कम्बोडिया । बहुआयामिक व्यक्तित्वकी धनी प्रीति आत्रेय ज्ञवाली नेपाली साहित्यको आकाशमा चम्किलो नक्षत्रका रूपमा उदाउनुभएकी साहित्यकार हुन । प्रवासमा रहेर पनि नेपाली कला र साहित्यको उत्थान र प्रवद्र्धनमा सक्रिय रहँदै आएकी प्रीति ज्योतिष फलादेशको माध्यमबाट समाजसेवामा पनि उत्तिकै क्रियाशील रहेकी छन ।
आर्या आत्रेय र कीर्तिशेष प्रा.डा. विष्णुराज आत्रेयका पाँच सन्ततिमध्ये तृतीय सन्तान अर्थात कान्छी सुपुत्रीको रुपमा जन्म लिएकी प्रीति संस्कृतमा कुराकानी गर्ने परिवारकी सदस्य हुन । उनले बुवाको सानिध्यमा प्राथमिक तहको शिक्षा हासिल गरेकी थिईन । माध्यमिक शिक्षाको पूर्वमध्यमा भारतको गोरखपुर र पद्मकन्या विद्याश्रम, डिल्लीबजारबाट एसएलसी उत्तीर्ण गरेकी उनले उत्तरमध्यमा, शास्त्री र आचार्य वाल्मीकि विद्यापीठ, प्रदर्शनीमार्ग काठमाडौंबाट उत्तीर्ण गरेकी हुन । फलित ज्योतिषमा आचार्य (स्नातकोत्तर), अंग्रेजी साहित्यमा शास्त्री (स्नातकोत्तर) गर्नुभएकी उनी नेपालबाट अंग्रेजीमा नियमित एवं साप्ताहिक राशिफल लेख्ने प्रथम नेपाली नारी स्तम्भकारको रुपमा पनि स्थापित भएकी थिईन ।

बुबा साहित्यकार प्रा.डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’को प्रेरणाले साहित्यलेखनमा कलम चलाउन थालेकी ज्ञवाली नेपाली भाषाका अतिरिक्त संस्कृत, हिन्दी तथा अंग्रेजी भाषा तथा साहित्यमा समेत राम्रो दख्खल रहेकी साहित्यकारका रुपमा चिरपरिचित छिन । उनी नेपालबाट प्रकाशित बहुचर्चित पत्रिकामा विगत २० वर्षदेखि राशिफल स्तम्भकारको रुपमा आबद्ध रहेकी छन । उनी नेपालकै पहिलो राशिफल लेखिकाको रुपमा समेत चिनिने गरेकी छन ।
हाल कम्बोडियामा रहेकी प्रीति आफ्नो विभिन्न विधाका साहित्यमा समय दिँदै आएको बताउछिन । आफैंद्वारा लेखिएका र अन्य साहित्यको समेत सम्पादनमा भूमिका निभाइरहेकी उनी पछिल्लो समयका जुझारु र सक्रिय साहित्यकारका रुपमा चिनिन्छिन । देशदेखि परदेश, माया–प्रेमदेखि देशप्रेमसम्म सबै विषयवस्तुलाई शालीन शब्दका साथै मार्मिक र मनोरञ्जनात्मक रुपमा प्रस्तुत गर्ने उनको साहित्यिक विशेषता रहेको छ । उनका कविता, गजल, मुक्तक देशभक्ति र माया–प्रेमका भावले ओतप्रोत भएको पाउन सकिन्छ ।
साहित्यका विविध विधामा कलम चलाउनेमात्र नभई प्रवासमा रहेर पनि नेपाली कला र साहित्यको इतिवृद्धिमा विभिन्न माध्यमबाट उनले महत्वपूर्ण योगदान पुर्याउँदै आएकी छन ।
आफ्नो स्कुले जीवनदेखि नै लेखनकार्य शुरु गरेकी प्रीति वाल्मीकि क्याम्पसमा फलित ज्योतिष विषय लिएर स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छन । बहुआयामिक साहित्यकार प्रीति कम्बोडियामा रहेका विभिन्न संघ–संस्थामा पनि आबद्ध रहेकी छन । उनी गैर आवासीय नेपाली संघ कम्बोडियामा पनि आबद्ध रहेकी छन । उनी आबद्ध भएका संस्थाहरुमा हुने विभिन्न कार्यक्रम र सम्मेलनमा उनले आफ्नो लेख–रचना प्रस्तुत गर्ने गरेको बताउछिन ।
गजलमा सिकारु र अझै सिक्नु पनि छ भन्दै आफू अझै अध्ययनमै भएको बताउने उनी मुक्तक, साइनो, टुक्का, रम्बास, हाइकु आदि कविताकै रुप रहेको बताउछिन । नेपाली, संस्कृत र अङ्ग्रेजी साइनो कविता लेख्ने ज्ञवालीले प्रथम नारी संस्कृत साइनोकारको रूपमा आफूलाई उभ्याएकी छन । साथै, उनी संस्कृत साइनो अभियन्तासमेत हुन ।

