आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

ताप्लेजुङमा २४४ नयाँ मतदाता थपिए

सोमबार, कार्तिक १७ २०८२

ताप्लेजुङ । ताप्लेजुङमा हालै खुला गरिएको मतदाता नामावली दर्ता कार्यक्रममा दुई सय ४४ जनाले आफ्नो नाम दर्ता गराएका छन् । असोज १० गतेदेखि आइतबारसम्मको अवधिमा नाम दर्ता गर्नेमा एक सय ३४ पुरुष र एक सय १० महिला रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालका अनुसार सो अवधिमा १९ जनाले आफ्नो नाममा भएको त्रुटि सच्याएका छन् ।

त्यस्तै, ८९ जनाले मतदाता नामावली सारेका छन् । तीमध्ये ११ जनाले जिल्ला भित्रकै एक स्थानबाट अर्को स्थानमा सारेका हुन् भने बाँकी ७८ जनाले जिल्लाबाहिर नाम सारेका हुन् ।

यसैबीच, जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन र सिफारिस प्रक्रिया कात्तिक मसान्तअघि सम्पन्न हुने भएको छ । कात्तिक २७ वा २८ गते बस्ने बैठकले मतदानस्थल तथा केन्द्र थप, घट वा गाभ्ने सम्बन्धमा निर्वाचन आयोगमा सिफारिस गर्ने तयारी गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानस्थल तथा केन्द्र पुनरावलोकनका लागि प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको अध्यक्षतामा बसेको जिल्ला स्तरीय समितिको बैठकले वडागत सिफारिसको प्रारम्भिक अध्ययन गर्दै आयोगले तयार पारेको अनुसूची अनुसार विवरण पूरा गरी सिफारिस पठाउन वडा समितिहरूलाई आग्रह गर्ने निर्णय गरेको छ ।

हालसम्म मैवाखोला गाउँपालिकाको वडा नं. ६, फक्ताङलुङ गाउँपालिकाका वडा नं. २ र ६, आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. २ तथा मिक्वाखोला गाउँपालिकाको वडा नं. ४ बाट नयाँ मतदानस्थल तथा केन्द्रका लागि सिफारिस प्राप्त भएको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्राप्त सिफारिसहरू निर्वाचन आयोगले तोकेको अनुसूची र मापदण्डअनुसार पूर्ण विवरणमा आधारित छन् वा छैनन् भन्ने विषयमा अध्ययन जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार