आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनएको एकता महाधिवेशन मे ३ देखि ५ सम्म काठमाडौंमा : कार्यविधि पास,सबै एनसीसीलाई सर्कुलर, कार्यविधिमा के छ ?

एनसीसीको निर्वाचन मार्च १ देखि मार्च १५ सम्ममा

बुधबार, माघ ९ २०८१

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका लागि पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले तयारीलाई तिव्रता दिएका छन् । सोहीअनुसार आइतबार सम्पन्न समितिको पाचौँ बैठकबाट कार्यविधि पारित भएको छ । कार्यविधि पारित भएसगै घलेले सबै देशमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुलाई सर्कुलर पठाउँदै आवश्यक निर्देशन दिइएको छ ।
उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले पाँचौ बैठकको निर्णयअनुसार सबै एनसीसीहरुलाई कार्यविधि पठाइसकिएको जानकारी दिए । सर्कुलरमा संघ सन् २००३ मा स्थापित भई हालको अवस्थासम्म आइपुग्दा विश्वभर रहेका नेपालीहरूको एकता, सशक्तिकरण र नेपालको समृद्धिका लागि योगदान पुर्याउने उद्देश्यका साथ अगाडि बढिरहेको अवगत गराइएको छ । यस्तै संस्थामा पछिल्लो समय विकसित घटनाक्रमले विवाद उत्पन्न भई एनआरएनए विवाद समाधान तथा दशौँ अन्तराष्ट्रिय महाधिवेशनबारे परेको मुद्दामा गत चैत २१ गतेसर्वोच्च अदालतबाट परमादेश जारी भएको उल्लेख छ । उक्त आदेशमा बुँदा नम्बर ३९ मा उल्लेख गरिए बमोजिम संघको एकता र गरिमा कायम राख्नको लागि उच्चस्तरीय समितिको गठन र उक्त समितिको जिम्मेवारी समेत तोकेको अवस्थामा उच्चस्तरिय समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको उल्लेख गरिएको छ ।
उच्चस्तरीय समितिले कार्यको सहजताका लागि विभिन्न उपसमितिहरू गठन गरि र कार्य विभाजन समेत गरेर अगाडि बढिरहेको जानकारी गराइएको छ ।
जसअनुसार एनआरएन समन्वय उपसमिति, कार्यविधि (टीओआर) तयारी समिति, सचिवालय समिति, अन्तराष्ट्रिय महाधिबेसन मुल तयारी समिति, एनसीसी महाधिवेशन समन्वय उपसमिति, निर्वाचन अनुगमन उपसमिति, सदस्यता तथा प्रतिनिधि छनोट समिति, निर्वाचन समिति, बिधान तयारी समिति, आर्थिक समिति र प्रचार प्रचार समिति बनाइएको जानकारी गराइएको छ ।
यस्तै उच्चस्तरिय समितिको पाँचौ बैठकसम्म आईपुग्दा टीओआरलाई अन्तिम रुप दिई अन्तराष्ट्रिय महाधिवेशन गर्ने तयारीमा पुगेको जानकारीसहित एनसीसीको निर्वाचन सम्पन्न गरी आईसीसीमा जाने अभियन्ताको समेत निर्वाचन सम्पन्न गर्न सर्कुलर गरिएको छ । यस्तै काठमाडौँमा भौतिक उपस्थितिका साथै प्रत्यक्ष मतपत्रद्वारा दशौं अन्तराष्ट्रिय महाधिवेसन गर्ने र त्यसका लागि माहोल बनाउन सर्कुलरमा भनिएको छ ।
सर्कुलरमा उच्चस्तरिय समितिद्वारा पारित टीओआरसमेत पठाइएको छ । त्यसमा निर्दिष्ट समय तालिका बमोजिम काम गर्न अनुरोधसहित सबैको भावना अनुसारको एकतावद्ध एनआरएनए निर्माण गर्न कटिवद्ध रहने सर्कुलरमा उल्लेख गरिएको छ ।
कार्यविधि आइतबारदेखि नै लागू भएको छ । कार्यविधिको पाँच वटा क्षेत्र तय गरिएको छ । जसअनुसार नयाँ महाधिवेशनको आयोजना र व्यवस्थापन, प्रतिनिधि र सदस्यहरुको योग्यता निर्धारण, विवाद समाधान, निर्वाचन प्रक्रिया सुनिश्चित, सरकारी निकायसँग समन्वय जस्ता विषय समेटिएको छ । कार्यविधिमा भौतिक रुपमा काठमाडौँमा नै महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने सदस्यता दर्ता, नवीकरण र विवाद समाधानसम्बन्धी सबै विषय पारदर्शीरुपमा टुंग्याउने उल्लेख छ। निर्वाचनसम्बन्धी सबै कार्य परराष्ट्र मन्त्रालय र अन्य सम्बन्धित निकायहरुसँग समन्वय गरेर हुने पनि कार्यविधिमा उल्लेख छ।
कार्यविधिअनुसार समितिमा रहेका कुनै सदस्यले समितिले गराउने निर्वाचनमा भाग लिन नपाउने स्पष्ट गरिएको छ भने भाग लिने नै हो भने समितिबाट राजीनामा दिएर अलग हुनुपर्नेछ ।
यस्तै गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनको समयसम्म सदस्यता लिएका सदस्यहरुले सदस्यता नवीकरणका लागि १ फेब्रुअरीदेखि २७ फेब्रुअरीसम्ममा समितिमा आवेदन दिनुपर्नेछ । आवेदनका लागि छुट्टै पोर्टलको निर्माण गरिने कार्यविधिमा उल्लेख छ । यस्तै नयाँ सदस्यताका लागि पनि सोही मितिमा आवेदन दिन सकिनेछ । सदस्यता नवीकरण र नयाँ सदस्यता शुल्क एनसीसीले निर्धारण गरेबमोजिम हुने उल्लेख गरिएको छ । एनसीसीले गर्न नसकेमा समितिले गर्ने समितिको कार्यविधिमा उल्लेख छ ।
एनसीसीले मार्च १ देखि १५ मार्चभित्र निर्वाचन सम्पन्न गराउनुपर्नेछ भने एकताको केन्द्रीय महाधिवेशन भने मे ३ देखि ५ सम्म हुनेछ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन इच्छुकका लागि समितिले मार्चा १६ देखि ३१ सम्म दर्ता आवेदन खोल्नेछ ।
एकता महाधिवेशन गराउनका लागि घलेको नेतृत्वमा १३ जनाको कमिटी छ । घलेले समितिको बैठकमा अहिलेसम्म बद्री केसी भने नआएको बताए । अन्य सदस्य भने बैठकमा आएका छन् भने निर्वाचन गराउनका लागि सहयोग गरेका छन् । घलेले निर्वाचन भौतिक उपस्थितिमा हुने भएकाले १० हजार भन्दा बढीको सहभागिता रहने दाबी गर्दै आएका छन् ।
यद्यपि बद्री केसी पक्षले भने घलेको कमिटीलाई सहयोग गरेको छैन । घलेले एकताको महाधिवेशन गराउन एनसीसीहरुलाई सर्कुलर पठाएसँगै केसी पक्षले भने विरोध गरेको छ ।
तर, एकताको महाधिवेशन पक्षधर रहेका बद्री केसीविरुद्ध समानान्तर गतिविधि गर्दै आएका आरके शर्मा र एघारौं महाधिवेसनमा अध्यक्षका प्रतिस्पर्धी महेश श्रेष्ठले भने घलेको कदम सही भएको बताएका छन । उनीहरुले अब एकता महाधिवेशनको विकल्प नभएको भन्दै बद्री केसीले खोचे थापे उनी आफैँलाई क्षति पुग्ने प्रतिक्रिया दिए ।

टिओआरको लागि तल क्लिक गर्नुहोस

Full Text 079-wo-1507_250122_223056 परराष्ट्रको फैसला कार्यान्वयन पत्र_250122_222931

 

प्रतिक्रिया
सम्बन्धित समाचार