काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सकेमात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्नुपर्ने बताए ।
‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन् ।’
संविधानको साँचो अर्थ त्यतिबेला मात्र बोध हुने भन्दै उनले कुनै पनि नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि राज्यसँग याचना गर्न नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको उनको भनाइ थियो ।
शासकीय संरचनामा हुने परिवर्तनले मात्र युगका अपेक्षा पूरा नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्यले नागरिकमा आशा जगाउन सक्नुपर्ने बताए । नागरिकलाई निराशामा राखेर न राज्य सफल हुने न व्यवस्था नै सफल हुने उनको भनाइ थियो ।
राजनीतिक परिवर्तनलाई व्यवहारबाट पुष्टि गर्न राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा परिवर्तन आवश्यक रहेको उनले बताए । संविधान दिवसले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउने विश्वास उनले व्यक्त गरे ।
राष्ट्रपति पौडेलले संविधान कागजमा लेखिएका शब्द वा वाक्यको सङ्ग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको बताए । राज्य नागरिकको आर्तनादसँगै उभिने, सरकार नागरिकको सेवक बन्ने र न्याय राज्यको मूल ध्येय बन्ने अवस्थामै संविधानको महत्त्व प्रकट हुने उनले बताए ।
कुनै पनि नेपालीले आफ्नै देशमा एक्लो र पराया अनुभूति गर्न नपर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी सरकारले मात्र नागरिक सर्वोच्चता स्थापित गर्न सक्ने बताए । सबैलाई समान हक, सामाजिक न्याय र समृद्धि सुनिश्चित नगरी संविधानका वाचा पूरा नहुने उनको भनाइ थियो ।
संविधान दिवसलाई विपत्तिको पीडासँगै आत्मसमीक्षाको दिनका रूपमा लिनुपर्ने राष्ट्रपति पौडेलले बताए । हालैको बाढी तथा प्राकृतिक विपत्तिले विकास भनेको सडक, पुल र भवन मात्र नभई मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि भएको पाठ सिकाएको उनले उल्लेख गरे ।
पुनर्निर्माण गर्दा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्ने बताउँदै उनले जलवायु परिवर्तनका चुनौतीबीच विकासका ढाँचालाई थप मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
नेपालको संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको अन्त्य गर्दै संघीयता, समावेशिता र बहुलवादमा आधारित नेपाल निर्माणको अवसर दिएको राष्ट्रपति पौडेलले बताए । संविधानले राज्यको शासकीय संरचनालाई नयाँ ढङ्गले स्थापित गरेको उल्लेख गर्दै उनले यसलाई देश विकासको अनिवार्य तहका रूपमा विकास गर्नुपर्ने बताए ।
संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिए । बाढी तथा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । भदौ १० को बाढीबाट प्रभावित मित्रराष्ट्रका नागरिकप्रति पनि उनले नेपालको तर्फबाट समवेदना व्यक्त गरे ।
सात दशक लामो संघर्षबाट संविधान प्राप्त भएको स्मरण गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद, आन्दोलनका क्रममा यातना सहने योद्धा तथा अग्रज नेताप्रति उच्च सम्मान व्यक्त गरे ।
समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो ।
यसअघि संविधान दिवस तथा राष्ट्रिय दिवसको मूल समारोह काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको थियो । नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।