क्वालालम्पुर,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाको दोस्रो अधिवेशनबाट सन् २०२६–२०२८ कार्यकालका लागि किरण थापा उपसभापति पदमा सर्वसम्मत तथा निर्विरोध चयन हुनुभएको छ।
निर्विरोध चयनपछि थापाले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति गौरव र उत्साह व्यक्त गर्दै पार्टी नेतृत्व, साथीहरू तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले यो पदलाई केवल सम्मानका रूपमा नभई महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताउनुभयो।
थापाले प्रवासी नेपालीहरूको हक, हित र आवाजलाई प्रभावकारी रूपमा उठाउन तथा पार्टीको उद्देश्य, सिद्धान्त र मूल्य–मान्यतालाई अघि बढाउन इमान्दारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, आगामी दिनमा सबैको साथ, सहयोग र सुझावको अपेक्षा रहेको उल्लेख गर्नुभएको छ।
रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाको दोस्रो अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिले मलेसियामा रहेका नेपाली समुदायका समस्या, अधिकार र सरोकारका विषयमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

