सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

अब पोखराबाट पनि हरेक साता व्यवसायिक अन्तराष्ट्रिय उडान, हिमालय एयरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान गर्दै

मंगलबार, फाल्गुन २० २०८१

काठमाडौं(जस)–हिमालय एयरलाइन्सले आउँदो चैत १८ (मार्च ३१) देखि पोखराबाट उडान सुरू गर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले नियमित व्यवसायिक उडान गर्ने भएको हो । एयरलाइन्सले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सातामा एउटा उडान गर्ने जनाइएको छ ।
यो विमानस्थल २०७९ पुसमा सञ्चालनमा आएको हो । अहिलेसम्म नियमित व्यवसायिक उडान हुन सकेको थिएन । हिमालयले व्यवसायिक उडान थालेसँगै यो नै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा बन्नेछ । नेपाल र चीनबीचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ यो गन्तव्यमा व्यवसायिक उडान गर्न लागेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत बताएको छ ।
अहिलेसम्मको योजना अनुसार एयरलाइन्सले चैत्र १८ गते बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–ल्हासा उडान गर्नेछ । चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण हुनेछ। सोही जहाज स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
यसरी नयाँ सुरू हुन लागेको गन्तव्यलाई लिएर कम्पनी निकै खुसी रहेको उपाध्यक्ष विजय श्रेष्ठले बताएका छन् । ‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चीनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो,’ उपाध्यक्ष श्रेष्ठले सुनाए, ‘हिमालयले सधैं चीनमा नयाँ गन्तव्य खोज्दै र नियमित उडान गर्दै आइरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार