काठमाडौं(जस)– प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यको विशेष कूटनीतिक उडान हिमालय एअरलाइन्सले संचालन गरेको छ । नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्माननीय प्रधानमन्त्री २ डिसेम्बर, २०२४ का दिन जनवादी गणतन्त्र चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । यस भ्रमणमा सम्माननीय प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री माननीय डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार श्री विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक÷विकास सल्लाहकार डा. युवराज खतिवडा, सासंदहरु, मुख्य सचिव एकनारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरु र विभिन्न उद्योगका प्रतिनिधिहरु संलग्न छन् ।
हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योंग वायुयानमा स्वयं उपस्थित भई सम्माननीय प्रधानमन्त्री, श्रीमती राधिका शाक्य र प्रतिनिधिमण्डलका सदस्यहरूलाई स्वागत गरेका थिए । । उक्त अवसरमा हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठ प्रधानमन्त्रीको प्रतिनिधिमण्डललाई बिदाइ गर्न उपस्थित थिए । यस प्रतिनिधिमण्डल हिमालय एअरलाइन्स्को Airbus 319 (RegistrationM (N–AJK) वायुयानबाट ५ डिसेम्बर, २०२४ मा बेजिङबाट नेपाल फर्कने कार्यक्रम तय रहेको छ ।

उक्त उडानपछि उपाध्यक्ष विजय श्रेष्ठले भने, “हामीलाई सरकारको प्रमुखको आधिकारिक यात्राको लागि विशेष उडान सञ्चालन गर्ने अवसर प्राप्त हुनु ठूलो सम्मानको कुरा हो । हामीलाई मुलुकको सरकार प्रमुख र देशका उच्चस्तरीय विशिष्ट पदाधिकारीहरू सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसरहरु प्रदान गरिदिनुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं । साथै, यस अवसरमा हामी विगतमा नेपाल सरकारको अनुरोधमा हामीले संचालन गरेको काबुलको मानवीय उडान समेत सम्झन चाहन्छौं ।’ उक्त उडानको उडानदलमा वरिष्ठ क्याप्टेन हाओ दी (पाइलट इन कमाण्ड, उपाध्यक्ष–अपरेशन्स), क्याप्टेन रिवाज प्रसाद प्रधान र फस्र्ट अफिसर सागर श्रेष्ठ रहेका छन् । हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र आईओएसए प्रमाणित वायुसेवा हो ।