काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जिवेदीको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारसँग द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल गरेको छ।
परराष्ट्र मन्त्रालयमा आज बिहीबार आयोजित भेटवार्तामा यूएईका विदेश व्यापारमन्त्री डा. अल जिवेदी र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच दुई देशबीचको आर्थिक तथा रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा विचार आदानप्रदान भएको हो।
भेटमा व्यापार, प्रत्यक्ष वैदेशिक लगानी, कृत्रिम बौद्धिकता (एआई), डिजिटल रूपान्तरण, पर्यटन, श्रम आप्रवासन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा तथा यूएईको सार्वभौम सम्पत्ति कोष (Sovereign Wealth Fund) मार्फत नेपालका प्राथमिकताका क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा विशेष छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले नेपाल यूएईबीच दशकौँदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध र निरन्तर विस्तार हुँदै गएको सहकार्यको प्रशंसा गर्दै आगामी कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्णजयन्तीलाई दुवै देशका लागि ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न चाहेको बताए। उनले सो अवसरलाई नेपालका विभिन्न विकास परियोजनामा यूएईको लगानी भित्र्याउने महत्वपूर्ण माध्यम बनाउने सरकारको लक्ष्य रहेको पनि उल्लेख गरे।
भेटका क्रममा मन्त्री खनालले यूएई सरकारसमक्ष नेपाली नागरिकले पेश गर्ने प्रहरी प्रतिवेदन (Police Report) नेपालका कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भइसकेपछि पुनः थप प्रमाणीकरण गर्नुपर्ने हालको व्यवस्था हटाइदिन आग्रह गरेका थिए। यस्तो व्यवस्था हटाइए नेपाली नागरिकलाई कागजी प्रक्रिया सहज हुने विश्वास नेपाल पक्षले व्यक्त गरेको छ।
दुवै पक्षले आर्थिक साझेदारी, व्यापारिक सम्बन्ध तथा विकास सहकार्यलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा नेपाल यूएई सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।
आज नेपाली दुतावासले पनि कार्यक्रम गर्दै!!
यसैबीच, नेपाल यूएई आर्थिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले अबुधावीस्थित नेपाली दूतावासले बिहीबार साँझ ‘अर्थ कूटनीति’ विषयक विशेष कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रममा यूएईस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, लगानीकर्ता तथा व्यापारिक क्षेत्रका सरोकारवालाको सहभागिता रहने दूतावासले जनाएको छ। कार्यक्रममार्फत नेपालमा लगानीका सम्भावना, व्यापार विस्तार तथा आर्थिक सहकार्यका नयाँ अवसरबारे छलफल हुने अपेक्षा गरिएको छ।