आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

हामी कसैले पनि दायाँबायाँ गर्न मिल्दैन, अबचाहिँ सच्चिएर अघि बढ्नुपर्छ

बुधबार, कार्तिक ७ २०८१

काठमाडौं । परराष्ट्र मन्त्रालयले कात्तिक १ मा एनआरएनएको एकता महाधिवेशन गर्न भनेर पूर्वअध्यक्ष शेष घलेलाई जुन पत्र पठाएको छ । त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । अबको गैरआवासीय नेपाली संघलाई एकताबद्ध बनाउने ढङ्गले सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गर्दै हामी एकताको महाधिवेशनमा अगाडि जानुपर्छ । त्यहीअनुसार संसारभरि रहेका सबै गैरआवासीय नेपाली संघका नेता र साथीहरूले आफ्नो अडानलाई छाडेर संस्थाको बृहत्तर हितका लागि एकताको अधिवेशन जरुरत छ ।
आफ्नैखालका विचारहरू त सबैका हुनसक्छ । अहिले साधाधारणसभा गर्न भनेर लागेका साथीहरू (बद्री केसी पक्ष) को पनि आफ्नै विचार होलान् । तर, संघलाई एकताबद्ध बनाएर अघि बढाउन त सकिएको छैन नि । त्यस कारण उहाँहरूले त्यो अडान र घमन्डलाई पनि छाड्नुपर्छ । दोस्रो कुरा, संसारभर रहेका गैरआवासीय नेपालीको विचार के छ ? त्यसलाई पनि हेर्नुपर्छ । एकछिनका लागि कोही आधिकारिक पनि होला, तर आधिकारिक भन्दैमा र सचिवालयलाई प्राविधिक रूपमा तलमाथि गर्न सकियो भन्दैमा हामी आधिकारिक भन्नुभन्दा उदार दिलका साथ संस्थाको बृहत्तर हितका लागि अघि बढ्नुपर्छ । पहिला पनि गल्ती भयो, फेरि पनि भयो अबचाहिँ सच्चिएर अघि बढ्नुपर्छ भनेर लाग्नुपर्छ । संस्था एकताबद्ध नभएसम्म हामीले जसले आधिकारिक भनेपनि, चाहे बद्री केसी हुन् या आरके शर्मा या बिनोद कुँवर कसैलाई पनि त्यस्तो नगर्न म सुझाव दिन चाहन्छु । सबै एक ठाउँमा बसेर एकताको महाधिवेशन गर्ने कुरामा सबैले बाटो खोलेर अघि बढ्नुपर्छ र त्यसका लागि म सबै साथीहलाई आह्वान पनि गर्न चाहन्छु ।
एकताको महाधिवेशन शेष घलेको नेतृत्वमा हुने भनेर चिठी आएको छ । चिठी प्राप्त भएको एक महिनामा घलेकै नेतृत्वमा संस्थाको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औँ बैठकले गठन गरेको उच्चस्तरीय समितिको बैठक बस्छ । यस्तै हाम्रो संस्थाको संस्थापक अध्यक्षले पनि यसबारेमा छलफल चलाइसक्नुभएको छ । यसको मतलब संस्थालाई एकताबद्ध बनाएर लैजानका लागि पूर्वअध्यक्षहरु सबै आन्तरिक छलफलमा हुनुहुन्छ । यसमाथि संस्थापक अध्यक्षको घरमा त दुई–तीन चरणमा छलफल पनि भएको छ । एनआरएनए एकता नभएसम्म यो संस्थाको हित हुन सक्दैन र साथसाथै नेपालको विकास र समृद्धिमा साझेदार बन्ने कुरामा पनि ठुलो आघात पर्न सक्छ ।
यदि संस्थालाई चलायमान राख्ने हो भने भने हामीले आफ्नो स्वार्थलाई पर राख्नैपर्छ । सङ्घको हितका लागि र देशको पनि समृद्धिका लागि अब हामी कसैले पनि दायाँबायाँ गर्न मिल्दैन । पहिलो बैठक बसेको ६ महिनाभित्र एकताको महाधिवेशन हुने पूर्ण विश्वास छ । (सर्वोच्चले वैधानिकता नदिएको एनआरएनएको १०औँ महाधिवेशनबाट चयन भएका तीनमध्येका एक अध्यक्ष कुल आचार्यसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया
सम्बन्धित समाचार