बग्दाद । मध्य पूर्वमा द्वन्द्व विस्तार भइरहेका बेला इराकबाट प्रहार गरिएका ड्रोनको आक्रमणपछि साउदी अरबले एउटा महत्त्वपूर्ण तेल पाइपलाइन बन्द गरेको छ।
इरानसँग सीमा जोडिएको आफ्नो एउटा प्रान्तबाट छिमेकी मुलुकको पूर्व-पश्चिम पाइपलाइनमा ड्रोन आक्रमण भएको स्वीकार गरेपछि इराकले एक सैन्य कमाण्डरलाई बर्खास्त गरेको र घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।
साउदी अरबले यसअघि नै इराकमा रहेका इरान-समर्थित लडाकु समूहहरूले आफ्ना तेलसम्बन्धी संरचनाहरूलाई निशाना बनाएको आरोप लगाउँदै आएको छ।
१,२०० किलोमिटर अर्थात ९७४५ माइल लामो यो पाइपलाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई ‘स्ट्रेट अफ हर्मुज’को प्रयोग नगरी तेल ढुवानी गर्न मद्दत पुर्याएको छ।
यो घटना यमनमा इरान-समर्थित हुथी विद्रोहीहरूको बढ्दो प्रभावका बीच भएको हो। यसले विश्वव्यापी तेल ढुवानी मार्गहरूमा थप दबाब सिर्जना गरेको छ, विशेष गरी अमेरिका र इरानबीचको तनावपूर्ण अवस्था सातौं महिनामा प्रवेश गरिरहँदा याे अप्रत्याशित हमला भएकाे हाे ।
शुक्रबार, साउदी समर्थित यमनी सरकारी फौजले रणनीतिक महत्त्वको तटीय सहर ‘मोखा’ मा हुथी लडाकुहरूमाथि प्रहार गरेको जनायो। हुथी विद्रोहीहरूले लाल सागरको सम्पूर्ण तटीय क्षेत्र आफ्नो नियन्त्रणमा लिएको भोलिपल्ट यो कारबाही भएको हो।
घटनास्थल नजिकै डढेको जमिन र धुवाँ देखिएका स्याटेलाइट तस्बिरहरू सार्वजनिक भएपछि रियादले शुक्रबार सावधानीस्वरूप उक्त पाइपलाइन बन्द गरेको जानकारी दियो। विदेश मन्त्रालयले आक्रमणका कारण केही व्यक्ति घाइते भएको र भौतिक क्षति पुगेको जनाएको छ, क्षतिको विवरणको अझै मूल्याङ्कन भइरहेको छ।
जहाज ट्र्याकिङ कम्पनी र विश्लेषकहरूलाई उद्धृत गर्दै साउदीको यो पाइपलाइनमार्फत विश्वव्यापी तेल आपूर्तिको ४ देखि ५ प्रतिशत हिस्सा ढुवानी हुँदै आएको छ।
उता, इराकका प्रधानमन्त्रीको आग्रह पछि साउदी अरबले तत्कालका लागि कुनै जवाफी कारबाही नगर्ने निर्णय गरेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ। साे मन्त्रालयले छिमेकी मुलुकहरू विरुद्ध इराकको भूमिबाट हुने आक्रमणहरू रोक्न इराकी सरकारले गर्ने प्रयासहरूमा साउदी अरबले समर्थन गर्ने बताएको छ।
‘साउदी अरब अधिराज्यले आफ्नो सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न, आफ्ना संरचनाहरू जोगाउन तथा आफ्ना नागरिक र त्यहाँ बसोबास गर्नेहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने अधिकार आफूसँग सुरक्षित रहेको कुरा पुनः स्पष्ट पार्दछ,’ विज्ञप्तिमा भनिएको छ।
इराकी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको छुट्टै विज्ञप्तिमा इरानसँग सीमा जोडिएको मेसान प्रान्तका अपरेसन कमान्डरुलाई पदबाट हटाइएको उल्लेख छ, उक्त ड्रोन आक्रमण सोही क्षेत्रबाट गरिएको पुष्टि भएपछि यो निर्णय लिइएको हो।
इराकी भूमिबाट तेलसम्बन्धी संरचनाहरूमा ड्रोन आक्रमण गरेको आरोप लगाउँदै साउदी अरबले यसअघि अमेरिकाको सहकार्यमा इराकमा रहेका इरान-समर्थित लडाकु समूहहरू विरुद्ध आक्रमणहरू गरिसकेको छ।
साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतार र कुवेतका प्रतिनिधिहरू सम्मिलित ‘खाडी सहयोग परिषद्’ ले पनि उक्त आक्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ।