काठमाडौं । क्रोएसियाको राष्ट्रिय टोलीबाट खेल जारी राख्ने निर्णय गरेसँगै कप्तान लुका मोड्रिचले अर्को महिना नेसन्स लिगमा इङ्ल्यान्डको सामना गर्ने भएका छन्।
बुधबार ४१ वर्ष पुग्न लागेका मोड्रिचले पुनः राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्लान् वा नगर्लान् भन्नेबारे अन्योल थियो। जुलाई ३ मा पोर्चुगलसँग पराजित हुँदै क्रोएसिया विश्वकपको अन्तिम ३२ को चरणबाट बाहिरिए पछि उनको सन्न्यासलाई लिएर अड्कलबाजी गरिएको थियो। तर, भेट्रान मिडफिल्डर मोड्रिचले आफू अझै टोलीका लागि उपलब्ध रहेको घोषणा गरेका छन्।
मोड्रिच मुख्य प्रशिक्षक स्लाभेन बिलिचको टोलीमा समावेश हुनेछन्, जसको औपचारिक घोषणा सोमबार गरिनेछ। यो टोलीले नेसन्स लिगअन्तर्गत चेक गणतन्त्र (सेप्टेम्बर २६), इङ्ल्यान्ड (अक्टोबर ३) र स्पेन (अक्टोबर ६) विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
“पक्कै पनि, म लुकाको निर्णयबाट अत्यन्तै खुसी छु। मैदानभित्र र बाहिर क्रोएसियाका लागि उनको महत्त्व र योगदान कस्तो छ भन्ने हामी सबैलाई थाहा छ,” बिलिचले क्रोएसियाली फुटबल संघको आधिकारिक वेबसाइटमा भनेका छन्, “म विशेष गरी यस कुराले खुसी छु कि १४ वर्षपछि हामी फेरि सँगै काम गर्दै छौँ र क्रोएसियालाई गुणस्तरीय, सफल तथा विश्वका उत्कृष्ट टोलीहरूसँग दाँज्न सकिने स्तरको बनाउने बलियो लक्ष्य साझा गर्नेछौँ।”
आफ्नो देशका लागि २०२ खेल खेलिसकेका मोड्रिचले हालै प्रशिक्षक बिलिच र क्राेएसियाली फुटवल संङघका अध्यक्ष मारिजान कुस्टिकलाई आफू टोलीका लागि उपलब्ध रहने जानकारी गराएका थिए।
क्रोएसियाले अक्टोबर ३ मा रिजेकामा इङ्ल्यान्डको सामना गर्नेछ। तर, घरेलु समर्थकहरूबाट विगतमा भएका अशान्तिका घटनाहरूका कारण सो खेल बन्द रङ्गशालामा (दर्शकविहीन रूपमा) खेलाइनेछ।