काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो ।
प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।
उनले भने, ‘महाविपत् पछाडि अनिश्चितकालका लागि स्थगित सदनलाई सुचारु गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । बैठकले १८ गते, २२ गते र १७ गते कुन दिन उपयुक्त हुन्छ भनेर एउटा प्रस्ताव गरेको थियो । जसमा १७ गते सभामुखकै तर्फबाट राष्ट्रिय विपद् बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्ने र सदनलाई चाँही सुचारु गर्ने त्यसपछाडि १८ गते अर्को बैठक बस्ने त्यसपछाडि तीन दिन सार्वजनिक बिदा छ । त्यसपछि २२ गतेबाट सुरु गर्ने । सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेमा भने संसद्को नियमित ‘बिजनेस’ भदौ २३ गतेदेखि सुरु हुनेछ ।’
उनका अनुसार विशेष प्रस्तावमाथि संसदमा प्रतिनिधित्व गर्ने ६ दलका नेताहरूलाई महाविपत्तिकेन्द्रित विषयमा धारणा राख्न दिने सहमति भएको छ । विशेष प्रस्तावमा प्रस्तावक र समर्थक रहने व्यवस्था भने गरिएको छैन ।
प्रतिनिधिसभाको बैठक भदौ १७ र १८ गते दुई दिन सञ्चालन हुनेछ । त्यसपछि तीन दिन सार्वजनिक बिदा रहेकाले संसद् बैठक भदौ २२ गतेदेखि पुनः सञ्चालन हुने बताइएको छ ।
सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेमा भने संसद्को नियमित ‘बिजनेस’ भदौ २३ गतेदेखि सुरु हुने जानकारी परियारले दिए ।