शनिबार, भाद्र २५ २०७९
दार्चुला । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।
पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उहाँले बताउनुभयो ।
यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन् । बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरु दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि बाढी र पहिरामा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिनुभयो ।
नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिराले ठूलो क्षति पु¥याएको छ । अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने सात जना बेपत्ता तथा आठ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।
गृहमन्त्री खाणले बाढी पहिराबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिनुभएको छ । उहाँले सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराख्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
बाढीबाट लास्कु क्षेत्रका चार, बाङाबगड क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालयमा पूर्ण क्षति पुगेको छ । दुहुँ र महाकाली जोड्ने लास्कुखोलाको झोलुङ्गे पुल र मोटरेबल पुल बगाएको छ । बाढीले पार्किङमा राखेका पाँच जीप, एउटा ट्रयाक्टर र एउटा समेत बगाएको प्रहरी जनाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीर स्थानीयवासी खोज तथा उद्धारमा खटिएका छन् ।
बाढीपहिरो पीडितका लागि राहत कार्यक्रम ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले दार्चुलाका बाढीपीडितका लागि तत्काल राहत उद्धार कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज गृहजिल्ला दार्चुला पुग्नुभएका मन्त्री बडूले गएराति भएको बाढी र पहिरो प्रभावित क्षेत्रको क्षेत्रको आज निरीक्षण गर्दै पहिलो चरणमा राहतको कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।
मन्त्री बडूसहित प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डा रणबहादुर रावल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले महाकाली नगरपालिका वडा नं ४ को बङ्गाबगड क्षेत्रको बाढी क्षेत्रको निरीक्षण गर्नुभएको थियो । उहाँले निरीक्षणका क्रममा अहिलेलाई अस्थायी बसोबास प्रबन्ध गरिने बताउँदै तत्कालै अन्य प्रक्रिया अघि बढाइने बताउनुभयो । केन्द्रीय र प्रदेशमन्त्री सहभागी टोली बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बललगायत राहत सामग्री लिएर दार्चुला पुगेको थियो ।
घटनाको स्थलगत निरीक्षणपछि धनगढी पुग्नुभएका प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डा रणबहादुर रावलले रासससँग कुरा गर्नुहुँदै शुक्रबार रातिको बाढी र पहिरोले दार्चुलामा ठूलो वितण्डा मच्चाएको जानकारी दिनुभयो । मन्त्री रावलले भन्नुभयो, “प्रदेश सरकारले मृतकका परिवारलाई तत्काल रु एक/एक लाखका दरले राहतस्वरुप उपलब्ध गराउन लागेको छ, राहत र उद्धारको काममा कुनै कसर बाँकी नराख्ने गरी काम भइरहेको छ ।”
अविरल वर्षापछिको बाढी र पहिरामा परेर पाँच जनाले ज्यान गुमाएका छन् भने १० जना बेपत्ता छन् । बाढीपहिरामा परी आठ जना घाइते भएका छन् । लास्कु खोला र महाकाली नदीमा आएको बाढी र नौगाडमा आएको पहिरामा परी मृत्यु भएकाको उद्धारमा कुनै कसुर बाँकी नराख्नसमेत मन्त्री बडूले निरीक्षणका क्रममा निर्देशन गर्नुभएको छ ।
लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीमा व्यवसाय गर्दै आएका धनसिंह कार्कीको सपरिवार बाढीमा परेको हो । गत वर्षसमेत बाढीले पसलमा क्षति गरेका कार्कीको परिवारलाई यो वर्ष पूरै सखाप ग¥यो । अहिलेसम्म घटनामा परी धनसिंहकी श्रीमती मानमति कार्कीको शव महाकाली नगरपालिका–५ नजिकै मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताउनुभयो ।
परिवारका धनसिंह, उहाँका छोराद्वय दीपक र दिनेश अझै बेपत्ता छन् । बाढीपहिरोमा परी महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहराको घरभित्रै पुरिएर मृत्यु भएको उहाँले बताउनुभयो । घरपरिवारका अरु भागेर ज्यान जोगाए पनि बोहरा भने घरभित्रै पुरिएका हुन् ।
पहिरोमा परी नौगाड गाउँपालिका–१ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नं २ का ६८ वर्षीय मोहनराम पार्कीको मृत्यु भएको छ । घटनामा परी महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, वडा नं ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नं २ का मानमति शाहु, वडा १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोबाट घाइते भएकाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको एयर एम्बुलेन्समार्फत पहिरोमा परी गम्भीर घाइते भएकाको जिल्ला अस्पताल दार्चुलामा उद्धार गरिएको हो ।
सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका ४५ वर्षीय वीरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देवसिंह ठगुन्नालाई उद्धार जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिनुभयो ।
यस्तै महाकाली नगरपालिका–२ का हरकसिंह बाहु, वडा नं ४ का अभिषेक कामी र गीता कामीको उद्धार गरिएको छ । घाइते आठै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । नेपाली सेनाकै हेलिकप्टरले दुवै स्थानीय तहका बाढी र पहिरो प्रभावितका लागि राहत सामग्रीसमेत ढुवानी गरिएको छ । उनीहरुलाई स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राहत वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महाकाली नगरभित्र सबै सुरक्षाकर्मी परिचालन गरेर तत्कालै राहत उद्धारको कार्य भइरहेको बताउनुभयो ।
एक सय परिवार प्रभावित
बाढी र पहिरोले दार्चुलाका दुई स्थानीय तहका झण्डै एक सय परिवार प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परी ४२ घर पूर्ण क्षति, नौ घर आंशिक क्षति र ४० घर जोखिममा रहेका छन् । प्रहरी परिचालन गरी सङ्कलन गरिएको तथ्याङ्कअनुसार महाकाली नगरपालिकामा धेरै क्षति पुगेको छ । नगरपालिकाको वडा नं १, २, ३ र ४ का बङ्गाबगडसम्मका घर क्षति पु¥याएको हो । नौगाड गाउँपालिकाको वडा नं १ मा पहिराले क्षति पु¥याएको छ ।
“राति ११ बजेदेखि खोलामा पानी बढेको थियो”, स्थानीय मङ्गलसिंह ठगुन्नाले भन्नुभयो, “विस्तारै १ बजेदेखि कटान सुरु गरेको हो ।” उहाँले लास्कु खोलामा बाढी आएपछि नदीको दायाँबायाँका बस्ती बगाउन थालेको बताउनुभयो । लास्कु खोला बढेसँगै महाकाली नदीमा समेत पानीको बहाव उच्च हुन पुगेको जनाइएको । महाकाली नदी थुनिने अवस्था आएपछि महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको तटबन्धमाथि महाकाली पसेको जनाइएको छ । सोही नदीले बङ्गाबगडका बस्ती बगाउन थालेको ठगुन्नाको भनाइ छ ।
दुहुँ–खलङ्गा सम्बन्धविच्छेद
महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्यास जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुला–तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभिरसम्म सडक अवरुद्ध भएको हो । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ ।
लास्कु खोलामा निर्माण गरिएको मोटरेवल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन । महाकाली नगरपालिका–४ बङ्गाबगड हुँदै वडा नं १ छापरी जाने पुल बगाएको छ । बाढी, पहिरोमा दुई वटा विद्यालय भत्किएको छ । महाकाली नगरपालिकाभित्रका भुवनेश्वरी आधारभूत विद्यालय पण्डोरा र दशरथनगर आधारभूत विद्यालय बङ्गाबगडको विद्यालय भवन क्षति पु¥याएको छ । यस्तै डुङ्गरीस्थित दार्चुला बहुमुखी क्याम्पसको आवास गृह जोखिममा रहेको प्रहरीले जनाएको छ ।
दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जीप महाकालीले बगाएको छ । जसमा छ वटा बोलेर जीप, एक ट्र्याक्टर, ग्वालेक निर्माण सेवाको क्रसर मेसिन एक र जेसेभी एक बगाएको छ । दुवै स्थानीय तहका गरी दुई सय ६३ वटा पशु चौपाया मरेका छन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij