आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेउवा महासंघ निर्वाचनमा अध्यक्ष ढकालको समर्थनमा ज्योत्स्ना श्रेष्ठको टिम सार्वजनिक,निजी क्षेत्रको भरोसा जित्दै सशक्त अभियान

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं ,नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै एशोसिएट्सतर्फ उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठले आफ्नो सशक्त टिम सार्वजनिक गरेकी छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थनमा अघि बढेको यो समूहले निजी क्षेत्रको विश्वास जित्दै स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको सन्देश दिएको छ।
ज्योत्सना श्रेष्ठले वर्तमान आर्थिक परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्तो अवस्थामा निजी क्षेत्रको भूमिका अझै निर्णायक हुने बताइन्। “निजी क्षेत्र नै अर्थतन्त्रको मुख्य इन्जिन हो, यसलाई विश्वासमा लिएर अघि बढे मात्र देशले गति लिन्छ,” उनले भनिन्। जीडीपी, रोजगारी र राजस्वमा निजी क्षेत्रको उल्लेखनीय योगदानलाई राज्यले नीतिगत रूपमा आत्मसात गर्नुपर्ने उनको जोड थियो।
उनले पछिल्लो समय व्यवसायीहरूलाई आरोपकै आधारमा पक्राउ गर्ने प्रवृत्तिले निजी क्षेत्र त्रसित बनेको उल्लेख गर्दै यस्ता कार्यले लगानी वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिइन्। अनुसन्धानपछि दोषी प्रमाणित भए कारबाही हुनुपर्ने तर त्यसअघि व्यवसायीलाई थुन्ने अभ्यास रोकिनुपर्ने उनको स्पष्ट धारणा छ।
कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि निजी क्षेत्रको योगदानलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। उनले ज्योत्स्ना श्रेष्ठ नेतृत्वको टिमले महासंघका अधुरा एजेन्डा पूरा गर्ने विश्वास व्यक्त गर्दै निर्वाचनमा सफलताको शुभकामना दिए।
टिमका सदस्यहरूले पनि यो अभियान केवल व्यक्तिको जितका लागि नभई समग्र निजी क्षेत्रको हकहित, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि भएको स्पष्ट पारे। कार्यक्रममा सहभागी वरिष्ठ उद्योगी व्यवसायीहरूले अनुभवी र ऊर्जाशील टिमको संयोजनले महासंघलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।
वर्तमान जटिल आर्थिक परिवेश, घट्दो लगानी विश्वास र व्यवसायीमाथि बढ्दो दबाबबीच ज्योत्स्ना श्रेष्ठ समूहले अघि सारेको सन्तुलित, नीतिमुखी र व्यवसायमैत्री एजेन्डाले महासंघभित्र मात्र होइन, समग्र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ। अबको निर्वाचनले निजी क्षेत्रको भविष्यको मार्गचित्र तय गर्ने भएकाले यो टिमप्रति अपेक्षा र समर्थन दुवै बढ्दो छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल निकट समूहबाट एशोसिएट्सतर्फ उपाध्यक्षमा श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको हो।
उक्त समूहबाट सदस्य पदमा डा. अम्बिका शर्मा लामिछाने ,
डा. रामशरण थपलिया, अविनास बोहोरा, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाई, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकाल (काभ्रे) ले पनि उम्मेदवारी दर्ता गराएकी छन्।
विशेषगरी बैंकिङ, लगानी र उद्यमशीलता क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव संगालेकी लामिछानेको उम्मेदवारीलाई एशोसिएट सदस्यतर्फ महत्वपूर्ण रूपमा हेरिएको छ। वित्त कम्पनी, विकास बैंक, मर्चेन्ट बैंकिङ तथा इम्प्याक्ट इन्भेस्टमेन्ट क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिसकेकी उनी निजी क्षेत्रका चुनौतीहरूसँग प्रत्यक्ष रूपमा परिचित पात्रका रूपमा चिनिन्छिन्।
लामिछानेले वित्तीय पहुँच विस्तार, पूँजी बजार सुदृढीकरण, महिला उद्यमी सशक्तीकरण तथा रेमिटेन्सलाई उत्पादनमुखी क्षेत्रमा जोड्ने एजेन्डालाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएकी छन ।
उनको भनाइमा, “निजी क्षेत्रलाई अझ प्रतिस्पर्धी, समावेशी र सशक्त बनाउन नीतिगत सुधार र वित्तीय पहुँच सहज बनाउनु अत्यावश्यक छ।”
एफएनसीसीआईको आगामी निर्वाचनलाई निजी क्षेत्रको नेतृत्व चयनसँगै नीतिगत दिशानिर्देशनका हिसाबले समेत महत्वपूर्ण रूपमा हेरिएको छ। यस्तो अवस्थामा अनुभवी र नीतिगत समझ भएका उम्मेदवारको उपस्थिति निर्णायक बन्ने भएकाले अम्बिकाको जित सुनिश्चित रहेको ब्याबसायीहरु बताउछन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार