निश्चल दाहाल
दुबई, अब यूएईमा भिसा र बसोबास उल्लङ्घन गर्नेहरूलाई पत्ता लगाउनका लागि ‘स्मार्ट कार’ प्रयोग गरिने भएको छ।
फेडेरल अथोरिटी फर आइडेन्टिटी, सिटिजनसिप, कस्टम्स एन्ड पोर्ट्स सेक्युरिटी (ICP) ले यस्तो प्रविधियुक्त गाडीलाई जाइटेक्स ग्लोबल२०२५ (Gitex Global 2025) मा सार्वजनिक गरेको हो, जुन अक्टोबर १३ देखि १७ सम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा भइरहेको छ।
‘ICP इन्स्पेक्सन कार’ भनिने यो विशेष गाडीमा छवटा उच्च गुणस्तरीय क्यामेरा जडान गरिएको छ, जसले कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको प्रयोग गरेर वरिपरिको दृश्य र मानिसहरूको अनुहार वास्तविक समयमा स्क्यान गर्छ। यदि कुनै व्यक्तिको अनुहार सरकारी डेटाबेसमा रहेको विवरणसँग मेल खान्छ भने, प्रणालीले तुरुन्तै स्मार्ट अलर्ट पठाउँछ र निरीक्षण टोलीले तत्काल कारबाही गर्न सक्छ।
ICP का महानिर्देशक मेजर जनरल सुहैल सईद अल खैलीका अनुसार, यो परियोजनाको उद्देश्य भिसा र बसोबास उल्लङ्घन सम्बन्धी कार्यलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउनु हो।
उनका अनुसार, यो प्रविधिले निरीक्षण टोलीलाई फिल्डमै तुरुन्त निर्णय गर्न सहयोग पुर्याउनेछ र आकस्मिक अवस्थाहरूमा पनि सजिलै प्रयोग गर्न सकिनेछ।
यो पूर्ण रूपमा विद्युतीय गाडी हो, जसले एकपटक चार्ज गर्दा 680 किलोमिटरसम्म यात्रा गर्न सक्छ। गाडीले चारैतिर १० मिटरको दूरीसम्म निगरानी गर्न सक्छ र दिनरात, धुलो वा तातो तापक्रमजस्ता चुनौतीपूर्ण अवस्थाहरूमा पनि सहज रूपमा सञ्चालन गर्न सक्षम छ।
यूएई सरकारले यस कदमलाई सुरक्षा र प्रशासनिक कार्यमा प्रविधि–आधारित सुधारको रूपमा लिएको छ। स्मार्ट प्रविधि र स्वच्छ ऊर्जाको संयोजनमा आधारित यो गाडीले देशभरका भिसा उल्लङ्घन नियन्त्रण कार्यलाई अझ आधुनिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।