निश्चल दाहाल।
“इज्जत महिलाको शरीरमा या योनीमा होइन, सोचमा हुन्छ।
सोच बदलौं, तब मात्र समानता सम्भव हुन्छ।”
सर्वप्रथम, म फेमिनिस्ट हैन, न म नग्नतालाइ अर्थोपार्जन गर्ने माध्यम बनाउनेलाइ समर्थन गर्छु तथापी समाजले अझै पनि यौनिकता र चरित्रलाई एउटै मापनले तौलने गरेको छ। तर बुझ्न जरुरी छ कि दोष शरीरमा होइन, सोचमा छ , जसले अझै पनि महिलालाई ‘इज्जतको वस्तु’ उसको यौनलाइ प्रतिष्ठामा कलंक र पुरुषलाई ‘स्वतन्त्रता’को प्रतीक ठान्छ।
नेपाल जस्तो समाजमा जहाँ पितृसत्तात्मक सोच गहिरो रूपमा गाडिएको छ, त्यहाँ महिला र पुरुषबीचको यौनिक स्वतन्त्रता अझै पनि समान छैन। कुनै महिलाले सम्बन्ध राखी, यौनिक स्वतन्त्रता प्रयोग गर्छे वा आफ्नो शरीरलाई आम्दानीको माध्यम बनाउँछे भने समाज तुरुन्तै उसलाई दोषी ठहराउँछ। “र-डी”, “भा-”, “बेश्या” जस्ता शब्दहरू उसका नामसँग जोडिन्छन्। तर त्यही सम्बन्धमा सहभागी पुरुषहरूलाई ‘मर्द’ , अल्फामेल आदीभनेर गौरव दिन्छ। यही असन्तुलन आजको बदलिदो प्रविधिक समाजमा पनि दोहोरिँदै छ जुन दु:खद छ।
आजको पुस्ता TikTok, Instagram, Facebook जस्ता सञ्जालमा जिवित छ यो गाँस बास कपास झै आधारभूत नै हुन थालेको छ त्यसमा ध्यान खिच्ने प्रतिस्पर्धामा कतिपय महिलाहरूले आफ्नो शरीर र यौनिकता प्रदर्शन गरेर पैसा कमाउने वा लोकप्रियता पाउने बाटो रोज्छन्, पुरुषहरु पनि अहिले बढ्नेक्रममा छन आफ्नो नग्नता देखाएर अनलाइनमा बेच्न। उनीहरूको यो निर्णय व्यक्तिगत हुनसक्छ, उनिहरुले यसलाइ स्वतन्त्रता मान्लान तर यसको असर सामूहिक रूपमा मुलतः सम्पूर्ण महिलामाथि पर्ने गरेको छ, पुरुषहरु यो जलनबाट अछुतो रहन्छन।
जब केही महिलाहरूले यस्तो बाटो अपनाउँछन्, तब मेहनति, आत्मनिर्भर र स्वाभिमानी महिलाहरू पनि त्यसै नजरले हेरिन्छन्। एउटी केटी आफ्नो पढाइ, काम वा आत्मविश्वासका कारण अघि बढ्न खोजेकी हुन्छे, तर समाज सशंकित हुदै भन्छ “यी पनि त्यस्तै पो हुन् कि?” यही सोचले समाजमा महिला स्वतन्त्रतालाई झनै कठिन बनाइदिन्छ। तर पुरुषको सन्दर्भमा यसैलाइ दम्भकी रुपमा हेरिन्छ। “दोष शरीरको होइन , सोचको हो। सोच जसले पुरुषलाई स्वतन्त्र र महिलालाई दोषी बनाउँछ।”
नेपाली इतिहासमा महिला र पुरुष बिचको यौनको सम्बन्धमा खाडल हेर्न यसको ईतिहास हेर्न पर्ने हुन्छ।
नेपालको बेश्यावृत्तिको ऐतिहासिक यात्रा।
नेपालमा बेश्यावृत्तिको इतिहास लामो र जटिल छ। पुराना कागजात र लोककथाहरूले देखाउँछन् कि मल्लकालदेखि नै दरबार र समाजमा ‘नाचघर’ र ‘गाईनेघर’का नाममा यौन मनोरञ्जनको परम्परा थियो, यसको आधुनिक, डान्सबार र दोहोरी आदि हुन। दरबारका राजाहरू र सामन्तहरूले “दरबारको नाचघरकी” नाम दिँदै महिला सेविकाहरूलाई यौनिक रूपमा प्रयोग गर्थे। उनीहरूलाई तलब वा उपहार दिने चलनले बेश्यावृत्तिको संस्थागत रूपलाई नेपालमा जन्म दियो। हुन त बिश्वको सबै भन्दा पुरानु पेशा नै बेश्यावृत्ति हो तर नेपालमा यसरी शुरु भएको अनुमान गरिन्छ।
