सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

केन्द्रीय समिति बैठकमा ओलीद्वारा प्रतिवेदन पेस, पद नछाड्ने अडान, थापाको २६ पेजको मत

सोमबार, असोज ५ २०८३

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
ललितपुरमा सोमबारदेखि सुरु भएको बैठकमा गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले ब्यहोरेको पराजय र त्यसपछिको राजनीतिक घटनाक्रमबारे विस्तृत समीक्षा गर्दै उनले चुनावी असफलताको नैतिक जिम्मेवारी आफूले लिने तर अध्यक्ष पद भने नछाड्ने दृढ अडान लिएका छन्।

सङ्कटको घडीमा नेतृत्व छाडेर हिँड्नु गैरजिम्मेवारीपन र आत्मसमर्पण हुने तर्क गर्दै उनले पार्टीलाई पुनर्निर्माण र पुनर्जागरणको दिशामा अघि बढाउन आफैँ अग्रमोर्चामा रहने घोषणा गरेका छन्।

प्रतिवेदनमार्फत ओलीले पार्टीभित्र पछिल्लो समय चर्को रूपमा उठिरहेको नेतृत्व पुनर्गठन र पुस्तान्तरणको मागको कडा प्रतिवाद गरेका छन्। अध्यक्ष विस्थापित गर्ने मनसायले चलाइएको पुनर्गठनको हल्लालाई ‘बेमौसमी बाजा’ को संज्ञा दिँदै उनले पार्टी इतिहासमा २०२७ सालको झापा आन्दोलन र २०७५ सालको एकता विभाजनजस्ता बाध्यात्मक तथा असाधारण परिस्थितिमा मात्र पुनर्गठन गरिएको नजिर प्रस्तुत गरे।

पद खाली गर्ने मनमौजी र आकस्मिक कदमलाई नेतृत्व हस्तान्तरण भन्न नसकिने दाबी गर्दै उनले संस्थागत तयारीबिना गरिने हस्तान्तरणले पार्टीमा गम्भीर रिक्तता पैदा गर्ने चेतावनी दिए।

रूखमा नयाँ पालुवा हुर्काउन जरा नकाटिने र जरालाई पोषण दिएर मात्र नयाँ पालुवा मौलाउने दृष्टान्त दिँदै ओलीले एमालेको इतिहास जरा र नयाँ पुस्ता पालुवा भएको बताए। उमेर कम हुँदैमा स्वतः योग्यता र बढी हुँदैमा अयोग्यता नहुने उनको तर्क छ। बिरामी देखेर चिकित्सकले अस्पताल र बालीमा रोग देखेर किसानले खेत नछोडेजस्तै सङ्कटका बेला नेतृत्वले पार्टीलाई अलपत्र छाड्न नमिल्ने जिकिर उनले गरे।
आफूमाथि हुने नीतिगत र सांगठनिक आलोचना सुन्न सधैँ तयार रहेको बताउँदै ओलीले बाहिर विरोधीले चलाएको चरित्रहत्याको भाषा पार्टीभित्र भित्र्याउन खोजिएको भन्दै आक्रोश पोखे।

सार्वजनिक जीवनमा रहेको व्यक्ति प्रश्नबाट नभाग्ने भए पनि स्वास्थ्य, उमेर, शरीर, बोली र विगतको संघर्षलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा नेतृत्वको अपमान गर्न नपाइने उनले बताए। महाधिवेशनले लोकतान्त्रिक विधिबाट विचार, विधान र नेतृत्व चयन गरिसकेको स्मरण गराउँदै उनले मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ भन्दै हिँड्नेहरू कुन हैसियतका न्यायाधीश हुन् भनी प्रश्न गरे। पार्टीभित्रका बहस कमिटीभित्रै हुनुपर्ने र अनुशासनहीन सार्वजनिक अभिव्यक्तिले विपक्षीलाई मात्र फाइदा पुग्ने उनको भनाइ छ।