ज्ञवालीका साहित्य गद्य विधामा ‘अनुभूतिको इन्द्रेनी’ नामक कविता सङ्ग्रह, २०७९ भर्खरै प्रकाशित भएको छ । उनको रचनामा गीतहरू ‘आफ्नो त मन छ माइतीघरतिरै’ (तीजगीत, २०७५) र ‘तिमी मेरो पूजा’ (प्रणयगीत, २०७०) युट्युबमार्फत प्रसारित समेत भएका छन । उनको बीबीसी, साहित्यपोस्ट, हिमालय टाइम्स, कान्तिपुर, नेपाल समाचारपत्र, नेपालनाम्चा, सहीखबर, संसारन्यूज, वैजयन्ती साहित्यिक पत्रिका, हाम्रो पुरुषार्थ, नारी, कल्पतरु, दायित्व, रहस्य साप्ताहिक, दिव्य चक्स्यु साप्ताहिक, दिव्य दर्शन साप्ताहिक आदि विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा विभिन्न समसामयिक विषयसित सम्बन्धित लेख–रचनाहरू प्रकाशित हुदैँ आएको छ ।
कविता प्रतियोगिता तथा ज्योतिष सम्मेलनमा पदक तथा उपाधिसमेत प्राप्त गरेकी ज्ञवाली विश्व हिन्दू युवा संघबाट अभिनन्दितसमेत भएकी छन । हाल कम्बोडियामा बसेर समेत नेपाल तथा नेपाली साहित्य कला क्षेत्रको श्रीवृद्धिमा निरन्तर साधनारत रहेकी ज्ञवाली प्रवासी नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सदस्य पनि रहेकी छन । प्रीतिको आबद्धता यतिमै सीमित छैन, उनी विभिन्न साहित्यिक संस्थाको संस्थापक सदस्य पनि रहेकी छन । उनले साहित्यमा कलम चलाएका विधाहरुमा गजल, कविता, मुक्तक, व्यङ्ग्य, समसामयिक ब्लग र पत्रकारिता हुन । साथै, उनी ज्योतिषको विद्यार्थी पनि रहेको हुँदा ज्योतिषशास्त्रमा पनि उनको दखल रहेको पाइन्छ । समाजमा रहेका विकृति र विसङ्गतिका विरुद्ध उनका कलमहरु चल्दै आएका छन ।

पूर्वजप्रति सम्मान, मानिसको प्रवृत्ति, मानवीय सोच र चिन्तन, समाज चित्रण, मानवीय संवेदना, तनाव, विपन्नता, पुरुषहरूप्रति सहानुभूति, नारी र पुरुषको परिपूरक सम्बद्द, नारीका समस्या, मानवीय कर्तव्य, सबैप्रति समन्यायिक दृष्टिकोणलगायत विभिन्न भावाभिव्यक्ति उनका कृतिहरुले दिन्छन । प्रीतिको विचारमा समाज र साहित्य दुवै एकअर्काप्रति आश्रित छन । समाज नभए साहित्यको के काम ज्ञवाली भन्छिन ? बिनासाहित्य समाजको के काम ? समाजरूपी बगैँचालाई तह लगाउन, शोभायमान बनाउन एक दक्ष मालीको रूपमा साहित्यले काम गरेको हुन्छ उनले जनसवाल सँग भनिन ।’ कम्बोडियामा रहेकी प्रीतिले जनसवालसँगको भेटमा आफू बुवाको बाटोमा अगाडी बढेको बताईन । उनले बुवाको नामबाट आफुले अनुभूतीका ईन्द्रेनी किर्ति प्रकाशन गरेको र अन्य पनि निस्कने क्रममा रहेको बताईन । साहित्यिक यात्रासँगै परदेशमा आफू सामाजिक कार्यमा समेत कृयाशिल रहेको उनले बताईन ।
जनसवाल राष्ट्रिय दैनिकको २०७९ फागुन १ गते सोमबारको इपेपर
जनसवाल राष्ट्रिय दैनिकको २०७९ फागुन १ गते सोमबारको इपेपर
