काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको रौनकसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओली यतिबेला आक्रामक चुनावी अभियानमा छिन्। घरदैलो र जनसम्पर्कका क्रममा उनी विकास निर्माणको अभावमा जनताले भोग्नुपरेको समस्यालाई नजिकबाट नियालिरहेकी छिन्।
चुनावी अभियानकै क्रममा सडकको धुलो र अप्ठ्यारा बाटोहरू पार गर्दै मतदाताको घरआँगनमा पुगिरहेकी ओलीले आफ्नो अनुभवलाई मार्मिक ढंगले व्यक्त गरेकी छिन्। उनले भनिन्, “यो चुनावी अभियानमा हिँड्दा खाएको धुलो केवल बाटोको धुलो मात्र होइन, यो त जनताको पीडा, सङ्घर्ष र परिवर्तनको आह्वान हो। यसलाई म आफ्नो जीवनभर कहिल्यै बिर्सने छैन।”
नेतृ ओलीले आफ्नो सम्पूर्ण चुनावी अभियान नै जनताको आधारभूत समस्या र पहिचानको मुद्दामा केन्द्रित रहेको बताएकी छिन्। उनले राप्रपाको मूल एजेन्डालाई जोड दिँदै ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई’ भन्ने मूल मन्त्रका साथ मतदातासँग आशीर्वाद मागिरहेकी छिन्।
चुनावी प्रचारको शैलीलाई लिएर मतदाताहरू पनि उत्साहित देखिएका छन्। स्थानीय मतदाताहरूको प्रतिक्रिया उद्धृत गर्दै उनले भनिन्, “धेरै नेताहरू महँगा गाडीमा आउँछन्, गाडीको सिसा समेत नझारी जान्छन्। तर हामी धुलोमैलो नमानी जनताको बीचमा पुग्दा उहाँहरू खुसी हुनुहुन्छ। जनताले यसपालि वास्तविक परिवर्तन खोजेका छन्।”
लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय ओलीले यसपटकको चुनावमा राष्ट्रियता र धर्म–संस्कृतिको जगेर्नालाई आफ्नो मुख्य चुनावी नारा बनाएकी छिन्। जनताको प्रत्यक्ष सुख–दुःखमा सहभागी हुँदै हिँडेको यो अभियानले आफूलाई थप ऊर्जा प्रदान गरेको उनको भनाइ छ।