काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीले निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइसक्नुभएको जानकारी दिनुभयो ।
“प्रधानमन्त्रीले नेपाल आयल निगमलाई आजै मूल्यवृद्धिको निर्णय फिर्ता गर्न निर्देशन दिनुभएको छ”, प्रवक्ता शर्माले भन्नुभयो, “निगम स्वचालित मूल्य प्रणालीमा गए पनि चाडबाडको समयमा मूल्यवृद्धिले जनतालाई समस्यामा पार्ने विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।” उहाँले निगमले साविककै मूल्य कायम गर्दै आजै सूचना निकाल्ने समेत जानकारी दिनुभयो ।
नेपाल आयाल निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर रु छ, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो ।
मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो ।
निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको थियो । मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको थियो ।