काठमाडौं(जस)–सरकारले गैरआवासीय नेपालीले धितोपत्रमा लगानी गर्न पाउनेगरी निर्देशिका ल्याएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ मार्फत यस्तो व्यवस्था खुला गरेको हो । यससँगै अब गैरआवासीय नेपालीले कम्पनीमार्फत धितोपत्रमा लगानी गर्नसक्ने भएको बोर्डले जनाएको छ । गैरआवासीय नेपाली संघले सरकारको नयाँ व्यवस्थाको सरहना गरेको छ । एनआरएनएले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने काम भइरहेकोमा त्यसलाई अझ बढी संगठित रुपमा साना तथा मझौला लगानीलाई समेत नेपालमा भित्र्याउने संघको उद्देश्य अनुरुप नेपाल सरकार तथा गैरआवासीय नेपालीको संयुक्त लगानीमा एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड स्थापना गरेको थियो । संघले उक्त फण्डको स्थापनाकालदेखि व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारको विभिन्न निकायमा निरन्तर रुपले पहल गर्दै आएको थियो ।
सोहीअनुसार बोर्डले मंसिर ६ गते स्वीकृती प्रदान गरी गैरआवासीय नेपालीको लगानी भित्र्याउने अभियानलाई थप प्राथमिकता दिएको बताइएको छ। उक्त संशोधित निर्देशिकाले गैरआवासीय नेपालीको लगानी भित्र्याउन तथा लगानी फिर्ता सम्बन्धि विशेष व्यवस्था गरिएकोले गैरआवासीय नेपालीहरु अत्यन्त उत्साहित भएको बताइएको छ । यस व्यवस्थाबाट विश्वभरिका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी हुन तथा आफ्नो ज्ञान, सीप र पूँजी नेपालमा भित्र्याउन सहज वातावरण निर्माण भएको संघको ठहर छ । उक्त फण्डले निकट भविष्यमा गैरआवासीय नेपालीको लागि सार्वजनिक धितोपत्र आह्वान गर्ने भने उक्त धितोपत्र जारी भएपछि व्यापक रुपमा गैरआवासीय नेपालीहरु सहभागि हुन सक्नेछन् ।
यसैगरी एनआरएनए अध्यक्ष आरके शर्माले निर्देशिका संशोधन गरेर सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुला हुनु खुसीको कुरा भएको प्रतिक्रिया दिए । संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीमार्फत गैरआवासीय नेपालीले सेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था राम्रो भएको उनको भनाइ छ । ‘विदेशमा रहेका साना लगानीकर्ताहरुले रकम जम्मा गर्दै सामुहिक लगानीमार्फत समृद्ध नेपाल निर्माणका लागि हामीहरुले लामो समयदेखि हजारे अभियान सामाजिक सुरक्षाकोष अनि साना लगानीकर्ता लाइ पनि सामूहिक लगानी मार्फत जोड्ने कामका लागि अभियान सञ्चालन गरेका थियौँ’, उनले भने, ‘यो हाम्रो मुद्दालाई अन्ततः धितोपत्र बोर्डले सम्बोधन गर्दैगर्दा विशेषगरी श्रमिकहरू पनि यो योजनामा सहभागी हुँदै उहाँहरुको लगानीका मार्ग प्रशस्त हुने विश्वास छ । ’
उनले ठुला लगानीकर्ता भन्दा पनि श्रमिकहरुलाई नै लक्षित गरेर गरिएको यो निर्णयको पूर्ण कार्यान्वयनका लागि सबै पक्षले थप पहलकदमी लिनुपर्नेमा जोड दिए । निर्देशिकामा संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेर गैरआवासीय नेपालीले शेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो । यसरी स्थापना हुने कम्पनीमा गैर आवासीय लगानीकर्ताले कम्तीमा १० देखि बढीमा ४९ प्रतिशतसम्म गैर आवासीय नेपालीका लागि शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी गैरआवासीय नेपाली सहितको इन्भेस्टमेन्ट कम्पनीको शेयर निष्कासन गर्नुअघि शेयर बोर्डमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । बोर्डको स्वीकृतिपछि कम्तीमा चार दिनदेखि बढीमा १५ दिनसम्मका लागि गैर आवासीय नेपालीका लागि आईपीओ खुलाउन सकिने व्यवस्था गरिएको छ ।
यसरी आईपीओमार्फत् खरिदबिक्री हुने शेयर कम्तीमा एक हजार कित्ता कारोबार हुनुपर्ने, गैर आवासीय नेपालीबिच मात्रै कारोबार हुनसक्ने, आईपीओ पाएको एक वर्षसम्म खरिदबिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । हकप्रद शेयरको हक हस्तान्तरण समेत गैर आवासीय नेपालीका बीचमा मात्रै गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी निष्कासन हुने शेयरमा धितोपत्रको प्रत्याभूतिकर्ता नियुक्त गर्नुपर्ने छैन । यो निर्देशिकाले यसअघि गैर आवासीय नेपालीले लगानी गर्न सक्नेगरी ल्याइएका विभिन्न कानुन अनुसार भइरहेका काममा भने असर नगर्ने निर्देशिकामा उल्लेख गरिएको छ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता पाएका नेपालीलाई पुँजी बजारमा आकर्षित गर्न निर्देशिका संशोधन गरेर लगानी खुला गरिएको उल्लेख गरे ।