जनसवाल संवाददाता
काठमाडौँ । निरन्तर भूकम्पको धक्कापछि सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित बनेको छ । मंगलबार दिउँसोदेखि सुदूरपश्चिममा भूकम्प र त्यसपछिका पराकम्पले जनजीवन प्रभावित बनेको हो । भूकम्पको कारण बझाङसहितका जिल्लामा क्षति भएका रिपोर्टहरु प्राप्त भएका छन् । मंगलबार रातिसम्मको अद्यावधिक विवरणअनुसार बझाङमा कारण १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण प्राप्त भएको प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । भूकम्पछि बझाङमा पहिरो समेत खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै बझाङ सदरमुकाम चैनपुरसहितका ग्रामीण क्षेत्रहरूमा घरहरू भत्किनुका साथै कतिपय घरहरू बस्नै नमिल्नेगरी चर्किएका छन् । निरन्तर भूकम्प गइसकेपछि सर्वसाधारणहरुले घरबाहिरै रात कटाएका छन् । बझाङका पत्रकार सम्राट सिंहले भूकम्पपछि त्रासको अवस्था रहेको बताए । सबै सर्वसाधारण घरबाहिर खुला ठाउँमा बसिरहेको भन्दै उनले कतिपय घरहरू भत्किनुका साथै कतिपय कामै नलाग्नेगरी चर्किएको बताए । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफूहरु भूम्कपबाट भएको क्षतिबारे विवरण लिने क्रममा रहेको बताए । आवश्यकताअनुसार राहत र उद्दारको काम अघि बढाइने भन्दै उनले सबै संयन्त्र तयारी अवस्थामा रहेको बताए । कतिपय विद्यालयहरु समेत भूकम्पले भत्किएका छन् ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.५ म्याग्निच्यूडको भूकम्पपछि बझाङमा छुट्टाछुट्टै स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार आधार दर्जन भन्दा बढी पटक ४ म्याग्निच्यूडमाथिका भूकम्प र पराकम्पहरू भइसकेका छन् । २ बजेर ४० मिनेटपछि ३ बजेर ६ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी सो भूकम्पको तीव्रता ६.३ म्याग्निच्यूडको भएको बताए । उनका अनुसार त्यसपछि पनि राति अबेरसम्म ५ वटा पराकम्प गइसकेका छन् । भूकम्पपछि साना ठुला पराकम्पहरू निरन्तर गइरहने भूगर्वविद्हरु बताउँछन् ।
उसो त नेपाल भूकम्पीय दृष्टिकोणले समेत जोखिमयुक्त क्षेत्रमा पर्दछ । गत २०७२ सालको विनाशकारी भूकम्पका कारण ८ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो भने खर्बौँको संरचनामा क्षति पुगेको थियो । विगत ६ महिनाको तथ्यांकमात्रै हेर्ने हो भने पनि नेपालमा ४ म्याग्निच्युडमाथिका २४ वटा भूकम्प गइसकेका छन् । जसमा सुदूरपश्चिम प्रदेशमा १७ भूकम्प समावेश छन् । मंगलबारको निरन्तरको भूकम्पबाहेक वैशाख १० गते पनि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । बाजुरामै केन्द्रबिन्दु बनाएर वैशाख १४ मा ४.९, वैशाख १५ मा ५.९, ४.१ मा, २१ मा ४.१ र वैशाख २८ मा ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
यस्तै जेठ ८ गते ४.१ र जेठ २९ गते बाजुरामै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यसैगरी सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर जेठ १० गते ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । असार ५ गते दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.० रेक्टर स्केललको भूकम्प गएको केन्द्रको तथ्याङ्कले देखाएको छ । सुदूरपश्चिमबाहेक वैशाख १८ मा हुम्लालाई केन्द्रबिन्दु बनाएर ४.०, जेठ ७ गते रुकुम पूर्वमा ४.१, असार ८ गते लमजुङमा ४.०, असार २८ मा हुम्लामा ४.६ , साउन ३ गते कास्कीलाई केन्द्रबिन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो । यसैगरी भदौ १५ गते पूर्वी नेपालको भोजपुरलाई केन्द्रबिन्दु बनाएर ४ र पाँचथरलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।