काठमाडौं । ग्रिनल्याण्ड बोर्डिङ स्कुलको आयोजनामा २०औँ ग्रिनल्याण्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भदौ २४ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुने भएको छ। विद्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगितामा कक्षा १० सम्मका छात्र–छात्राको सहभागिता रहनेछ। जुनियर छात्रतर्फ कक्षा ७ सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा जुनियर छात्रतर्फ १६ टिम, कक्षा १० सम्मको छात्रातर्फ १६ टिम र सिनियर छात्रतर्फ २५ टिम गरी कुल ५९ टिमले सहभागिता जनाउनेछन्। प्रतियोगिताभरि ११७ खेल सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। समूह चरणका खेलहरू लिग प्रणालीमा खेलाइनेछ भने प्रि–क्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलका खेल नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। प्रतियोगिताको पहिलो संस्करण २०६० सालमा आयोजना गरिएको थियो। त्यसयता २०६२/६३ को जनआन्दोलन, २०७२ सालको भूकम्प र २०७५/७६ सालको कोभिड महामारीका कारण केही वर्ष प्रतियोगिता सञ्चालन हुन सकेको थिएन। यसपटक प्रतियोगिता २०औँ संस्करणमा पुगेको हो।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा संघबाट मान्यता प्राप्त रेफ्रीहरूले खेल सञ्चालन गर्ने आयोजकले जनाएको छ। ‘खेल स्वास्थ्यका लागि र खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताले नयाँ प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने विद्यालयको विश्वास छ। धेरैभन्दा धेरै प्रतियोगिता सञ्चालन, दक्ष रेफ्रीको व्यवस्था र उमेर समूहअनुसार खेललाई व्यवस्थित गर्न सके नेपाली खेलकुदको विकासमा योगदान पुग्ने आयोजकको भनाइ छ।
विद्यालयका खेलकुद प्रशिक्षक पूर्ण न्यौपानेले खेलकुद संस्कारको विकासले विद्यार्थीलाई स्वस्थ, अनुशासित र असल नागरिक बन्न सहयोग पुग्ने बताउनुभएको छ। उहाँका अनुसार खेलकुदसँगै विद्यार्थीमा टिम भावना र अनुशासनको विकास गर्न सकिन्छ।
विद्यालयका सह–प्राचार्य विनोद घिमिरेले खेलकुदमार्फत विद्यार्थीमा अनुशासन र समूहमा काम गर्ने भावना विकास गर्न सके शैक्षिक उन्नतिमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभएको छ।
त्यस्तै, विद्यालयका प्राचार्य तथा प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरुङले प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्दै खेलाडीको सीप र खेलकुद संस्कार विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गत वर्ष सिनियर ब्वाइजतर्फ टिआइए स्कुल, सिनियर गल्र्सतर्फ भ्याली पब्लिक स्कुल र जुनियर ब्वाइजतर्फ गोल्डेन पिक स्कुल विजेता बनेका थिए।
विद्यालयले प्रतियोगितालाई सफल बनाउन सञ्चालक, शिक्षक, विद्यार्थी, अभिभावक तथा सहभागी विद्यालयका संस्थापक र प्रिन्सिपलहरूको सहयोगको अपेक्षा गरेको छ। साथै प्रतियोगिताका गतिविधिबारे सही सूचना सम्प्रेषण गरी खेलकुदको विकासमा सहयोग गर्न सञ्चारकर्मीलाई पनि विद्यालयले आग्रह गरेको छ। ग्रिनल्याण्ड बोर्डिङ स्कुलका प्राचार्य थकिन कुमार गुरुङले प्रतियोगिताबारे जानकारी दिनुभएको हो। थप जानकारीका लागि ९८५१०६३५३७ मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।