राणा शासनको समयमा यो परम्परा झनै फैलियो। काठमाडौं, पटनी टोल, ठमेल, र कलंकीका आसपास “गाइने घर” र “नाचघर”का नाममा यौनिक मनोरञ्जनका स्थानहरू खुले। तर ती महिलाहरूको कथा भने दर्दनाक र पीडादायी थियो , कतिपय गरिबीले, कतिपय जबरजस्तीले र कतिपय बाच्नको लागि त्यसमा फसाइएका थिए।
सन् १९५० पछाडि जब भारतमा (खासगरी मुम्बई र कोलकाता) नेपाली महिलाहरू तस्करी हुन थाले, त्यसपछि नेपालको बेश्यावृत्ति अन्तरदेशीय स्वरूपमा परिणत भयो। मुख्यतः आदिवासी , जनजाती जस्तो तामाङ, मगर, राई, लिम्बू समुदायका गरीब महिला तार्हेट गरि गरि भारतका दलालको फन्दामा परे। कालान्तरमा यो समस्या काठमाडौंको ठमेल, पोखराको लेकसाइड, वीरगञ्ज, बिर्तामोड, धरान, इटहरी, दमक, बुटवल र काकडभिट्टा आदिसम्म फैलियो।
राज्यले कहिल्यै औपचारिक रूपमा बेश्यावृत्तिलाई वैधता दिएको छैन। तर विडम्बना; यो पेशा समाजले अस्वीकार गरे पनि शहरका सडक, होटल, मसाज सेन्टर र अहिले डिजिटल प्लेटफर्ममा खुलेर जीवित छ। अहिले फेसबुक, Telegram, TikTok, र OnlyFans जस्ता माध्यमले “अदृश्य बेश्यावृत्ति”लाई जन्म दिएका छन् जहाँ शरीर होइन, फोटो र भिडियो बेचिन्छ।
यो नयाँ रूप झन खतरनाक छ। यसले युवा पुस्तालाई आकर्षित गर्छ, सजिलो पैसा देखाउँछ, तर अन्ततः महिलालाई सामाजिक अपहेलना र मानसिक दबाबमा पुर्याउँछ। तर यहाँ पनि दोष केवल महिलामा होइन माग गर्ने, हेर्ने र त्यसबाट पैसा कमाउने (पुरुषहरुको) प्रणालीमा छ।
हामीले “इज्जत” भन्ने कुरा महिलाको शरीरसँग जोडेर बुझ्ने गल्ती बारम्बार गर्छौं। पुरुषले जे गरे पनि स्वतन्त्रता; महिलाले गरे पाप। इज्जत सोच र व्यवहारमा हुन्छ, शरीरमा होइन , यो सत्य बुझ्न समाज अझै तयार छैन। यौनिक प्रदर्शन वा शरीर बेचेर पैसा कमाउनु केवल व्यक्तिगत निर्णय मात्र होइन, यो समाजको दृष्टिको प्रतीक पनि हो। जब केही व्यक्तिले यस्तो बाटो रोज्छन्, त्यसले सम्पूर्ण महिलाको छवि र सशक्तिकरणको यात्रालाई असर गर्छ। तर त्यसकै कारण सबै महिलामाथि शंका गर्नु अझ ठूलो अन्याय हो।
महिला स्वतन्त्रता भनेको शरीर देखाउने अधिकार होइन ।
स्वतन्त्रता , अधिकार भन्ने कुरा त आफ्ना निर्णय, श्रम र सम्मानका लागि समान अवसर हो। तर जब केही व्यक्तिको व्यवहारले सम्पूर्ण महिलाको छविलाई बिगार्छ, त्यसको प्रतिफल सबैले भोग्नुपर्छ। यही कारण अहिले समयले माग गरेको छ जिम्मेवारीसहितको स्वतन्त्रता, र सोचको सुधार।
अन्ततः प्रश्न यहीँमा अडिन्छ जब सम्बन्ध, पैसा र यौनिकता दुबै पक्षको सहमतिमा हुन्छ, तब दोष केवल एक पक्षमाथि किन? उत्तर यहि छ कि दोष शरीरको होइन , सोचको हो। शरीर बदलिन्छ, तर सोच नबदलिँदा नै समाज बिग्रिन्छ। शरीर अपराध होइन, तर सोच अपराधी बन्न सक्छ।