मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

महान् बक्सर केटी टेलरको खेल जीवनबाट सुखद बिदाइ

सोमबार, भाद्र २२ २०८३

काठमाडौँ । आफ्नो गृहभूमि आयरल्यान्ड र विश्वभर महिला बक्सिङका लागि नयाँ बाटो कोर्ने तथा अनेकौँ उपाधि जितेकी महान् बक्सर केटी टेलरले डब्लिनमा फ्रान्सकी फ्लोरा पिलीमाथि जित हासिल गर्दै आफ्नो शानदार खेल जीवनको सुखद अन्त्य गरेकी छन्।

शनिबार डब्लिनस्थित क्रोक पार्कमा उपस्थित ८० हजार उत्साही समर्थकका माझ ‘अङ्क’ (पोइन्ट्स) का आधारमा जित हासिल गर्दै टेलरले आफ्नो खेल जीवनको बिट मारेकी हुन्। ४० वर्षीया टेलरले आफ्ना WBA, IBF र WBO सुपर-लाइटवेट बेल्टहरू जोगाइराख्नुका साथै खाली रहेको WBC उपाधिसमेत जित्दै तेस्रो पटक निर्विवाद च्याम्पियन बन्न सफल भइन्।

आयरल्यान्डको गेलिक खेलकुदको मुख्य थलोमा दर्शकहरूको खचाखच उपस्थितिबीच “केटी, केटी, केटी!” भन्ने नारा, आतिशबाजी र प्रकाशको आकर्षक प्रदर्शनसहितको भव्य स्वागतका साथ उनी आफ्नो अन्तिम ‘रिङ वाक’ (रिङ प्रवेश) का लागि अघि बढेकी थिइन्। उनले आफ्नो उत्कृष्ट चाल र समयको सही प्रयोग गरेर प्रारम्भिक तथा मध्य राउन्डहरू नियन्त्रणमा राखिन्, तर लचिलो प्रतिस्पर्धी पिलीले सजिलै आत्मसमर्पण गरिनन्।

पहिले अपराजित रहेकी २९ वर्षीया फ्रान्सेली च्यालेन्जर पिली सातौँ राउन्डमा बलियो रूपमा फर्किइन्, जसले टेलरलाई उनको खेलको सबैभन्दा कठिन चुनौती दियो। यद्यपि, आठौँ राउन्डमा आफूलाई सम्हाल्दै आयरिस बक्सर टेलरले पुनः खेलमाथि नियन्त्रण कायम गरिन्।

“ओले ! ओले ! ओले !” को नाराले रङ्गशाला गुन्जिएपछि टेलरले आफ्नो हात उठाइन् र अन्तिम घण्टी बजेपछि पिलीलाई अँगालो हालिन्। निर्णायक (जज) हरूले सर्वसम्मत रूपमा टेलरको पक्षमा निर्णय दिएका थिए। खेलपछि भावुक बनेकी टेलरले आफूलाई “कसरी लड्ने” भनेर सिकाउने बुबासहित परिवारलाई धन्यवाद दिइन् र आँसु पुछ्दै आफ्नी आमालाई अँगालो हालेकी थिइन्।

यो विजयले टेलरको उल्लेखनीय खेल यात्राको बिट मारेको छ। आयरल्यान्डमा केटीहरूलाई एमेच्योर प्रतिस्पर्धामा भाग लिन प्रतिबन्ध लगाइएको समयमा उनले केटाहरूको नाम (“के टेलर”) बाट बक्सिङ सुरु गरेकी थिइन्। सन् २०१२ को लन्डन ओलम्पिकमा महिला बक्सिङले पहिलो पटक प्रवेश पाउँदा उनले लाइटवेटतर्फ स्वर्ण पदक जितेकी थिइन् र त्यसको चार वर्षपछि उनी व्यावसायिक बक्सर बनेकी हुन्।

लाइटवेट र सुपर-लाइटवेटमा विश्व उपाधि जितेकी टेलरले २६ जित र १ हारको कीर्तिमानी रेकर्डसहित आफ्नो व्यावसायिक खेल जीवन टुङ्ग्याएकी छन्। सन् १९७२ मा महान् मुक्केबाज मोहम्मद अलीले अल “ब्लु” लुइसलाई पराजित गरेयता पहिलो पटक टेलरको यो बिदाइ खेलले नै ‘क्रोक पार्क’ मा उच्च स्तरको व्यावसायिक बक्सिङ खेल फर्काएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार