बैंकक । नेपालमूलकी प्रतिभाशाली युवती मेनुका गौतम (कियारा) पावेचाया कैथालोएङ्चाइ ले मिस युनिभर्स सोंगख्ला २०२६ (Miss Universe Songkhla 2026) को प्रतिष्ठित उपाधि जितेपछि थाई–नेपाली समुदायले विशेष सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ। थाई–नेपाली संघको युवा विभागद्वारा आयोजित कार्यक्रममा कियाराको उल्लेखनीय उपलब्धिको उच्च मूल्याङ्कन गर्दै आगामी मिस युनिभर्स थाइल्याण्ड २०२६ प्रतियोगिताका लागि सफलताको शुभकामना व्यक्त गरिएको हो।
कार्यक्रममा बोल्दै वक्ताहरूले कियाराको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही सम्पूर्ण नेपालमूलका नेपालीहरूको गौरव बनेको बताए। उनीहरूले नेपालमूलकी नेपालीका रूपमा मिस युनिभर्स थाइल्याण्ड प्रतियोगितामा सोंगख्ला प्रदेशको प्रतिनिधित्व गर्ने पहिलो प्रतियोगी बनेर कियाराले इतिहास रचेको उल्लेख गरे।
नेपाली भाषा पढ्न, लेख्न र बोल्न सक्ने कियाराले विदेशमा हुर्किए पनि आफ्नो नेपाली भाषा, संस्कृति र पहिचानलाई निरन्तर आत्मसात् गर्दै आएको चर्चा कार्यक्रममा गरिएको थियो। वक्ताहरूले उनको सफलताले थाइल्याण्डमा रहेका नेपाली समुदाय मात्र नभई विश्वभर छरिएर रहेका नेपालीहरूलाई समेत गर्व गर्ने अवसर दिएको बताए।
थाई–नेपाली संघ युवा विभागले कियाराको उपलब्धिले नेपाली समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको जनाएको छ। विभागका अनुसार अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उनको सहभागिताले नेपाली कला, संस्कृति, परम्परा र विविधतालाई विश्वसामु चिनाउने अवसर सिर्जना गरेको छ।
कार्यक्रममा कियाराको आत्मविश्वास, अनुशासन, मेहनत र समर्पणको खुलेर प्रशंसा गर्दै उनको यात्रालाई नयाँ पुस्ताका लागि प्रेरणादायी उदाहरणका रूपमा व्याख्या गरिएको थियो। सहभागीहरूले नेपाली मूलका युवायुवतीले पनि विश्वस्तरीय प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्न सक्ने सन्देश कियाराले दिएको उल्लेख गर्दै आगामी दिनमा अझ धेरै प्रतिभा अन्तर्राष्ट्रिय मञ्चमा देखिने विश्वास व्यक्त गरे।
सम्मान कार्यक्रममा कियारालाई सम्मानपत्र प्रदान गर्दै आगामी मिस युनिभर्स थाइल्याण्ड २०२६ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी सोंगख्ला प्रदेशसँगै सम्पूर्ण थाई–नेपाली समुदाय र नेपालको गौरव बढाउने विश्वास व्यक्त गरिएको थियो। कार्यक्रममा समुदायले उनको आगामी यात्रामा पूर्ण साथ, सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता समेत जनाएको छ।
उक्त कार्यक्रममा एनआरएनए पिएनओ विभागका संयोजक तथा थाई–नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्की, एनआरएनए एसिया–प्यासिफिक डीआरसीका प्रतिनिधिहरू, थाई–नेपाली संघका पदाधिकारी, विभिन्न सामाजिक तथा सामुदायिक संस्थाका प्रतिनिधि, युवा अभियन्ता तथा थाइल्याण्डस्थित नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा वक्ताहरूले कियाराको सफलतालाई सम्पूर्ण नेपालमूलका नेपालीहरूको साझा उपलब्धिका रूपमा व्याख्या गर्दै यसले आगामी पुस्तालाई आफ्नो क्षमता र प्रतिभा विश्वमञ्चमा प्रस्तुत गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनीहरूले कियारालाई मिस युनिभर्स थाइल्याण्ड २०२६ को प्रतिस्पर्धामा उत्कृष्ट सफलता हासिल गर्दै नेपालको पहिचानलाई अझ उचाइमा पुर्याउन हार्दिक शुभकामना दिएका थिए।





