काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित दुई जना र एउटा निर्माण सेवा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आले, धरानकाे स्वामिनारायण निर्माण सेवा प्राली र त्यसका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा गछिया खोलामा नदीजन्य पदार्थ उत्खनन कार्यका लागि स्वामिनारायण निर्माण सेवा प्रालीसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्काबापत निर्माण सेवाले आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम १ करोड २३ लाख ६९ हजार ६ सय ४९ रुपैयाँ दाखिला नै नगरी अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।
अनुसन्धानका क्रममा कर अधिकृत तिलक आले र कम्पनीका निर्देशक सन्तोषकुमार बस्नेतले भ्याट दाखिला गरेको भनी झुट्टा लिखत बनाएको पाइएको अख्तियारले जनाएको छ ।