न्युयोर्क, २२ भदौ। अमेरिकी टेनिस खेलाडी बेन शेल्टन युएस ओपनको चौथो चरणमा ग्रीसका स्टेफानोस सिटसिपासलाई पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।आठौँ वरीयताका शेल्टनले ६–२, ६–३, ६–४ को सोझो सेटमा जित हासिल गरेका हुन्।
आर्थर ऐस स्टेडियममा भएको खेलको पहिलो सेट ३१ मिनेटसम्म चलेको थियो। शेल्टनले शक्तिशाली सट, उत्कृष्ट कौशल र सटीक निर्णयहरूको संयोजन गर्दै खेलमा आत्मविश्वासपूर्ण सुरुवात गरेका थिए।
तेस्रो सेटमा ती अमेरिकी खेलाडीले शानदार ‘ओभरहेड सट’ प्रहार गरे र आफ्नै सर्भिसमा उत्कृष्ट खेल प्रदर्शन गर्दै जित पक्का गरे। खेलपछि शेल्टनले आफ्नो टोलीले आफूबाट पूर्ण एकाग्रताको अपेक्षा गरेको र यस सिजन सुरुदेखि अन्त्यसम्म बिनाकुनै कठिनाइ प्रदर्शन गरेको यो नै पहिलो खेल भएको बताए।
शेल्टनको अबको प्रतिस्पर्धा स्पेनका कार्लोस अल्काराजसँग हुनेछ। चोटका कारण केही समयको विश्रामपछि प्रतिस्पर्धामा फर्किएका साविक विजेता अल्काराजको खेलको शेल्टनले उच्च प्रशंसा गरे। उनका अनुसार अल्काराजलाई हराउन विशेष स्तरको टेनिस प्रदर्शन गर्नुपर्ने हुन्छ।सन् २००३ मा एन्डी रोडिकले युएस ओपन जितेयता पुरुषतर्फको ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो अमेरिकी खेलाडी बन्ने लक्ष्य शेल्टनको छ।