शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बर बढ्यो

मंगलबार, पुष ३ २०८०

काठमाडौं(जस)–नेपाल वायु सेवा निगमको आम्दानी गएको तीन वर्षमा दोब्वरभन्दा धेरै वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७÷७८ मा नौ अर्ब १० करोड ९७ लाख ३१ हजार रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी गएको आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख रुपैयाँ देखिएको निगमका प्रवक्ता रमेश पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार निगमले गएको तीन वर्षमा आफ्नो आम्दानीमा एक सय ४४ प्रतिशतले वृद्धि गरेकोे छ ।
आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार वटा र आन्तरिकतर्फ दुई वटा जहाज उडानमा छन् । अहिलेको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने काम भइरहेको निगमले जनाएको छ ।
दुई कर्मचारी निलम्बित
नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’ मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका छन् । पोखरेल र यादव नक्कली कागजातका आधारमा नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’ मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा मंसिर १९ गते पक्राउ परेका थिए ।
अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेकाहरूलाई ठगी र लिखतसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ परेकालाई हिरासतमा राखिएको जानकारी प्राप्त भएपछि निगमले मंसिर २७ गतेदेखि लागु हुनेगरी निलम्बन गरेको हो । स्रोतका अनुसार दुवैजनालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार