आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३

बाढी प्रभावितका लागि राहत अभियान तीव्र बनाउने एनआरएनएको निर्णय

५ करोड ४८ लाख सहयोगको प्रतिबद्धता

शनिबार, भाद्र १३ २०८३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले नेपालमा गएको विनाशकारी फ्ल्यास बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेको उद्धार, राहत तथा सहयोग अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

अभियानको पछिल्लो अवस्था समीक्षा गर्न आयोजित आईसीसी तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) प्रतिनिधिहरूको बैठकले राहत अभियानलाई समन्वयात्मक रूपमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा एनआरएनएका संस्थापक, पूर्व अध्यक्ष तथा पदाधिकारी, आईसीसी तथा एनसीसी प्रतिनिधि, सल्लाहकार, व्यक्तिगत दाता तथा विभिन्न सहयोगी सहभागी थिए । सहभागीले बाढीबाट उत्पन्न मानवीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहतका लागि भइरहेको अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए ।

एनआरएनएका प्रवक्ता सोम नाथ सापकोटाका अनुसार विभिन्न राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा क्षेत्रीय संयोजकले आ–आफ्नो एनसीसी तथा अभियानअन्तर्गत भइरहेका उद्धार, राहत तथा सहयोगसम्बन्धी गतिविधिबारे जानकारी दिएका थिए । विभिन्न देशबाट भइरहेको सहयोग संकलन, स्थानीय नेपाली समुदाय तथा संघसंस्थासँगको समन्वय र अभियानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

बैठकमा एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले हालसम्म एनआरएनएका विभिन्न तहका पदाधिकारी, एनसीसी, संघसंस्था, व्यक्तिगत दाता तथा सहयोगीबाट उद्धार तथा राहत अभियानका लागि ५ करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिए ।

उनले सहयोगको प्रतिबद्धता जनाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै एनआरएनएका पूर्व तथा वर्तमान पदाधिकारी, आईसीसी सदस्य, एनसीसी प्रतिनिधि, सल्लाहकार तथा गैरआवासीय नेपालीलाई अभियानमा सहभागी हुन आग्रह गरे ।

हालसम्म केन्द्रीय समितिका करिब २० प्रतिशत सदस्यबाट मात्र सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिँदै शर्माले बाँकी सदस्यलाई पनि सहयोगका लागि प्रतिबद्धता जनाउन आग्रह गरे । सम्बन्धित एनसीसीलाई साधारण सदस्य, नेपाली डायस्पोरा, स्थानीय नेपाली संघसंस्था तथा समुदायसँग प्रभावकारी समन्वय गरी अभियान अघि बढाउन पनि उनले अनुरोध गरे ।

बैठकले राहत अभियानलाई थप प्रभावकारी बनाउन सकारात्मक र रचनात्मक सार्वजनिक सञ्चारलाई प्राथमिकता दिने निर्णय गरेको छ । पूर्व पदाधिकारी, आईसीसी सदस्य, सल्लाहकार तथा गैरआवासीय नेपालीले अभियानका सकारात्मक सन्देश, गतिविधि तथा प्रगतिका विवरण सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरी थप सहभागिता र सहयोगका लागि वातावरण बनाउने निर्णय गरिएको छ ।

सहयोगसम्बन्धी तथ्यांकलाई व्यवस्थित, पारदर्शी र नियमित रूपमा अद्यावधिक गर्ने निर्णय पनि बैठकले गरेको छ । आईसीसीले प्राप्त प्रतिबद्धता तथा सहयोगको अभिलेख राख्नेछ । अभिलेखमा सहयोगकर्ताको नाम, प्रतिबद्ध वा प्राप्त रकम, मिति, देश तथा स्थान, सम्बन्धित एनसीसी, व्यक्तिगत वा संस्थागत सहयोगलगायतका विवरण समावेश गरिनेछ ।

त्यस्तै, कुनै एनसीसी वा व्यक्तिगत दाताले सहयोगको प्रतिबद्धता जनाएपछि आईसीसीको तर्फबाट तत्काल धन्यवाद तथा प्रशंसासहितको आधिकारिक पत्र प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिबद्ध रकम तोकिएको समयभित्र जम्मा हुने सुनिश्चित गर्न सम्बन्धित एनसीसी तथा दातासँग नियमित समन्वय र फलोअप गर्ने निर्णय पनि भएको छ ।

संकलित सहयोग रकम लामो समयसम्म रोकिराख्नुको सट्टा सरकारसँग आवश्यक समन्वय गरी समयमै तथा चरणबद्ध रूपमा हस्तान्तरण गर्ने निर्णय बैठकले गरेको छ । यसबाट उद्धार, राहत, स्वास्थ्य सेवा, पुनर्स्थापना तथा अन्य अत्यावश्यक मानवीय कार्यमा रकम उपयोग गर्न सहज हुने एनआरएनएको विश्वास छ ।

एनआरएनए आईसीसीले प्रत्येक २–३ दिनमा अभियानको आधिकारिक प्रगति विवरण सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । नियमित विवरणमा कुल प्रतिबद्ध रकम, प्राप्त रकम, एनसीसी, व्यक्तिगत दाता तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोग, सञ्चालन भइरहेका उद्धार तथा राहत गतिविधि, सरकारलाई हस्तान्तरण गरिएको रकम तथा आगामी कार्यक्रम र योजनाबारे जानकारी समेटिनेछ ।

बैठकले एकता, समन्वय, पारदर्शिता, जवाफदेहिता र सामूहिक जिम्मेवारीलाई राहत अभियानको मुख्य आधार बनाउने निर्णय गरेको छ । अरूले के गरे वा गरेनन् भन्ने विषयमा केन्द्रित हुनुभन्दा आफ्नो अभियानलाई मजबुत बनाउँदै विश्वभर रहेका नेपाली डायस्पोरा, एनसीसी, संघसंस्था, व्यक्तिगत दाता तथा शुभेच्छुकको सामूहिक शक्तिलाई परिचालन गर्ने निर्णय भएको एनआरएनएले जनाएको छ ।

विश्वभर रहेका नेपाली तथा एनआरएनए संरचनाबीच प्रभावकारी समन्वय कायम गर्दै विपद्बाट प्रभावित नागरिकलाई अधिकतम सहयोग पुर्‍याउने गरी अभियानलाई सशक्त, पारदर्शी, जवाफदेही र व्यवस्थित रूपमा अघि बढाउने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार