काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेश गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) का संयोजक तथा कार्यकारी सदस्य सहदेव धमलाले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ । क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा भएको आकलन गरिएको छ ।
होटल क्षेत्रमा रु १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा रु १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानवबल एवं पर्यटक व्यवस्थापनमा रु १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ रु १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनतर्फ रु १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्टतर्फ रु १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ रु १ अर्ब २७ करोड ६४ लाख ४० हजार बराबरको क्षति भएको छ ।
आन्तरिक पर्यटन राजस्वमा रु १९ करोड ८७ लाख, राफ्टिङ तथा क्याम्पिङ साइटमा रु १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा रु ५ करोड बराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
बाढी तथा पहिरोमा १ हजार ११७ नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको जनाइएको छ । तीमध्ये ३१० जनाको उद्धार भएको, १३ जना सम्पर्कमा आएको र ७९४ जना अझै सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ । सम्पर्कविहीनमध्ये ६०६ जना विदेशी र १८८ जना नेपाली छन् । उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरका अनुसार घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरसँग समन्वय गरी खोज तथा उद्धार सुरु गरिएको थियो ।
प्रतिवेदनले विपद्पछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षित तथा दिगो पर्यटन प्रणाली विकास गर्नुपर्ने औँल्याएको छ । रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने अवधारणासमेत अघि सारिएको बोर्डले जनाएको छ ।
बाढीबाट प्रभावित पर्यटन व्यवसायीका लागि तत्काल राहत, कर छुट तथा सहुलियतपूर्ण पुनरुत्थान प्याकेज आवश्यक रहेको सहदेव धमलाले बताए । उनले वैकल्पिक पदमार्ग तथा यातायात पहुँच शीघ्र सञ्चालनमा ल्याउन र अन्तर्राष्ट्रिय बजारमा नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।
मन्त्री खड्गराज पौडेल ‘गनेस’ले प्रभावित क्षेत्रमा अलपत्र पर्यटकको शीघ्र उद्धार तथा क्षतिग्रस्त पर्यटन पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले आगामी पर्यटकीय सिजनअघि प्रमुख गन्तव्यमा सुरक्षा, सञ्चार तथा यातायात पहुँच पुनःस्थापित गर्ने गरी नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँगको सहकार्यमा संयुक्त कार्ययोजना अघि बढाइने जानकारी दिए ।
मन्त्री पौडेलले आगामी विपद्का समयमा प्रभावकारी समन्वय, शीघ्र प्रतिकार्य तथा पर्यटन पुनरुत्थानलाई व्यवस्थित बनाउन पुनरुत्थान योजनाको मस्यौदा तयार गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई दिएका छन् ।
प्रारम्भिक प्रतिवेदनले जलवायु–अनुकूल पर्यटन पूर्वाधार, पूर्वसूचना प्रणाली, पर्यटक प्रहरीको विस्तार तथा पर्यटन बीमा प्रणालीको संस्थागत विकासमा जोड दिएको छ । प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थानसँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई निरन्तरता दिन भारतका दुई सहरमा प्रेस ब्रिफिङ तथा ‘नेपाल नाइट’ कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारिएको छ ।