बुधबार, जेष्ठ २१ २०८२
–यासमिन नाज
प्रबन्ध निर्देशक, क्यूएसटी ट्रेनिङ कन्सल्टेन्सी
कतार
कतार । महोत्तरी जिल्लामा जन्मिएकी यासमिन नाज बिगत १२ वर्षदेखि कतारमा छिन् । सुरुमा हाउस वाईफको रुपमा यहाँ आएकी उनलाई त्यो काम गर्न चित्त बुझेन । आफैँले केही गर्नुपर्छ भन्ने भावनाले ओतप्रात भई अन्तराष्ट्रिय मान्यताप्रात तालिम केन्द्र सञ्चालन गर्दै आएकी छिन् । उनको संघर्ष, लगनशीलता, दृढता र आत्मविस्वासले गर्दा नैं उनले कतारमा सञ्चालन गरेको ‘क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सी’ ले हालै प्रतिष्ठित कतार सिएसआर अवार्ड, २०२५ पाएको छ । आफ्नो देश छोडेर विदेशमा गई यस्तो सफलता हासिल गरेकी उनी सबै नेपालीहरुका लागि प्रेरणाको श्रोत बन्न सक्छिन् । उनै नेपाली चेली महतसँग जनसवालका सम्पादक रामजी बगालेले कतारमै पुगेर लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश ः
तपाइँको परिचय दिनुहोस् न ।
मेरो नाम यासमिन नाज र घर महोत्तरी जिल्लाको जलेश्वर हो । म कतारमा सन् २०१३ मा आएकी हुँ । यहाँ आएपछि मलाई हाउसवाइफ भएर घरभित्र काम गर्न मन लागेन र टे«निङ सेन्टरमा काम गर्न थालेँ । मेरो दस वर्षको करियर र अनुभवले गर्दा बिगत दुई वर्षदेखि आफ्नै ट्रेनिङ सेन्टर सञ्चालन गरेकी छु । तर नेपाली महिला भएर यहाँ व्यवसाय सुरुआत गर्न सजिलने थिएन । मैले धेरै संघर्ष गरेँ । म यहाँ पहिला गृहणी मात्र थिएँ, रोजगारी थिएन । बेरोजगार बस्न मन मानेन । रोजगारीको खोजीमा एउटा ट्रेनिङ सेन्टरमा पुगें जहाँ रिसेप्सनिस्ट भएर काम गर्ने अवसर पाएँ । सन् २०१३ मा पाँच महिना उमेरकी छोरी लिएर श्रीमान् रूस्तम राइनका साथ कतार आएकी थिएँ । रूस्तम इलेक्ट्रिकल इञ्जिनियर हुनुहुन्छ ।
तपाइँले खोल्नुभएको कस्तो खालको ट्रेनिङ सेन्टर हो ?
यो स्वास्थ्य र सुरक्षासँग सम्बन्धित छ । यहाँबाट तालिम लिएपछि कुनै पनि काममा दक्षता हाँसिल गर्न सकिन्छ, जसले गर्दा कामदारहरुलाई सजिलो हुन्छ । हामीले म्यानेजेरियल तलदेखि सानो तहसम्मका लागि तालिम दिने गर्छौँ । यो कम्पनीले कतारका कर्पोरेट कामदारलाई स्वास्थ्य र कार्य सुरक्षा सम्बन्धी तालिम दिन्छ । हामी यहाँ हस्पिटालिटी र निर्माण क्षेत्रमा काम गर्नेहरुका लागि सुरक्षा तालिम दिन्छौं । यसबाहेक नेतृत्व विकासको तालिम पनि दिन्छौं । यसमा म्यानेजरका लागि चाहिने तालिम हुन्छ । तालिमको प्रमाणपत्र पनि दिन्छौं । कतारमा काम गर्न सेफ्टी ट्रेनिङ लिएको प्रमाणपत्र अनिवार्य छ । डोरीका भरमा हावामा अडिएर काम गर्नेका लागि रोप एक्सेस सेफ्टी ट्रेनिङ चाहिन्छ । मेरो कम्पनीले यो तालिम पनि दिन्छ । इलेक्ट्रिसियनका लागि पनि कार्य सुरक्षा तालिम दिन्छ । मैंले एक जोर टेबलकुर्सी र एउटा कम्प्युटरबाट सुरु गरेको अफिस हो । अहिलेसम्म जेजति गरेँ, त्यही कम्पनीको आम्दानीले गरेको हो । मैले कुनै लामो योजना बनाएर सुरू गरेको होइन ।
यहाँ यस्तो तालिम सञ्चालन गर्न कत्तिको सहज छ ?
यहाँ यस्तो प्रकारका तालिम सञ्चालन गर्ने अफिसहरु धेरै छन् । मैंले यो धेरै सानो लेभलबाट सुरु गरेको हो । फैलाउँने फुलाउने काम हुँदैछ । यो अप्रुभल पनि भएको छ । जति अप्रुभल भयो त्यति राम्रो हुन्छ । बिजनेश पनि राम्रो नै भइरहेको छ । धेरै कम्पिटशन पनि छ तर, मेरा प्रतिस्पर्धी छैनन् । म मेरो क्लाइन्टलाई सन्तुष्टि हुनेगरी सेवा दिइरहेकी छु । मेरा १२ वर्षदेखिका आफ्नै क्लाइन्ट छन् । बितेको दुई वर्षमा यो कम्पनीले १० हजार जनाभन्दा धेरैलाई तालिम दिएको छ । यसमा २५० भन्दा नेपालीले निःशुल्क तालिम पाएका छन् । यो सफलता मेरो अनुभव, मेहनत र फराकिलो जनसम्पर्कबाट प्राप्त भएको हो ।

यहाँ के–के चुनौतीहरु छन् ?
खाडी मुलुकमा हुने कडाइले अप्ठ्यारो पर्ने हो कि भन्ने डर लागेको थियो तर मैले अनुमान गरेको भन्दा फरक वातावरण पाएँ । महिलालाई गरिने सम्मानले म प्रभावित भएँ । मैंले धेरै च्यालेन्ज फेश गर्नु परेन । आफूमा लिडरशीप, कन्फिडेन्ट र कम्युनिकेशन छ भने सबै काम गर्न सकिन्छ । यो कुरा मैंले नेपालमै मेरा आमा बुवाबाट सिकेर आएकी थिएँँ । मैंले ठाउँ पाएँ, अवसर समातेर काम गरेँ । अफ्नो ट्यालेन्टलाई निकालेर काम गराँै, आँट, सहास बटुलेर काम गरौँ । सफल पक्कै भइन्छ ।
तपाइँले सीएसआर अवार्ड पनि पाउनुभयो । त्यो के थियो ?
मैंले मेरो इमेलमार्फत पुरस्कृत भएको थाहा पाएँ । मंैले गत वर्ष अप्रिलमा सो अवार्ड पाएकी हुँ । मैंले गरेको काम, लगनशीलता, दक्षता देखेरै मलाई त्यो अवार्ड दिनुभएको होला । म त्यसमा आफूलाई भाग्मानी ठान्छु । अवार्ड दिने म्यानेजर आएर नेपाली कम्युनिटी घोषणा गर्दा मलाई नेपाली भएकोमा गर्भानुभूती भयो । यो सबै नेपालीहरुको अवार्ड हो भन्ने मैंले ठानेकी छु । मेरो काम देखेर अरु नेपालीहरु पनि यसैगरी आउनु पर्छ । मैंले जे सफलता पाएँ, त्यो स्टेप बाई स्टेप भएको हो । यो सबै एकैचोटी भएको होइन । व्यवासय सुरु गर्दा मसँग पर्याप्त रकम पनि थिएन । मैंले मिहेनत गर्दै अन्तराष्ट्रिय अप्रुभल पाएकी हुँ । यो सफलताको लागि मेरो आमा बुवा, र साथीहरु नैं हकदार हुनुहुन्छ ।
आगामी दिनमा के लक्ष्य लिनुभएको छ । ?
मेरो मिसन, भिजन कन्सेप्ट भनेको गल्फमा नेपालीलाई हेर्ने नजर बदलियोस् भन्ने हो । नेपालीहरु सानो कुरामा चित्त बझाएर घरमै बस्नु भएन । बाहिर निस्कनु पर्यो । सनैभएपनि आफ्नै काम गर्नुपर्छ ।
महिलाहरुका लागि गल्फमा के समस्या छन् ?
यहाँ बिजनेश, रिटेल, ब्युटिपार्लर, रेष्टुरेन्टमा आउन सक्नुहुन्छ । नेपालीहरु के सेक्टरमा जाँदै हुनुहुन्छ त्यसको बारेमा ज्ञान हुनुपर्यो, तालिम लिनुपर्यो । मात्र ट्रेनिङको कागज, प्रमाणपत्र बनाएर हुँदैन । अन्तराष्ट्रिय बजारमा एसेप्ट हुनेखालको डकुमेन्ट बनाएर आउँदा राम्रो हुन्छ । कतारमा सबै काम हेल्थ एण्ड सेफ्टीमै केन्द्रित हुनुपर्छ । कतारमा सेफ्टीलाई पहिलो प्राथमिकता राखिएको छ । काम सुरु गर्नुभन्दा पहिला दक्षता हुन जरुरी छ । अन्तराष्ट्रिय अप्रुभ्ड तालिम भयो भने उसले पूर्ण सुरुक्षा प्रत्याभूत गर्नसक्छ । यस्ता प्रमाणपत्र अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त हुन्छन् । नेपालबाट तालिमबिनाको सर्टिफिकेट लिएर आउनुको छ भने त्यसको कुनै मान्यता नै हुँदैन । तालिम र सीप सक्दा आफ्नो तलब पनि बृद्धि हुन्छ, ज्यान जोखिममा पर्नबाट पनि जोगिन्छ । म नेपालीहरुलाई आफ्नो कामसँग सम्बन्धित दक्षताको तालिम लिएर, त्यसको प्रमाणपत्र लिएर आउन आग्रह गर्छु । अहिले त बिभिन्न पालिकाहरुले पनि तालिम दिइरहेका हुन्छन् । यहाँ आएर अवसरलाई पक्रन सक्नेगरी काम गर्न अनुरोध गर्दछु । तालिम र वृत्ति विकासमा फिलिपिनी, बंगलादेशी र भारतीय कामदार निकै अगाडि छन् । नेपालीहरुले आफ्नो क्षमता र वृत्ति विकासमा ध्यान दिन जरुरी छ । आफूले काम गर्ने कम्पनी र पाउने सुविधाबारे राम्रो जानकारी नलिई खाडी मुलुक पुग्नुपनि नेपाली कामदारहरूको समस्या हो । रोजगारीका लागि विदेश जाने नेपालीले आधारभूत अंग्रेजी पनि जान्नुपर्छ । सीपमूलक तालिम लिएको हुनुपर्छ, सीप कागजमा भएर हुँदैन, हातमै हुनुपर्छ ।

जनसवाल राष्ट्रिय दैनिकको २०८२ जेठ २२ गते बिहीबारको इपेपर





जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij