ओमेगा पावर माइण्ड्स प्रालिका सञ्चालक डिकबहादुर खत्री (कुमार)माघ ६ गते हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा राजेन्द्र भण्डारी प्यानलका प्रथम उपाध्यक्षका प्रत्यासी हुन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालका निवर्तमान महासचिव तथा वरिष्ठ उपाध्यक्षको समेत नेतृत्व गरिसकेका खत्री वैदेशिक रोजगार व्यवसायीले व्यवसायीको योगदान र संस्थाको सामाजिक जिम्मेवारीलाई फरक दृष्टिकोणले परिभाषित गरी अगाडि बढ्नुपर्ने बताउँछन् । आफु मञ्चको जिम्मेवारीमा रहँदा बन्द रहेको मलेसियाको रोजगारी खुलाउने विषयमा पहल गरेका उनले नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा व्यवसायीले निर्वाचित गराए आफूले सुधारका काममा योगदान दिने बताउँछन् । संघको निर्वाचनका सन्दर्भमा राजेन्द्र भण्डारी प्यानलका प्रथम उपाध्यक्षका उम्मेदवार डिकबहादुर खत्री (कुमार)सँग गरिएको अन्तरवार्ताको सम्पादित अंश :
प्रथम उपाध्यक्ष जस्तो गहन जिम्मेवारी पदमा उम्मेदवारी दिनुभएको छ । यहाँका एजेण्डाहरु के–के छन् ?
हालको अवस्थामा नेपालको अर्थतन्त्रको प्रमुख आधार वैदेशिक रोजगारी हो । यस क्षेत्रमा करिव २३ अर्बभन्दा बढीको लगानी छ । ४३ लाखभन्दा बढी बेरोजगार युवा–युवतीहरुलाई वैदेशिक रोजगारमा व्यवस्थापन गर्ने चुनौतीपूर्ण काम हामी वैदेशिक रोजगार व्यवसायीहरुले गरिरहेका छौं । तर अरु कसैले गरेको नकारात्मक कामलाई जोडेर हामीलाई लाञ्छना लगाउनेका गरिएको छ । समाजको कतिपय कोणबाट त्यसैको पीठ थपथपाएर युट्युबरको आक्रमणलाई अन्य तरिकाले स्यावासी दिने अहिलेको प्रवृत्ति राम्रो हौईन । यही नराम्रो प्रवृत्ति चिरेर व्यवसायीको मर्यादा स्थापित गर्ने काम गर्न मेरो उम्मेदवारी हो । गलत कुरा गरेर व्यवसायीलाई झुक्याउने मेरो स्वभाव छैन । व्यवसायीका समस्या समाधानमा केन्द्रित भएर काम गर्छाैं ।
निर्वाचन भन्दा अगाडि अनेकन प्रतिवद्धता गर्ने, तर निर्वाचित भएपछि व्यवसायीका समस्याका विषयमा काम नहुने गुनासो छ । यस विषयमा तपाईंको धारणा के छ ?
निर्वाचनमा लेखिएको घोषणापत्रका आधारमा समस्याको समाधान र कामको परिणाम निकाल्न सम्बन्धित निकायबाट काम लिन ती निकायलाई झकझक्याउनु पर्छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट हुने काम गराउन परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट हुने काम श्रमबाट हुन सक्दैन । निर्वाचित भए पछि घोषणापत्रमा लेखिएबमोजिम काम गर्न म लागिपर्ने छु ।
तत्काल यस क्षेत्रमा सुधार गर्नु पर्ने मुलभुत विषय के–के छन् ?
हाल नेपाल सरकारले लिएको गलत नीतिगत निर्णयका कारण व्यवसायमा असुरक्षा बढेको छ । वार्षिक करिव १२ खर्बभन्दा बढी विप्रेषण नेपाल ल्याउने, नेपालको कुल गार्हस्थ उत्पादन (जिडीपी.) मा तीस प्रतिशत भन्दा बढीको योगदान गरिरहेको र विदेशी मुद्रा सञ्चितिको प्रमुख माध्यम वैदेशिक रोजगार हो । तर, व्यवसायीहरुलाई सेवा शुल्कको विषय प्रमुख बाधकका रुपमा रहेकोे छ । यसले वैदेशिक रोजगारमा जाने कामदार, पठाउने व्यवसाय र सरकार कसैलाई सहज छैन । यस विषयमा सरकारले निकास दिनुपर्छ । अर्को वैदेशिक रोजगार प्रशासनलाई अधिकतमरुपमा प्रविधिमैत्री बनाएर अनावश्यक खर्च हटाउनुपर्छ । छिटो छरितो ढंगले काम गर्ने र इम्प्लोइमेन्ट कन्ट्रयाक्टका आधारमा अन्तिम श्रम स्वीकृति दिने प्रणाली हटाउनुपर्छ । श्रम स्वीकृति भनेको रोजगारदाता मुलुकले दिने हो । नेपाली कामदारहरुको आकर्षक गन्तव्य मानिएका कतिपय युरोपेली मुलुकहरुमा कुटनीतिक नियोग नहुनु, भएका नियोगहरुमा पर्याप्त जनशक्ति नहुनु जस्ता कारणले मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती र अवरोध हुँदा कतिपय देशको रोजगारी अवसरबाट नेपालीहरु बन्चित हुनुपरेको छ । व्यवासयीहरुले भोग्नुपरेका समस्याहरुका विषयमा नयाँ सरकारले मिहिन ढंगले सोचेर काम गर्नुपर्छ ।
राज्यलाई गरेको योगदानको कदरस्वरुप व्यवसायीहरुलाई सम्मानमा राज्यको कन्जुस्याइँको वियषमा के भन्नुहुन्छ ?
यस विषयमा हाम्रो राज्य निकै संकुचित रहेको देखिन्छ । राज्यले अहिलेसम्म वैदेशिक रोजगार व्यवसायलाई फरक नजरले व्यवहार गरिरहेको छ । राज्यको नजर अब परिवर्तन हुनुपर्छ र यस व्यवसायमा संलग्न व्यवसायीलाई पनि सम्मानको नजरले हेर्नुपर्छ भन्ने मेरो धारणा छ । यसका लागि राज्यले यो व्यवसायलाई नीतिगत रुपमा सहजीकरण गर्ने र आम जनताका लागि माध्यमका रुपमा रहेका व्यवसायीलाई सकारात्मक रुपमा व्वसायका लागि आधार तयार गर्नुपर्छ । अरु समुहका उम्मेदवारहरुले के गर्नुभएको छ थाहा छैन । तर, म व्यवसायीको कर्पाेरेट उत्तरदायित्व (सीआरएस)को जिम्मेवारी पूरा गरेर जानुपर्छ भन्ने मान्यतामा छु । विगतमा कोरोना महामारीमा नागरिकहरुलाई गाउँ फर्काउनेदेखि बाढीपहिरो तथा अन्य विपत्तिका समयमा हामीले काम गरेका छौं । वैदेशिक रोजगारीका क्रममा बिना गल्ती समस्यामा परेका कामदार, अविभावक गुमाएका बालबालिकाको शिक्षा दिक्षामा ध्यान दिनुपर्छ । हामीले वैदेशिक रोजगारीमा पठाएका कामदारहरु समस्यामा पर्दा हामीले नै समस्या समाधान गर्नुपर्छ ।
तपाईको आम मतदाता व्यवसायीहरुमा के अनुरोध छ ?
लगभग ४ वर्षपछि आफ्नो मतले संघको नेतृत्व चयन गर्ने ऐतिहासिक घडीमा हामी छौं । मतदातालाई छनोटको अधिकार छ । आ–आफ्नो आस्थाको संरक्षण होस् भन्ने व्यवसायीको चाहना स्वभाविक पनि हो । तर, व्यवसायको सुरक्षा त्योभन्दा माथि छ । हामी थप बर्बादी र अपमानित हुने दिशामा जाने कि भएका कमीकमजोरी सच्चाएर अघि बढ्ने भन्ने छनोटको ऐतिहासिक अवस्थामा पनि छौं । एकपटक विश्वास गरेर आफ्नो मत दिनुहोस् तपाईंहरुले दिएको विश्वास डगमगाउन र खेर जान दिने छैन । समग्र क्षेत्र सुधारको लागि दिलोज्यान दिएर लाग्ने छु ।
