आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

‘सहिद परिवारको दुखेसो कसैले बुझेनन्’

आइतबार, फाल्गुन १७ २०८२

हिमाल लम्साल ।

वीरगञ्ज, पर्सा, १७ फागुनः मधेश आन्दोलनमा सहादत्त प्राप्त गरेका सहिद धर्मराज सिंह राजपुतको ६० वर्षीय आमा कलावतीदेवी सिंह राजपुतको मन भने अहिले पनि खिन्न छ । दश वर्षअघि आफ्नो २२ वर्षे छोरा गुमाउनुभएकी कलावतीदेवीको मुहारमा अझैसम्म पनि उत्साहको सञ्चार हुनसकेको छैन ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरु भने भोट माग्नको लागि उहाँको घरदैलोमा माग्दै हिँडिरहेका दृश्य देख्दा आफ्नो मन छियाछिया हुने गरेको उहाँ दुःखेसो पोख्नुहुन्छ । ‘‘मेरो छोराले देशको लागि सहादत प्राप्त ग¥यो,’’ उहाँले भन्नुभयो, ‘‘हामी सहिद परिवारको दुःख भने कसैले बुझिदिएनन्,’’ उहाँले गहभरि आँशु झार्दै भन्नुभयो, ‘‘हाम्रो छोराले मधेश आन्दोलनको क्रममा आफ्नो सहादत प्राप्त गरे तर कसैले पनि हाम्रो परिवारको दुःखलाई हेर्ने काम गरेका छैनन् ।’’ सहिद परिवारले भोग्नुपरेको पीडाको बारेमा भने कसैले वास्ता नगरेको उहाँको गुनासो छ ।

‘‘राजनीतिक दलका नेताले सहिदहरुलाई केबल राजनीति गर्ने सिँढी मात्रै बनाउने काम गरे,’’ उहाँले भन्नुभयो, ‘‘सहिद परिवारले भोग्नुपरेको पीडा र दुःखलाई कसैले पनि बुझ्ने प्रयास गरेनन्,’’ उहाँले भन्नुभयो, ‘‘सहिद धर्मराजसिंह राजपुतका दाजु करण सिंह राजपुतले दुई वर्षअघि साना तथा घरेलु उद्योग कार्यालय वीरगञ्जमा करारको जागिर पाउनुभएको थियो । तर, उहाँको करारको अवधि थप नभइ दैनिक ज्यालादारीमा झारेपछि र नियमित तलब पनि नपाएकाले जागिर नै छोड्नुपरेको गुनासो गर्नुभयो ।‘‘हाम्रो परिवारको आम्दानीको स्रोत पनि राम्रो छैन भएको करारको जागिरको पनि म्याद थप नभएपछि छाडेको हुँ, हामी सहिद परिवार त राजनीति गर्नेका लागि टेको मात्रै हुने रहेछौँ’’ करणले भन्नुभयो । सहिद राजपुतको २०७२ भदौ १५ गते सुरक्षाकर्मीको गोली लागेर निधन भएको थियो । सहिद हुनु केही दिन अघिसम्म उहाँ धर्मराज सशस्त्र प्रहरी बल नेपालमा कार्यरत हुनुहुन्थ्यो ।

सहिद राजपुतको २०७२ भदौ १५ गते सुरक्षाकर्मीको गोली लागेर निधन भएको थियो । सहिद हुनु केही दिन अघिसम्म उहाँ धर्मराज सशस्त्र प्रहरी बल नेपालमा कार्यरत हुनुहुन्थ्यो ।

मधेश आन्दोलन चर्किएसँगै भाइले सशस्त्र प्रहरी बलबाट राजिनामा दिएर आन्दोलनमा होमिएको दाजु करणले स्मरण गर्नुभयो । ‘‘करारको जागिर जोगाउन मैले धेरै हन्डर खाए तर कतैबाट पनि सहयोग नपाएपछि अन्ततः छोड्ने निर्णय गरेँ,’’ उहाँले भन्नुभयो । मधेस आन्दोलनका सहिद धर्मराज सिंह राजपुतको परिवार मात्रै होइन्, अर्का सहिद दिलीप चौरसियाका ६० वर्षे आमा रामज्योत्ति चौरसियाका आँखा पनि आफ्नो छोरा दिलीपको यादले अझै पनि रसाउँछन् ।

वीरगञ्ज महानगर–२२ स्थित आफ्नो आँगनमा टोलाएर बसिरहनुभएकी आमा रामज्योतिलाई आफ्नो छोराले ज्यान गुमाएको हिजो जस्तै लाग्छ । तर, मधेस आन्दोलनको क्रममा दिलीप चौरसियाले २०७२ भदौ १४ गते निधन भएको थियो । ‘‘कान्छो छोरा आइहाल्छ जस्तै लाग्छ,’’ भावुक हुँदै आमा रामज्योतिले भन्नुभयो,‘‘छोराले निधनपछि मधेसमा केही परिवर्तन होला भन्ने आशा राखेका थियौंँ तर केही पनि हुनसकेन ।’’ सिभिल इञ्जिनियरिङ अध्ययन गरिरहेका दिलीपले पढाइको अन्तिम सङ्घारमा पुगेको बेला सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गर्नुभएको थियो ।
सहिद दिलीपका जेठा दाजु पृथ्वीनारायण चौरसियाले मधेस र मधेसका जनताको अधिकार प्राप्तिको लागि आफ्ना भाइहरुले ज्यान गुमाए पनि मधेशका राजनीतिक दल तथा नेताले सत्तामा अघि बढ्ने भ¥याङ मात्रै बनाएको आरोप लगाउनुभयो । ‘‘राजनीतिक नेताले हामी जस्ता सहिद परिवारलाई बिर्से,’’ उहाँले भन्नुभयो,‘‘जुन उद्देश्य र जुन अधिकार प्राप्त गर्नका लागि हाम्रा भाइहरुले ज्यान गुमाए सो उपलब्धि संस्थागत नहुँदा भने मन दुख्दछ ।’’

मधेश आन्दोलनका सहिद परिवार मात्रै नभएर मधेश आन्दोलनका जिउँदा सहिद मुन्सी पटेल पनि अहिले दिक्दारी व्यक्त गर्नुहुन्छ । जिउँदा सहिद पटेल गत माघ ८ गतेदेखि नारायणी अस्पतालको सर्जिकल वार्डको श्यया नं ११० मा पुरानो घाउ बल्झिएर उपचारत हुनुहुन्छ । नेपालको संविधान जारी भएको दिन अर्थात २०७२ असोज ३ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर उहाँको कम्मरमुनिको भाग चल्दैन । गोलीकै कारणले बेलाबखतमा उहाँको पुठ्ठामा लागेको चोट बल्झिएसँगै अस्पतालमा भर्ना भएर उपचारको क्रममा रहनुभएको छ । ‘‘मधेश आन्दोलनको क्रममा पाएको चोटले अझैसम्म पनि दुख दिन छाडेको छैन,’’ उहाँले भन्नुभयो,‘‘हामीले संविधानमा भएका केही प्रावधानको विरोध गर्दै आन्दोलनमा होमिएका थियौं तर अहिले आफ्नो अवस्था भने विजोग भएको छ ।’’

‘‘मधेश आन्दोलनका क्रममा धेरै आमाको कोख रित्तियो । धेरै श्रीमतिको सिंदूर पुछियो तर यहाँका राजनीतिक दलले भने सहिद तथा घाइते परिवारकालाई भने बिर्सिएको देख्दा निकै दुःख लाग्छ’’, उहाँले भन्नुभयो । पर्सामा प्रतिनिधिसभा सदस्य निर्वाचनको चार क्षेत्र रहेका छन् । चार क्षेत्रबाट स्वतन्त्रसहित १०७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पर्सामा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउँदै आइरहेको बताउनुभयो । पर्सामा १६७ वटा मतदानस्थल रहेका छन् । मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ ८५ वटा संवेदनशील र २० वटा कम संवेदनशीलको सूचीमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार