मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सम्भावना र सङ्घर्षको धरातलमा कचनकवल।

बिहिबार, भाद्र १९ २०८२

 

निश्चल दाहाल

बिकासको सम्भावनाको सुचक हुदो हो त अत्याधिक माथी नै मापित हुने सुन्दर कचनकवल गाउँपालिका झापाको दक्षिण पूर्वी भागमा अवस्थित एक ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो।यसको नाम नेपालको सबैभन्दा होचो स्थान, कचनकवल स्तम्भबाट आएको हो, जुन समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको मानिन्छ। सन २०२१ को जनगणना लाई हेर्दा  कुल जनसंख्या करिब ४१,३०० हाराहारिमा रहेको छ , जसमा करिब १९००० को संख्यामा पुरुष र २१,७०० को छेउछाउ महिला रहेका छन्। समग्र कचनकवलको साक्षरता दर ७४% रहेको छ, जहा पुरुषको साक्षरता दर ८२.७७% र महिलाको ६६.२४%।विभिन्न जातजातिको सामुहिक थलो कचनकवलमा अधिक जनसंख्या राजवंशी समुदायको छ भने क्रमस मुसलमान, पहाडी ब्राह्मण क्षेत्री, गंगाइ, सन्थाल, लिम्बू , तामाङ्ग, यादव आदि छ। भाषिक बिविधतामा यहाका जनसंख्याले राजवंशी , नेपाली, मैथिली, हिन्दी, भोजपुरी, उर्दु, सान्थालि लगायत अन्य ५/७ भाषा आदि बोलिचालिमा प्रयोग गर्छन।

वन क्षेत्र

कचनकवल गाउँपालिकामा हरियालिको कमि कहाँ छ र! करिब १२% क्षेत्रफल हरियो वनले ढाकेको छ। यहाँका बनक्षेत्रहरूमा विभिन्न जंगली जनावर र वनस्पतिहरू पाइन्छन जस्को संसार सोही बन हो, यद्यपि, बनक्षेत्रको दुरुपयोग र अतिक्रमणका कारण जैविक विविधता संकटमा परेको भने छ। यसका प्रमुख कारणहरूमा उच्च बन स्रोतको निर्भरता, गरिबी, र सीमित जीविकोपार्जनका अवसरहरू रहेका छन्, इन्धनको लागि बनको प्रयोग गर्नुले रुख बिरुवामा नकारात्मक  ज्यादा प्रभाव परेको छ।

शिक्षा र विद्यालयहरु

कचनकवल गाउँपालिकामा निजी श्रोत र सार्वजनिक/ सरकारी स्तरका प्रारम्भिक शिक्षा केन्द्र (ECD),  आधारभूत विद्यालय, माध्यमिक विद्यालय, प्ल्स २ साथै ब्याचलर  तहका विद्यालयहरू सम्म छन्। यस गाउँपालिकामा एक मात्र सामुदायिक कलेज पनि रहेको छ। आदिवासी समुदाय, राजवंशी , मुसलमान आदिको बाहुल्यता रहेको यो क्षेत्रमा गरिबी अशिक्षाको प्रमुख कारण रहेको छ। बैज्ञानिक प्रयोगात्मक शिक्षाको अभावको कारणपनि शैक्षिक स्तर उक्सन सकेको छैन। “ज्यादा हात ज्यादा काम, त्यसको ज्यादा उपार्जन” यसको सोचले गर्दामात्र पनि छोरा छोरिलाइ विद्यालय भन्दा काममा पठाउने संस्कारले अशिक्षाको जरो गाडिदै गएको छ। अझ शिक्षामा चरम राजनितिकरण, ब्यवस्थापन समिती आदिमा दलिय हस्तक्षेप, शिक्षक नियुक्तिमा प्रत्यक्ष दलिय दवाब अन्य कारणहरु हुन जसले नकारात्मक प्रभाव छोडेको छ।
निराशामा चुर्लुप्प डुबुल्कि मार्न पर्ने अवस्था पनि छैन, अहिले विद्यालय हरुमा, शिक्षण र मेनेजमेन्टमा युवा पुस्ताको सहभागिताको वृद्धिले धेरै परिवर्तनको आश पनि गर्न सकिन्छ र प्रतिस्पर्धात्मक शिक्षालाइ बढावा दिन थालेको संकेत देखिन्छ।

स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीहरू

स्वास्थ्य सेवामा कचनकवल गाउँपालिकामा स्वास्थ्य चौकी र स्वास्थ्य सेवा केन्द्रहरूको संख्या सीमित छ। डाक्टर र स्वास्थ्यकर्मीहरूको अभावले गर्दा स्वास्थ्य सेवाको गुणस्तरमा कमी भएको प्रष्ट छ। गम्भीर बिरामीहरूको उपचारका लागि छिमेकि नगरपालिका भद्रपुर, दमक साथै बिराटनगर काठमाडौ नै जान पर्ने बाध्यता छ।
हाल केही नया प्रयोग, स्वास्थ सम्बन्धि आधुनिक उपकरणहरुको स्थापना आदिले स्वास्थमा केही सकारात्मक सन्देश भने दिदै छ।

रोजगार र वैदेशिक श्रम

कचनकवल गाउँपालिकामा कृषि मुख्य पेशा भए पनि आधुनिकीकरणको अभावले गर्दा युवाहरू आकर्षित भएका छैनन्, उद्योग धन्दामा सम्भावना बोके पनि खुल्न भने सकेका छैन। यस कारण धेरैजसो युवा वैदेशिक रोजगारमा गएका छन्, कचनकवलको आर्थिक उपार्जनको प्रमुख श्रोत अहिले बैदेशिक रोजगारी नै रहेको पाइन्छ। गाउँपालिकामा साना उद्योगहरूको अभाव र व्यवसायिक अवसरहरूको कमीले गर्दा स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न चुनौतीपूर्ण भएको छ।

पर्यटन र सांस्कृतिक धरोहर

कचनकवल गाउँपालिकामा ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको प्रशस्तता भए पनि प्रचार प्रसारको अभावले गर्दा पर्यटनको विकास हुन सकेको छैन। नेपालको सबैभन्दा होचो स्थानको रूपमा कचनकवल स्तम्भ एक प्रमुख आकर्षण हो, जसको उचित प्रचार र पूर्वाधारको विकासले पर्यटनमा वृद्धि ल्याउन सकिन्छ। बनजंगलको हरियालिबाट अर्थोपार्जन गर्न सकिन्छ, स्थानिय संस्कार र संस्कृतिलाई प्रदर्शन गर्दै, स्थानिय खाना र सभ्यतालाइ पर्यटनको प्रमुख आधार बनाउन सकिन्छ। बाहुल्यतामा रहेको राजवंशी समुदाय, ऐतिहासिक सांस्कृतिक पृष्ठभुमि भएका सन्थाल, गनगाइ आदि सभ्यतालाइ बिश्वमाझ चिनाउन सकिन्छ।

राजनीतिक  प्रभाव र विकासमा अवरोध

कचनकवल गाउँपालिकामा दुई पटक स्थानिय तह निर्वाचन सम्पन्न भइसकेको छ। तर राजनीतिक दलको आधारमा विद्यालय, स्वास्थ्य सेवा केन्द्र र गाउँपालिका कार्यालयमा आदिमा कर्मचारी नियुक्ति हुने परम्पराले युवाहरुको रोजगारिको अवसरमा अत्याधिक अवरोध पुर्‍याएको छ। धेरैजसो ठेक्का, निर्माण कार्य, र अन्य विकास योजना आफ्ना दलका समर्थकलाई पोस्ने उद्देश्यले दिइन्छ। जसका कारण क्षमता भएका योग्य जनशक्तिले यहाँ रोजगारी पाउन सकेको छैन, परिणामस्वरूप धेरै युवा विदेशिन बाध्य छन्। यसले गाउँपालिकाको उत्पादनशील जनशक्ति घटाएको छ र विकास परियोजनाहरू ढिला हुँदै आएका छन्। सम्भाब्य औद्योगिकरण बन्द झै छ।

खेलकुद र युवा प्रतिभा

खेलकुदको क्षेत्रमा पनि कचनकवलसँग ठूलो सम्भावना छ। फुटबल, भलिबल, क्रीकेट, जस्ता प्रचलित खेलमा युवा सहभागिता रहेको  भएतापनी लगानीको कमी, खेलाडिलाइ उत्साहमुलक सहयोग नहुनु र स साना खेलहरुमा पनि राजनीतिक प्रतिशोध र राजनितिक स्वार्थका कारण खेलकुदको विकास हुन सकेको छैन। खेलकुदका मैदान निर्माण, तालिम र प्रतियोगिताहरूको आयोजना शुन्यप्राय झै छ। यसले युवाहरूको खेलकुद प्रतिभा विकासमा अवरोध पुर्‍याएको छ भने उम्रदै गरेका प्रभावसाली खेलाडिहरुले खेलबाट सन्यास नै लिन पर्ने अवस्था ल्याइएको छ।

भ्रष्टाचार नियन्त्रणको साटो प्रश्रय दिने।

कचनकवलका जनताहरू प्रतिशतमा साक्षर भए पनि अध्ययन अध्यापनको बिषयमा कमजोर  हुनुका कारण  राजनीतिक दलको गुलामीमा पारिएका छन्। यसले गर्दा उनीहरू सामाजिक रूपमा दलिया हिसाबमा परिचालित र सिमित स्वार्थमा आधारित निर्णयमा मात्र सीमित राखिएका छन। भ्रष्टाचारको विरुद्ध बोल्ने हिम्मत जनतामा बास्तवमा नै कम छ। गाउँपालिकाका अध्यक्ष, वार्ड अध्यक्षहरू तथा केही कर्मचारीहरूको पदको दुरुपयोग, ठेक्का र बजेट व्यवस्थापनमा अनियमितता, र निजी स्वार्थको लागि योजना संचालन गर्ने व्यवहारले विकास कार्यमा रोक लागेको छ। उदाहरणस्वरूप, सडक निर्माण, स्कूल भवन, स्वास्थ्य चौकी सुधार जस्ता काममा सामेल ठेक्का धनीहरूले प्रायः राजनीतिक पहुँचका आधारमा लाभ लिएका छन्। बारम्बार जनप्रतिनिधिहरु , कर्मचारिहरु भ्रष्टाचारको घेरामा देखिने गरिएको छ।

के सुधार गर्न सकिएला त कचनकवललाइ?

कचनकवल गाउँपालिका प्राकृतिक स्रोत र सांस्कृतिक धरोहरले भरिपूर्ण भए पनि व्यवस्थापकीय कमजोरी साथै पूर्वाधार निर्माणको अभावले गर्दा यसको विकासमा  ठूलो अवरोध आएको छ। यदि स्थानीय सरकार र संघीय सरकार मिलेर शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनका क्षेत्रमा सुधारका लागि ठोस कदम चाल्छ भने कचनकवल गाउँपालिकालाई समृद्ध बनाउन कुनै असहज र समस्या छैन। कचनकवल पालिकामा मात्र राजनितिक नजरले जनतालाइ हेर्न बन्द गरे धेरै सम्भावना छ यो पालिकाको।

भारतसग खुल्ला सिमा भएको कचनकवलमा उद्योग र ब्यवसायको भरपुर सम्भावना छ। अन्तरदेशिय आयात  निर्यातमामा कठिनाइ तुलनात्मक रुपमा धेरै कम छ। स्थानियहरुले भारतिय बजारलाइ आफ्नो बजार बनाएका छन किनकी कचनकवलमा ब्यवसायिक खेती नै पनि न्यून छ। सामान्य घरायसी साग सब्जी, चामल तेलको लागि बहुमतिय जनता नजिकको बिहार र पुर्वि बंगालका सहरहरुमा आकर्षित छन, यसको न्युनिकरण ब्यवसायिक खेती र उद्योगिकरण नै हो जसको लागि स्थानिय सरकारले सहजीकरण र नीति निर्माणमा कञ्जुस्याइ गरेको छ।

देशकै होचो कचनकवल स्तम्भ अवलोकन, चारकोसे झाडिको सफर, स्थानिय सांस्कृतिक झाकिहरुको प्रदर्शन, आदिवासी सभ्यताको संग्राहलय , केचना झिलको ब्यवस्थापन जस्ता सामान्य कार्यमात्र गर्न सके पनि कचनकवलमा आर्थिक क्रान्ती र सामाजिक रुपान्तरण हुने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार