काठमाडौँ । बागमती प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा छत्र बहादुर तामाङ निर्वाचित भएका छन् । राजधानीमा बुधबार सम्पन्न महासंघको दोस्रो अधिवेशनवाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यस्तै महासचिवमा चन्द्र कुमार वाइवा निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा राजकुमार बुढाथोकी, उपाध्यक्षमा उमानन्द कंडेल, उपमहासचिव (नितिगत)मा रामवावु घिमिरे, उपमहासचिव (आन्तरिक)मा लक्ष्मण थपलिया र कोषाध्यक्षमा राजेन्द्र उप्रेती निर्वाचित भएका छन् । यस्तै सहकोषाध्यक्षमा दिल बहादुर वम्जन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै कमिटी सदस्यहरुमा प्रल्हाद चौंलागाई, देवराज पाण्डे, ढक प्रसाद गौतम, राजेन्द्र चौलागाई, पदम वहादुर श्रेष्ठ, राजेन्द्र आचार्य र चन्द्रमाया भंडेल निर्वाचित भएका छन् ।
‘पूर्वाधार विकास राष्ट्रको आवश्यकता, गुणस्तरीय निर्माणमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ मंगलबारदेखि अधिवेशन सुरु भएको थियो । अधिवेशनको उद्घाटन सत्रमा मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले पहिलो पटक नेपाल राष्ट्र बैंकले छुट्टै बुँदामा राखेर मौद्रिक नीति ल्याएपनि कार्यान्वयन नभएको गुनासो आउँदा सहजिकरणको लागि महासंघ लागि रहेको बताए।
यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष एडि लामाले राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्था कार्यान्वयनमा समस्या भएको बताए। व्यवसायीहरूका समस्या समाधानको लागि व्यवसायीहरू एक हुन जरुरी रहेको उनको भनाइ थियो।
महासंघका महासचिव रोशन दाहालले अहिले इतिहासकै गम्भिर मोडमा निर्माण व्यवसाय पुगेको बताए। अधिवेशनमा निर्माण व्यवसायीहरुको समस्याका विषयमा गम्भीर छलफल भएको र आगामी दिनमा सम्पूर्ण व्यवसायीको हकहितका लागि आफू र टीम लागिपर्ने तामाङले बताए ।