निर्वाचन परिणामको विश्लेषण गर्दै ओलीले जनताले दिएको मत वैध भए पनि निर्वाचनपूर्वको राजनीतिक वातावरण भने असामान्य, तनावपूर्ण र एकपक्षीय रहेको निष्कर्ष निकालेका छन्। भदौका हिंसात्मक घटनालगत्तै समाज ठूलो मनोवैज्ञानिक आघातमा रहेका बेला चुनाव भएको र डिजिटल माध्यममार्फत पुराना दलविरुद्ध तीव्र घृणा फैलाइएको उनले बताए। बाह्य घेराबन्दीलाई मात्र दोष दिएर पार्टी उम्कन नसक्ने स्वीकार्दै उनले आन्तरिक कमजोरीहरूको समेत चिरफार गरे। संगठन विस्तार भए पनि सोअनुसार सुदृढीकरण हुन नसकेको, कमिटीहरू बैठकमा मात्र सीमित भएको, युवाको बदलिँदो मनोविज्ञान बुझ्न ढिलाइ भएको र डिजिटल युगअनुकूल छरितो सञ्चार प्रणाली नहुँदा झुटले सजिलै प्रश्रय पाएको उनले स्वीकार गरे। कतिपय क्षेत्रमा गलत उम्मेदवार छनोट, आन्तरिक अन्तर्घात र संगठनात्मक थकानले समेत चुनावी परिणाम बिगारेको उनको ठहर छ।
प्रतिवेदनमा ओलीले गत भदौ २३ र २४ गते भएको तथाकथित ‘जेन-जी’ आन्दोलनलाई देशमाथिको गम्भीर षड्यन्त्रका रूपमा व्याख्या गरेका छन्। युवाहरूको बेरोजगारी र भविष्यप्रतिको निराशालाई आपराधिक गिरोह र बाह्य शक्तिले हिंसात्मक दिशामा मोडेको उनको आरोप छ। विरोधका नाममा संसद् भवन जलाउने, जनप्रतिनिधिको घरमा आगजनी गर्ने र निर्वाचित सरकार ढालेर असंवैधानिक रूपमा संसद् विघटन गर्ने कार्य लोकतान्त्रिक अधिकार हुन नसक्ने उनले बताए।

विधिको शासनलाई भीडको दबाबले विस्थापित गर्दा लोकतन्त्रमा दीर्घकालीन क्षति पुगेको उल्लेख गर्दै उनले अदालतमाथि जनदबाब बढ्ने, सुरक्षा संयन्त्र निर्णयविहीन हुने, नागरिक स्वतन्त्रता उल्टै जोखिममा पर्ने र आवधिक निर्वाचनको अर्थ नै समाप्त हुने चेतावनी दिए।

वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै ओलीले आफूमाथि जाली पक्राउ पुर्जी जारी गरी गैरकानुनी हिरासतमा राखिएको र राज्य आतंक मच्चाइएको बताए। भदौको बाढीपहिरो विपद्का बेला बेलीब्रिजको सामान नै नआई एआईमार्फत बनाइएको फोटो बाँडेर सरकारले राज्यस्तरबाटै अफवाह फैलाएको दाबी उनले गरे।

यी तमाम प्रतिकूलता चिर्दै पार्टीलाई अघि बढाउन ओलीले संविधान तथा लोकतान्त्रिक प्रणालीको रक्षा र आगामी निर्वाचनको तयारीलाई तत्कालका दुई मुख्य कार्यभारका रूपमा अघि सारेका छन्। ती कार्यभार पूरा गर्न जनताको घरदैलोमा ‘सत्य संवाद’ लैजाने, द्रुत तथ्य खण्डनका लागि डिजिटल पुनर्निर्माण गर्ने, जनहितकेन्द्रित प्रतिपक्ष बन्ने र अनुशासन कायम गर्नेसहित १५ बुँदे कार्ययोजना प्रतिवेदनमा पेस गरिएको छ।

एमाले पराजित भए पनि यसको जरा नसुकेको बताउँदै उनले पराजयलाई शिक्षामा, शिक्षालाई रूपान्तरणमा र रूपान्तरणलाई पुनर्जागरणमा बदल्दै पार्टीलाई पुनः राष्ट्रिय विजयको आधार बनाउने उद्घोष गरेका छन्।
यसैबिच नेकपा एमालेका नेता कर्ण थापाले केन्द्रीय कमिटी बैठकमा २६ पेजको मत राख्दै त्यसमाथि छलफल गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आफ्नो प्रतिवेदन बैठकमा पेस गरे लगत्तै आसनबाट उठेर नेता थापाले आफ्नो मत पनि समेट्न र छलफल गर्न आग्रह गरेका हुन् ।

जवाफमा ओलीले ह्वाट्स एप वा मेलमा पठाउन भनेका थिए । त्यसपछि थापाले अध्यक्ष र महासचिवको ह्वाट्स एपमा पठाएको तथा पार्टीको आधिकारिक मेलमा समेत पठाएको जानकारी गराएका थिए । प्रतिवेदनमाथि मंगलबारदेखि छलफल सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार