आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

९९ प्रतिशत एनआरएन एकताको पक्षमा छन्, भाँजो हाल्न खोज्नेहरूको नियत ऐनाजस्तै छर्लङ्ग छ

बिहिबार, कार्तिक ८ २०८१

काठमाडौं । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले एकताको महाधिवेशन गर्ने म्यान्डेटसहित कात्तिक १ पत्र पठाएर गैरआवासीय नेपाली संघमा निभाउनुपर्ने अभिभावकत्व दर्साएको छ । गैरआवासीय नेपाली संघमा सबै साथीभाइहरू एकताको पक्षमै हुनुहुन्छ । दसौँ महाधिवेशन जसरी दुईतिर हुन पुग्यो, त्यसप्रति चिन्तित हुँदै हामीहरूले एघारौँ महाधिवेशन एकताको गराउने भनेर २०८० असारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अघि नै दुवै पक्षले सहमति जनाएका थियौँ ।
अर्को पक्षबाट अध्यक्ष विनोद कुँवर, महासचिव जानकी गुरुङ र त्यतिखेरका अध्यक्षमध्येका एक बद्री केसी र मैले उपाध्यक्षको हैसियतमा एकताको महाधिवेशन गराउने भनेर हस्ताक्षर पनि गरेका थियौँ । हामीले आफूले आफैँलाई ढाँट्न सकिँदैन । संस्थामा एकताको विकल्प छैन । आम विदेशमा रहेका ८० लाख नेपालीले विदेशमा रहेका गैरआवासीय नेपाली संघ एउटै हुनुपर्छ भन्ने चाहना राख्नु भएको छ । विश्वभर रहेका गैरआवासीय नेपालीको भावनाको सम्बोधन परराष्ट्रको पत्रले भएको छ, अब सोहीअनुसार सबै एकजुट भएर एकतामा लाग्नुपर्छ ।
एनआरएनएभित्रको पछिल्लो विवादको सन्दर्भमा पनि हामीले वास्तविकता बुझ्न आवश्यक छ । सबैलाई एक ठाउँमा बनाउँदा एकताको महाधिवेशन गराउने जिम्मेवारी पाउनु भएका पूर्वअध्यक्ष शेष घलेले बद्रीजी (बद्री केसी)को समूहसँग पनि सहकार्य गर्नुपर्छ । तर, आधिकारिकताको कुरा गर्ने हो भने ११ औँ महाधिवेशनमा जति धाँधली एनआरएनएको इतिहासमै कहिल्यै पनि भएको थिएन । किनकि धाँधलीको विषय नै प्रमाणित भइसकेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नै क्लियर रिपोर्ट दिइसकेको छ । जुन रिपोर्टमा कसरी धाँधली भयो भन्ने कुरा उल्लेख छ । त्यसपछि पनि नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गरेर सहमहान्यायाधिवक्ताको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । त्यसले पनि यो यो कारणले गर्दा गत अक्टोबरमा होटेल सोल्टीमा भएको चुनाव पूर्ण त्रुटिपूर्ण भएको छ भनेर प्रतिवेदन दिइसकेको छ । धाँधलीको यस्तो प्रतिवेदन आइसक्दा पनि उहाँचाहिँ कुन ग्राउन्डमा चाहिँ ११ औँ महाधिवेशनको अध्यक्ष हुनुहुन्छ ? यदि ११ औँ महाधिवेशन जीवित छ भने मेरो नेतृत्वमा गठन भएको कार्यसमिति वैधानिक हो । हामीहरूको होटेल हिमालयमा ११ औँ महाधिवेशनकै बाँकी प्रक्रिया टुङ्ग्याएर गरिएको महाधिवेशनमा न डेलिगेट्सको विवाद छ न त निर्वाचन प्रक्रियामा कुनै विवाद नै भएको छ । हामीहरूले सर्वसम्मत रूपमा नेतृत्व टुंग्याएका थियौँ । सो महाधिवेशनमा ९० प्रतिशतभन्दा बढी डेलिगेट्सको सहभागिता पनि थियो । उहाँहरूको गलत प्रचार र संस्थालाई भड्कालोमा हाल्ने प्रपञ्चले मात्रै समस्या भइरहेको हो । यो दुर्भाग्यपूर्ण पनि हो । बद्री केसी समूहका दुई चार जना साथीहरुले सबैलाई गुमराहमा राखेर जान खोजेपनि त्यो दिवासपना मात्रै हुनेछ । आम गैरआवासीय नेपाली र नेपालका सम्मानित निकायहरूले उहाँहरूको रवैयालाई राम्ररी बुझिसक्नु भएको छ ।
अर्को कुरा बद्री केसी पक्षले गर्न लागेको सुनिएको साधारण सभा एनआरएनएमा आबद्ध सबैले आफ्नो गाँस कटाएर संस्थालाई दिएको पैसा दुरुपयोग गर्ने प्रपञ्च मात्रै हो । उहाँहरूले संस्थाको कोषमा रहेको र हामीले जम्मा गरिदिएको रकम सिध्याउने खेलो गरिरहनु भएको छ । लाजै नभए त मान्छे नाङ्गै हिँड्दा पनि भइहाल्छ । तर, नैतिकता भन्ने चिज सबैभन्दा ठुलो कुरा हो । साथीहरूलाई मैले यही मिडियामार्फत पनि अनुरोध गर्न चाहन्छु ‘तपाईंहरुले आँखा छोप्नुभयो भनेर सबैको आँखा छोपिएको हुँदैन । तपाईंले जे गर्दै हुनुहुन्छ यो गलत हो र सारा गैरआवासीय नेपाली चिन्तित छन् ।’ यो सामाजिक संस्था भएकाले बेलैमा बद्री केसी पक्षले सही सोचको विकास गर्नुपर्छ । जबरजस्ती गरेर कहीँ पनि पुग्न सकिँदैन । सम्मानित नेपाल सरकारलाई समेत जबरजस्ती ढाँटेर विवादमा हाल्न खोजिँदैछ । सरकारलाई अहिले विवादमा हाल्न सकिएला पनि तर भोलि सत्यतथ्य आउँदा गैरआवासीय नेपालीहरुलाई हेर्ने दृष्टिकोणप्रति नकारात्मक सन्देश जान्छ भन्ने कुरा पनि बुझ्नुपर्छ ।
मैलै फेरि पनि भनेँ–गैरआवासीय नेपाली संघको एकता चाहनेहरू ९९ प्रतिशत छन् । र, एक प्रतिशत जसले भाँजो हाल्न खोज्नुहुन्छ उहाँहरूको नियत के हो भन्ने ऐनाजस्तै छर्लङ्ग छ । उहाँहरूको नियत पहिलादेखि नै हामीलाई थाहा नै थियो तर अहिले त सर्टिफाइड नै भइरहेको अवस्था छ । पहिले पनि उहाँहरूकै कारण ११ औँ महाधिवेशन एकताको महाधिवेशन हुन सकेन र अहिले पनि एकताको महाधिवेशनका लागि पत्र आउँदा पनि बखेडा झिक्ने काम भयो भने त कुरा त प्रस्ट हुन्छ नै । तर परराष्ट्रको पत्र एकताका लागि चुनौतीपूर्ण तर स्वर्णिम मौका पनि हो । अहिले संस्थाको भलो नचाहने टिम र संस्थालाई कब्जा गरिरहन चाहने टिमको लडाइँ पनि हो । एक प्रतिशतबाहेक सबै संस्थाको भलो चाहनेहरू हुनुहुन्छ । तसर्थ सहजै रूपमा छ महिनाभित्र एकताको महाधिवेशन हुन्छ भन्नेमा विश्वस्त छु ।
एकताको महाधिवेशन नहुने र हाम्रो अभिभावक परराष्ट्रको आदेश नमान्ने भन्ने कुरै हुँदैन । यदि कसैले मान्दैन भने भिरबाट लड्न खोज्ने साथीहरूलाई रामराम मात्रै भन्न सकिन्छ, गएर काँध थाप्न भने सकिँदैन । (एनआरएनएको ११ औँ महाधिवेशनमा बद्री केसीले धाँधली गरेपछि त्यसविरुद्ध नयाँ कार्यसमिति बनाएका आरके शर्मासँगको कुराकानीमा आधारित)

प्रतिक्रिया
सम्बन्धित समाचार