बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३

नाट्टा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्माको उम्मेदवारी, १३ बुँदे एजेन्डासहित व्यवसायीको पक्षमा बलियो प्रतिबद्धता

बुधबार, साउन २७ २०८३

तीन दशकभन्दा लामो पर्यटन अनुभव बोकेका शर्माको प्राथमिकता ‘बलियो नाट्टा, समृद्ध पर्यटन उद्योग’

काठमाडौं,नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को साउन २९ मा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुनिल शर्माले पर्यटन व्यवसायीको हकहित, व्यवसायिक सुरक्षा र नेपालको पर्यटन उद्योगको विकासलाई केन्द्रमा राख्दै १३ बुँदे चुनावी एजेन्डा अघि सारेका छन्।

भरतजंग पाण्डे नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका शर्माले नाट्टालाई अझ सशक्त, पारदर्शी, प्रभावकारी र सदस्यमुखी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तीन दशकभन्दा लामो समयदेखि पर्यटन तथा ट्राभल व्यवसायमा सक्रिय शर्माले आफ्नो व्यावसायिक अनुभव र संस्थागत ज्ञानलाई नाट्टाको नेतृत्वमार्फत समग्र व्यवसायीको हितमा प्रयोग गर्ने बताएका छन्।

‘बलियो नाट्टा, समृद्ध पर्यटन उद्योग’ भन्ने मूल नारासहित निर्वाचनमा होमिएका शर्माले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पर्यटन व्यवसायीका वास्तविक समस्या समाधान गर्न सरकार, नेपाल नागरिक उड्डयन क्षेत्रका सम्बन्धित निकाय, अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) तथा एयरलाइन्स कम्पनीहरूसँग प्रभावकारी समन्वय र निरन्तर पैरवी गर्ने एजेन्डा अघि सारेका छन्।

शर्माको पहिलो प्राथमिकतामा अन्तर्राष्ट्रिय हवाई टिकटमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारसँग पहल गर्ने विषय रहेको छ। त्यस्तै, आईएटीएको पेमेन्ट टर्मलाई विगतमा जस्तै सहज बनाउने, यात्रुले बोर्डिङ तथा अध्यागमनका क्रममा भोग्नुपरेका अनावश्यक झन्झट अन्त्य गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने र नेपाली तथा विदेशी यात्रुबीच कायम रहेको भाडा अन्तर हटाउन पहल गर्ने उनको एजेन्डा छ।

पर्यटन व्यवसायको विस्तारका लागि अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटीलाई समेत शर्माले आफ्नो प्राथमिकतामा राखेका छन्। नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउन पहल गर्दै बेलायत, युरोप, अस्ट्रेलियालगायतका गन्तव्यमा नेपालबाट प्रत्यक्ष उडान विस्तारका लागि सरकारसँग प्रभावकारी पहल गर्ने उनको प्रतिबद्धता छ। भारत, चीनलगायत छिमेकी मुलुकमा उडानको फ्रिक्वेन्सी बढाउनसमेत उनले जोड दिएका छन्।

त्यस्तै, पर्यटन व्यवसायीलाई आयकरमा सहुलियत दिलाउन पहल गर्ने तथा व्यवसायीलाई बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारसँग नीतिगत पहल गर्ने शर्माको एजेन्डा रहेको छ। कोभिड १९ महामारीलगायत विभिन्न समयमा संकटमा परेको पर्यटन तथा ट्राभल व्यवसायलाई पुनः सबल बनाउन वित्तीय तथा नीतिगत सहजीकरण आवश्यक रहेको उनको धारणा छ।

ट्राभल एजेन्सीको दैनिक व्यवसाय सञ्चालनसँग प्रत्यक्ष जोडिएका विषयलाई समेत शर्माले प्राथमिकतामा राखेका छन्। नन आईएटीए एजेन्टलाई ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (जीडीएस) मार्फत आवश्यक इनभेन्ट्री पहुँच उपलब्ध गराउन पहल गर्ने, आईएटीए एजेन्टलाई एयरलाइन स्टक सहज रूपमा उपलब्ध गराउने तथा सदस्य ट्राभल एजेन्सीको बक्यौता रकम उठाउन नाट्टामार्फत आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता छ।

सरकार, आईएटीए र एयरलाइन्स कम्पनीसँग नियमित संवाद र समन्वयलाई संस्थागत बनाउने योजना पनि शर्माले अघि सारेका छन्। उनका अनुसार व्यवसायीका समस्या समस्या उत्पन्न भएपछि मात्र उठाउनेभन्दा नियमित संवाद, तथ्यमा आधारित पैरवी र नीतिगत तहमा निरन्तर पहलमार्फत समाधान खोजिनुपर्छ।

तीन दशकभन्दा बढी समयदेखि पर्यटन तथा ट्राभल व्यवसायमा सक्रिय शर्मा सोसाइटी ट्राभल्सका सञ्चालक हुन्। लामो व्यावसायिक यात्राका क्रममा पर्यटन क्षेत्रका नीति, व्यवसायिक चुनौती, हवाई टिकटिङ, अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी तथा ट्राभल व्यवसायीले भोग्दै आएका व्यावहारिक समस्यालाई नजिकबाट अनुभव गरेको उनको भनाइ छ।

