काठमाडौं(जस)– अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहनुभएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन बुझाउनेगरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ । उक्त सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिने उनले उल्लेख गरे ।
हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । सो निर्देशन बमोजिम आज अन्तर्राष्ट्रिय उडान गर्ने ११ हवाई कम्पनीले बिक्री गरेका टिकटको मूल्य, टिकटको उपलब्धता र यात्रुको विवरण बुझाएको मन्त्रालयले जनाएको छ ।
नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम रु दुई हजार पाँचसयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ । काठमाडौँबाट भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर सेक्टरका लागि बजार भाडादरमा रु दुई हजार पाँच सयसम्म छुट दिइनेछ भने कतारको दोहा युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा पाँच हजारसम्म दिइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हवाईभाडादर घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष निर्देशन बमोजिम राष्ट्रिय दायित्व निर्बाह गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरुको भाडादरमा छुट दिन थालिएको निगमले जनाएको छ । हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए ।
यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हवाईभाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्रीले एयरलाइन्सहरुले नागरिकको मर्का बुझिदिन अनुरोध गरेका थिए । निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही नोभेम्बर १ देखि २२ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी नागरिकलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन बुधबार निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम एयरलाइन्सले बिहीबार मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् ।
एघार एयरलाइन्सले भाडादरसहितको सूची बुझाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछाने जानकारी दिए। विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिंगापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन् ।