शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बहुसांस्कृतिक पर्यटन केन्द्र : राष्ट्रिय एकताको नयाँ अभियान

मंगलबार, मंसिर २ २०८२

छेटुप तामाङ

पर्यटन केवल प्राकृतिक दृश्य र साहसिक यात्रामा सीमित रहँदैन, यो एउटा राष्ट्रको आत्मा र पहिचान पनि हो । नेपालले संसारलाई हिमाल, मन्दिर र साहसिक आरोहण मात्र होइन, सांस्कृतिक विविधताको सुन्दर उदाहरण पनि दिएको देश हो। यही विविधतामा हाम्रो शक्ति लुकेको छ  पृथ्वी नारायण शाहले भनेझैं, “चार जात ३६ वर्णको फूलबारी” नै हाम्रो राष्ट्रको सौन्दर्य हो।

तर पछिल्लो राजनीतिक र सामाजिक अवस्थाले हामी नेपालीबीच एक किसिमको अविश्वास, विभाजन र द्वेषको वातावरण सिर्जना गरेको अनुभूति भइरहेको छ। यस्तो बेला, देशभक्ति, मौलिकता र भाइचाराको भावना पुनः जागृत गर्न हामीले नयाँ सोचका साथ अघि बढ्न आवश्यक छ ।

संस्कृति र रोजगारी एकै मञ्चमा

यो केन्द्र नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको करिब १५ रोपनी सरकारी जग्गामा निर्माण गर्न सकिनेछ । यहाँ सबै जातजातिको धार्मिक र सांस्कृतिक नृत्य, संगीत, पोशाक, कला र परम्परागत जीवनशैली एकै छानामुनि प्रस्तुत गरिनेछ ।
पर्यटन सिजनका ६ महिना दैनिक बेलुकी ७ बजेदेखि राति ३ बजेसम्म विभिन्न समुदायका कलाकारहरूले आफ्नो सांस्कृतिक प्रस्तुति गर्नेछन्।
अफ–सिजनमा भने यही टोली अन्तर्राष्ट्रिय पर्यटन मेला, फेस्टिभल र एक्स्पोमा नेपाल प्रतिनिधित्व गर्न जानेछन्। यसरी नेपालभित्र र बाहिर दुवैतिर हाम्रो संस्कृति निरन्तर प्रचार–प्रसार हुने छ।

केन्द्रको स्वरूप

यो केन्द्रमा ठुलो स्टेज, २५००–४००० दर्शक क्षमता भएको हल, सांस्कृतिक गार्डेन, पुस्तक र फास्ट–फुड कर्नर, तथा नेपालका तीन प्रतीकात्मक गजुर — सगरमाथा, पशुपतिनाथ र बौद्ध स्तूपा राखिने छन्। सबै कलाकार र कर्मचारी आफ्नो जातीय पोशाकमा रहनेछन् ।
यहाँ अल्कोहलिक पेय पदार्थ निषेध, तर चिया, कफी र नेपालमै उत्पादित फास्ट–फुड पाइनेछ । भित्तामा सबै जातजातिका देवी–देवताका वाल आर्टहरू रहनेछन्, जसले आगन्तुकलाई नेपालका सबै संस्कृतिहरू एकै पटक बुझ्न मद्दत गर्नेछ।

सस्तो लगानी, दिगो आम्दानी

यो परियोजना कुनै महँगा पूर्वाधारको आवश्यकता बिना, छोटो समयमै निर्माण गर्न सकिने योजना हो। आम्दानीका स्रोतहरू पनि विविध छन् । विज्ञापन र पसल भाडा, प्रवेश टिकट (नेपाली रु.२००, सार्क रु.४००, अन्य देश १० डलर), सांस्कृतिक शो, मेला, प्रदर्शनी र फिल्म प्रदर्शन, हस्तकला, जडिबुटी र मौलिक उत्पादनको बिक्री । यसले रोजगारी सिर्जना, आर्थिक आम्दानी, विदेशी मुद्रा आर्जन, र अबैध जग्गा तथा स्रोत दोहन नियन्त्रण जस्ता प्रत्यक्ष फाइदा पुर्‍याउनेछ ।

सांस्कृतिक पर्यटन स् नयाँ राष्ट्रिय उत्पादन

अहिले विश्व डिजिटल प्रचारमा विश्वास गर्छ। एक विदेशी पाहुना जब यहाँको कार्यक्रम हेर्छ र सोसल मिडियामा भिडियो वा फोटो सेयर गर्छ, त्यो नै नेपालको निःशुल्क प्रचार हो । हामीले चाह्यौं भने सांस्कृतिक पर्यटनलाई नेपालको नयाँ आर्थिक उत्पादनको महत्वपूर्ण आधारका रूपमा विकसित गर्न सकिन्छ ।

त्यसका साथै यस मार्फत राष्ट्रिय एकताको सन्देश समेत प्रवाह गर्न सकिनेमा दुई मत छैन । नेपालमा बसोबास गर्ने सबै जातजाति, धर्म, संस्कृति र परम्परा मिलेर नै नेपाल बनेको हो । हामीले आफ्नो मौलिकता जोगाउँदै, एउटै भावना — “हामी सबै नेपाली हौं” — को सन्देश दिनुपर्छ।
यो केन्द्र केवल पर्यटन परियोजना होइन, राष्ट्रिय एकता र सह–अस्तित्वको प्रतीक बन्नेछ।

अन्त्यमा, म सबै पर्यटन व्यवसायी, श्रमिक र सम्बन्धित निकायहरूलाई आग्रह गर्न चाहन्छु,  हामी सबै मिलेर सांस्कृतिक पर्यटनलाई नेपालको भविष्यको मेरुदण्ड बनाऔं । देश बनाउने जिम्मा केवल नेताहरूको होइन, हाम्रै पनि हो । (युवा पर्यटन व्यवसायी)

प्रतिक्रिया
सम्बन्धित समाचार