काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले विभिन्न मुलुकका लागि सम्बन्धित क्षेत्रको ज्ञान, अनुभव, विशेषज्ञता तथा व्यावसायिक पृष्ठभूमि भएका व्यक्तित्वलाई राजदूतमा सिफारिस गर्नु सकारात्मक कदम भएको जनाएको छ ।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले जारी गरेको शुभकामना सन्देशमार्फत भारत, चीन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतलाई बधाई तथा शुभकामना दिएका हुन् ।
एनआरएनएले विशेषगरी संघका पूर्वपदाधिकारी तथा नेपाली डायस्पोरासँग नजिकबाट काम गरेका व्यक्तित्वसमेत राजदूतका लागि सिफारिस भएकोमा खुसी व्यक्त गरेको छ ।
त्यस्ता व्यक्तिको अनुभव, ज्ञान र नेपाली समुदायसँगको निकट सम्बन्धले सम्बन्धित मुलुकमा नेपालको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन तथा दूतावास र नेपाली समुदायबीचको सहकार्यलाई सुदृढ बनाउन योगदान पुग्ने एनआरएनएको बुझाइ छ ।
नेपालको राष्ट्रिय हित र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा एनआरएनएले जोड दिएको छ । विदेशमा रहेका नेपाली समुदायका साझा हित र सरोकारका विषयमा प्रस्तावित राजदूतहरूसँग आगामी दिनमा सहकार्य र समन्वय गर्ने अपेक्षासमेत संघले गरेको छ ।
एनआरएनएले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सफल होस् र आगामी जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेको छ ।