नाट्टाको सचिवालय आधुनिकीकरणलगायत संस्थागत सुधारका काममा समेत भूमिका निर्वाह गरिसकेका शर्माले अब संस्थाको कार्यप्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने आवश्यकता औंल्याएका छन्।

‘कुनै पनि संस्था आफ्ना सदस्यहरूको हक र हितको संरक्षणका लागि स्थापना हुन्छ। त्यसैले नाट्टाले पनि सम्पूर्ण सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ,’ शर्माले भने।

उनले नाट्टाको स्थापनाकालदेखि संस्थाको विकास र उद्देश्य प्राप्तिका लागि योगदान पुर्‍याउँदै आएका अग्रजहरूको योगदानलाई सम्मान गर्दै अनुभवी पुस्ताको ज्ञान र नयाँ पुस्ताको ऊर्जा संयोजन गरेर संस्थालाई थप गतिशील बनाउनुपर्ने बताए।

शर्माको समूहमा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय अनुभवी व्यवसायीका साथै नयाँ पुस्ताका ऊर्जाशील व्यवसायीलाई समेत समेटिएको छ। भरतजंग पाण्डे नेतृत्वको प्यानलबाट अध्यक्षमा भरतजंग पाण्डे, वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा दिकी शेर्पा र सहकोषाध्यक्षमा जीवन कोइरालाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, कार्यसमिति सदस्यतर्फ दीनानाथ पाण्डे (प्रकाश), दिनेश मैनाली, दीपक मरासिनी, नवीन गुरुङ, प्रकाश लोहनी, सरला सापकोटा, सुमनलाल श्रेष्ठ र स्वस्तिका प्रधान उम्मेदवार रहेका छन्।

व्यवसायीको समस्या समाधानमा संस्थागत पहल

नाट्टा निर्वाचनको माहोल तातिँदै जाँदा शर्माको उम्मेदवारीले पर्यटन व्यवसायीबीच चर्चा पाएको छ। लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रियता, संस्थागत अनुभव र व्यवसायीका व्यावहारिक समस्या बुझेको व्यक्तिका रूपमा शर्मालाई उनका समर्थकहरूले बलियो उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

समर्थक व्यवसायीहरूले अहिले नाट्टालाई सरकारसँग नीतिगत तहमा प्रभावकारी पैरवी गर्न सक्ने, सदस्यका दैनिक समस्या समाधानमा सक्रिय भूमिका खेल्ने र संस्थालाई निर्वाचनको समयमा मात्र नभई वर्षभरि नै चलायमान राख्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्।

‘सुनिल दाइ जस्तो अनुभवी मान्छेको नाट्टामा अहिले आवश्यकता छ। उहाँले व्यवसायीका समस्या बुझ्नुहुन्छ र संस्थालाई पनि लामो समयदेखि नजिकबाट चिन्नुभएको छ,’ शर्माको पक्षमा रहेका एक पर्यटन व्यवसायीले भने।

शर्माले आफू पदका लागि मात्र निर्वाचनमा नउत्रिएको स्पष्ट पारेका छन्। पर्यटन व्यवसायीको अधिकार, व्यवसायको सुरक्षा र नेपालको पर्यटन उद्योगको विकासलाई आफ्नो उम्मेदवारीको मूल उद्देश्यका रूपमा उनले प्रस्तुत गरेका छन्।

‘मैले आफ्नो लागि होइन, नाट्टालाई अझ बलियो बनाउन र व्यवसायीको हितमा काम गर्न उम्मेदवारी दिएको हुँ। मेरो प्राथमिकता संस्था र व्यवसायी हुन्,’ शर्माले भने।

उनका अनुसार नाट्टा सदस्यको साझा संस्था भएकाले नेतृत्वले सबै सदस्यलाई समान रूपमा समेट्नुपर्छ। सदस्यको समस्या सुन्ने, सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्ने र त्यसको परिणाम सदस्यसमक्ष पुर्‍याउने संस्थागत संस्कार विकास गर्नुपर्ने उनको धारणा छ।

आगामी साउन १४ गते हुने नाट्टा निर्वाचनमा शर्माले अघि सारेका १३ बुँदे एजेन्डामा हवाई टिकटमा भ्याट हटाउनेदेखि आईएटीए पेमेन्ट टर्म सहज बनाउने, अध्यागमन तथा बोर्डिङको समस्या समाधान गर्ने, अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी विस्तार गर्ने, कर तथा कर्जामा सहुलियत दिलाउने, जीडीएस पहुँच सहज बनाउने, एयरलाइन स्टक उपलब्ध गराउने, बक्यौता रकम उठाउन संस्थागत सहयोग गर्ने र सरकार, आईएटीए तथा एयरलाइन्ससँग नियमित समन्वय गर्ने विषय समेटिएका छन्।

लामो व्यावसायिक अनुभव, संस्थागत सक्रियता र स्पष्ट एजेन्डासहित निर्वाचनमा होमिएका शर्माले नाट्टालाई व्यवसायीको आवाज बलियो रूपमा उठाउने साझा संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्। अब आगामी निर्वाचनमा पर्यटन व्यवसायीले उनको अनुभव र १३ बुँदे एजेन्डामाथि कति विश्वास गर्छन् भन्ने निर्णय मतमार्फत हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार