका बोर्ड सदस्यद्वय भगवानचन्द्र उप्रेति र तारा रेमी मगर, प्राज्ञिक व्यक्तित्व विष्णुप्रसाद रुपाखेती, तरकारी फलपूmल थोक बजार व्यावसायिक संस्थाका महासचिव हरिकृष्ण थापा, कालिमाटी तरकारी बजार युवा क्लबका उपाध्यक्ष दीपकप्रसाद पौडेल, सामूहिक परिवर्तनशील महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिर्जना सुयाल, श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमिला श्रेष्ठ, तरकारी फलपूmल साकोशका पूर्वव्यवस्थापक विमला पुडासैनीलगायत अतिथि उपस्थित थिए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij