काठमाडौं(जस)–मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १६.८६ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा बैंकले ८७ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकले ३ अर्ब २८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ४.९७ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकले ३ अर्ब १३ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष १ अर्ब २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकको घटेर १ अर्ब ३ करोड रुपैयाँमा झरेको छ । ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ जम्मा रहेको छ ।बैंकको वितरणयोग्य नाफा ६१ करोड ९५ लाख रहेको छ । बैंकको खराब कर्जा (एनपीएल) भने २.०२ प्रतिशतबाट बढेर ४.१४ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा प्रतिसेयर आम्दानी १३.७१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५८.०३ रुपैयाँ रहेको छ ।