काठमाडौ(जस)–लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध व्यवसायीहरू र यसमा आबद्ध बसमा नेपालभर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन् । यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाई ३ महिनाभित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।
सम्झौता पत्रका लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन छ ।
केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर छ । केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पश्चिम नेपाल बस व्यवसायी प्रालि नेपालको पुरानो व्यावसायिक संस्था हो । यसमा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा छन् ।