काठमाडौं । देश विपद्को पीडामा छ, बाढीपहिरोले थुप्रै परिवारको घर आँगन उजाडिएको छ। यस्तो दुःखद् परिस्थितिमा विदेशमा रहेर पनि मातृभूमिको पीडामा साथ दिँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा ओली एन्ड एसोसिएट्सका अध्यक्ष भवानी ओलीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
ओली एन्ड एसोसिएट्समार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरिएको हो। बाढी तथा पहिरोबाट देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा आफ्नोतर्फबाट सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको ओलीले बताएका छन्।
‘देश रोएको बेला सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ’ भन्ने मान्यताका साथ सहयोग गरेका ओलीले विपद्को घडीमा पीडित नागरिकलाई राहत उपलब्ध गराउन सक्ने सबै व्यक्ति, व्यवसायी, संघसंस्था तथा गैरआवासीय नेपालीलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रहसमेत गरेका छन्।
नेपाल र अस्ट्रेलियामा शिक्षा परामर्श तथा अन्य व्यवसाय सञ्चालन गर्दै आएका ओली लामो समयदेखि अस्ट्रेलियामा रहेर व्यवसायसँगै सामाजिक अभियानमा सक्रिय छन्। विगत दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका उनी नेपाली समुदायसँग नजिक रहेर विभिन्न सामाजिक तथा परोपकारी गतिविधिमा समेत निरन्तर सहभागी हुँदै आएका छन्।
ओली “ओली एन्ड एसोसिएट्स नेपाल तथा अस्ट्रेलियाका अध्यक्ष”हुन । शिक्षा परामर्शको क्षेत्रमा स्थापित व्यवसाय सञ्चालन गर्दै आएका उनले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएका छन्। गैरआवासीय नेपाली अभियानमा समेत सक्रिय ओली हाल एनआरएनए आईसीसीका सल्लाहकार रहेका छन्।
बाढी तथा पहिरोका कारण प्रभावित परिवार अहिले तत्कालीन राहतको पर्खाइमा छन्। कतिपय परिवार विस्थापित भएका छन् भने कतिपयले घर, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री गुमाएका छन्। यस्तो अवस्थामा सरकारको प्रयाससँगै निजी क्षेत्र, सामाजिक संस्था तथा विदेशमा रहेका नेपाली समुदायको सहयोग पनि महत्वपूर्ण हुने ओलीको भनाइ छ।
अहिले देश रोएको बेला छ। यस्तो अवस्थामा हामी जहाँ भए पनि आफ्नो देश र नागरिकका लागि सक्दो सहयोग गर्नुपर्छ,ओलीले भने, ‘विपद्को पीडामा रहेका परिवारलाई राहत र पुनःस्थापनाका लागि सबैले हातेमालो गरौँ। आफूले सकेको सहयोग गर्न म सबैमा आग्रह गर्दछु।’
उनका अनुसार अहिलेको सहयोग विपद्मा परेका नागरिकप्रतिको मानवीय ऐक्यबद्धता हो। रकम सानो–ठूलोभन्दा पनि संकटका बेला पीडितको साथमा उभिनु महत्वपूर्ण हुने उनले बताए।
पछिल्लो समय देशमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम बढिरहेको छ। विदेशमा रहेर पनि मातृभूमिको दुःखमा साथ दिने ओलीको सहयोगले गैरआवासीय नेपाली समुदायको सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई समेत प्रतिबिम्बित गरेको छ।