काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू २४ औँ दिनमा पनि निरन्तर जारी रह्यो।
एनआरएनएको समन्वयमा भारतको सिख एडद्वारा स्याफ्रुका ११० प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिँदै
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका परिवारलाई राहत सहयोग पुर्याउन एनआरएनएको समन्वय तथा सहजीकरणमा SikhAid Charitable Trust, Cuttack, India (शिख एड) को राहत आज रसुवाको धुन्चे पुर्याइएको छ । शिख एडले एनआरएनएसँगको समन्वयमा गोसाइँकुण्ड गाउँपालिका–१, ठूलो स्याफ्रुका ११० प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराउन लागेको हो। राहत सामग्रीमा ग्यास सिलिन्डर १० वटा, ग्यास चुलो ११० वटा,भान्साका सामग्री ११० सेट,ब्ल्याङ्केट २०० वटा र प्रेसर कुकर ११० वटा रहेका छन्। शिख एडको टोली भोलि बिहान हेलिकप्तर्मार्फत ठुलो स्याफ्रु पुगेर स्थानीय तह तथा सम्बन्धित पक्षसँगको समन्वयमा राहत सामग्री वितरण गर्नेछ।उक्त टोलीमा गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ समेत हुनुहुन्छ । राहत सामग्रीमध्ये ९० सेट ठूला स्याफ्रुका बढी प्रभावित तथा विपन्न परिवारलाई, १० सेट ठूला स्याफ्रुमा थप आवश्यकताअनुसार र १० सेट धुन्चेस्थित गुम्बालाई उपलब्ध गराइनेछ। बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको काजकिरिया तथा धार्मिक संस्कारका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्यले गुम्बालाई समेत सामग्री उपलब्ध गराउन लागिएको हो। भारतबाट राहत सामग्रीसहित नेपाल आएका शिख एडका संस्थापक रौनक सिंह तथा स्वयंसेवक टोलीलाई एनआरएनएले प्रभावित क्षेत्रको अवस्था, स्थानीय आवश्यकता र राहत वितरणको प्रक्रियाबारे आवश्यक परामर्श तथा समन्वय गरेको हो। साथै, राहत सामग्री प्रभावित बस्तीमा पुर्याउन स्थानीय तह, सम्बन्धित निकाय तथा यातायात व्यवस्थापनका लागि आवश्यक समन्वय र सहजीकरण एनआरएनएले गरिरहेको छ। यसअघि एनआरएनए र शिख एडबीच भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि राहत तथा मानवीय सहायता पुर्याउने विषयमा छलफल भएको थियो। छलफलका क्रममा राहत वितरणमा स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार बनाउने तथा उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा प्रभावित परिवारसम्म पुर्याउने विषयमा सहकार्य गर्ने सहमति भएको थियो।
चारदिने स्वास्थ्य शिविर सम्पन्न गरी स्वास्थ्य टोली काठमाडौं फर्कियो
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न गएको स्वास्थ्य टोली चारदिने स्वास्थ्य शिविर सम्पन्न गरी आज काठमाडौं फर्किएको छ। एग्लोबल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा खटिएको शिविरमा डा. कावेरी कार्की, डा. सोवित गुरुङ र हरि कोजुको टोलीले डाँडागाउँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा स्वयंसेवक हेम थापा मगरको सहकार्यमा स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो। बाढीपछि देखिएका स्वास्थ्यसम्बन्धी समस्याका साथै विभिन्न दीर्घरोग तथा मौसमी स्वास्थ्य समस्याको समेत परीक्षण तथा उपचार गरिएको थियो। शिविरका क्रममा बाढीबाट प्रभावित समुदायमा शारीरिक स्वास्थ्यसँगै मानसिक तथा मनोसामाजिक अवस्थालाई समेत ध्यान दिँदै आवश्यक परामर्श र सहयोग प्रदान गरिएको थियो।

