काठमाडौँ(जस)–एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासमा ऐतिहासिक सफलता हासिल गरेको जनाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आफ्नो इतिहासमै पहिलोपटक ४ अर्ब रुपैयाँ खुद नाफाको उल्लेख छ । बैंकले गत आर्थिक वर्षको तुलनामा खुद नाफामा ४०.६ प्रतिशतको उत्साहजनक वृद्धि गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस आर्थिक वर्षमा त्यसलाई बढाएर ४ अर्ब १ करोड रुपैयाँ पु¥याएको हो ।
नाफासँगै बैंकको प्रतिफल दरहरूमा पनि उल्लेख्य सुधार देखिएको छ । जसअनुसार पुँजी प्रतिफल ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत कायम भएको छ । बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत पुगेको छ । व्यवसायिक विस्तार र प्रभावकारी वासलत व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी १७.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
पछिल्लो समय डिजिटल बैंकिङ र ट्रान्ज्याक्सन बैंकिङमा गरिएको लगानीले पनि बैंकको आम्दानीमा राम्रो टेवा पु¥याएको बताइएको छ । यस क्षेत्रको विस्तारले शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा आएको सुधारका कारण बैंकको ट्रेडिङ आम्दानीमा ८९ प्रतिशतको ठूलो छलाङ मार्दै ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ । दिगो वृद्धि र डिजिटल वित्तीय सेवाको सुदृढीकरणमा केन्द्रित हुँदै बैंकले आफ्ना ग्राहक, शेयरधनी र सरोकारवालाहरूका लागि अधिकतम मूल्य सिर्जना गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत जनाएको छ ।