मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

दुर्गा प्रसाईंमाथि राज्यको एक्सनमा अदालतको ब्रेक

मलाई पक्राउ गर्नु लोकतन्त्र र विचारको स्वतन्त्रता विरुद्ध छ : प्रसाईं

मंगलबार, साउन १९ २०८३

काठमाडौँ । नेपालको पछिल्लो राजनीतिक र सामाजिक बहसमा निरन्तर चर्चाको केन्द्रमा रहेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं सोमबार भक्तपुर जिल्ला अदालतको आदेशपछि रिहा भएका छन्।
आइतबार राति भक्तपुरको निकोसेरास्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि अदालत उपस्थित गराएको थियो। तर, अदालतले प्रहरीको माग बमोजिम म्याद थप गर्न अस्वीकार गर्दै उनलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि राज्यको ‘एक्सन’ मा कानुनी ‘ब्रेक’ लागेको छ।
प्रसाईंलाई पक्राउ गरेपछि प्रहरीले उनीविरुद्ध तीनवटा गम्भीर मुद्दामा अनुसन्धान अघि बढाउन चाहेको थियो। राज्यविरुद्धको कसुरअन्तर्गत सार्वभौमसत्ता वा अखण्डतामा खलल पार्न सक्ने गतिविधि गरेको, सार्वजनिक शान्ति विरुद्धको कसुर र विद्युतीय कारोबार ऐन उल्लंघनको आरोप उनीमाथि लगाइएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरले यी मुद्दाहरूमा अनुसन्धानका लागि सरकारी वकिलमार्फत सात दिनको म्याद मागेको थियो। बहसका क्रममा प्रहरीले प्रसाईंका गतिविधिले समाजमा घृणा र द्वेष फैलाएको तर्क गरेको भए पनि अदालतले हिरासतमा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै उनलाई रिहा गर्न निर्देशन दियो।
अदालतको यो निर्णयसँगै प्रसाईं बाहिर निस्किए पनि प्रहरीले उनीविरुद्धको अनुसन्धान भने जारी रहने स्पष्ट पारेको छ। भक्तपुरका एसपी सूर्य खड्काका अनुसार हिरासत बाहिरै राखेर भए पनि उनीमाथि लगाइएका आरोपहरूको सूक्ष्म अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढ्नेछ। प्रसाईं पक्राउ परेलगतै उनकी पत्नी उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गरेकी थिइन्, जसले गर्दा यो मुद्दाले थप कानुनी जटिलताको रूप लिएको थियो।
रिहा भएलगत्तै प्रसाईंले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार र विशेषगरी गृहमन्त्रीमाथि गम्भीर आरोपहरू लगाएका छन्। उनले आफूलाई पक्राउ गर्नु लोकतन्त्र र विचारको स्वतन्त्रताको विरुद्ध भएको दाबी गरे। प्रसाईंले भने, “लोकतन्त्र भनेको विचारको बजार हो, जहाँ हरेक नागरिकले आफ्ना कुरा राख्न पाउँछन्। हामीले ल्याएको गणतन्त्रमा प्रश्न उठाउन नपाउने भन्ने हुँदैन। म ६ महिना सैनिक हिरासतमा बसेको मान्छे हुँ, मलाई थुनेर मेरो विचारलाई बन्धक बनाउन सकिँदैन।”
प्रसाईंले गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै ‘ब्र्याक’ नामक संस्थासँगको आबद्धताका विषयमा गम्भीर प्रश्न उठाए।
आफ्नो विवादास्पद ‘सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउने’ बयानबारे स्पष्टीकरण दिँदै प्रसाईंले त्यसलाई प्रतीकात्मक रूपमा बुझ्न आग्रह गरे। उनले नेताहरूका गलत कार्यका कारण आज जनताको मनमा र न्यायको मन्दिरमा आगो लागिसकेको टिप्पणी गरे। उनले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्वले देशलाई निकास दिन नसक्ने दाबी गर्दै यो ‘गणतन्त्र नामको रोग’ लाई नफ्यालेसम्म देशको भविष्य अन्धकार रहने जिकिर गरे।
प्रसाईंले आफू सहिदहरूको बलिदानको सम्मान गर्ने र सत्यका लागि ज्यान दिन तयार रहेको भावुक अभिव्यक्ति समेत दिए। उनले भने, “दशरथ चन्द र गंगालालहरूलाई झुण्ड्याइएको खरीको बोट अझै छ, मलाई पनि त्यहीँ लगेर झुण्ड्याउनुस् तर दुर्गा प्रसाईं बोल्न छोड्दैन।” आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेलगत्तै उनी पक्राउ परेका हुन्। प्रसाईंले आगामी दिनमा आफ्नो ‘नागरिक बचाउ महाअभियान’ लाई अझ सशक्त बनाउने र व्यवस्था परिवर्तनका लागि लडिरहने उद्घोष गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार