मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

ग्लोबल आइएमई बैंकको नाफा बढेर साढे ४ अर्बभन्दा बढी

आइतबार, बैशाख ७ २०८२

काठमाडौं(जस)–ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.४१ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा सीमित भएको छ । जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ ।चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ ।
सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ । ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ । बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार