आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएन मित्रहरु ! केन्द्रसंग सम्बन्ध बिच्छेदको लागि तयार होउ

मंगलबार, पुष २७ २०७८

काठमाडौं । पानामा पेपरमा नाम निस्केका ट्याक्स छलीका बादशाहहरु,एनआरएन संजाल मार्फत पाट्नर बटुलेर माल लुटेका निर्दयी ब्यापारीहरु,मध्येपूर्वका सुन तस्कर,युरोप,अमेरिका,अष्ट्रेलिया लगायत धेरै देशबाट हंकंग हुँदै नेपाल हुण्डी गर्ने अँध्यारो अर्थतन्त्रका काला साँपहरु र विभिन्न बहानामा मानव शक्तिको गैह्र कानुनि निकासी र पैठारी गर्ने मानव तस्कारहरुले हामी जस्ता निम्छरा एनआरएनहरुलाई मायाँ गर्छन भनेर हामी मख्ख छौँ भने त्यो भ्रम हो। यिनीहरुले आफ्नो स्वार्थको लागि सन् २००९ को सरद(अक्टोबर) मा एफएनसीसीआईको भवनमा राति ३ बजे उपाध्यक्ष राम दाईको स्वाभिमानलाई बलि दिए। दशैको बोका भन्दा पनि कम मुल्यमा आफ्नै अग्रजको बलि दिनेबाट हामीले अझै आशा गर्दै छौँ भने हामि मुर्ख मात्र हैनौँ गतिछाडा पनि हौँ। श्याम कार्की,देव मान हिराचन,भिम उदास,जीवा लामिछाने सबै स-सरिर उपस्थित थिए त भवनको दोश्रो तलामा।अध्यक्ष उपेन्द्र महतोले चुनाव गर्ने बिषयमा असहमति जनाउनु जिवाजीहरु मुर्तिवत हुनु सबैको इसारामा एक इमानमाथि मार हानिएको थियो त्यहाँ। तालि पिट्नेहरु यिनै भूपूहरु हैनन् र भन्या !अझै इमान जमानका कुरा गर्छन सपेराहरु।
गरिब एनआरएनहरुले गास काटेर उठाएको,राष्ट्रिय समन्वय परिषदहरुले उनीहरुकै पहलमा उठाएको झन्डै एक अरब रुपैया के मा खन्याए ? थाह छ मित्रहरु ? कति खोश्रेर झारे,कति घिचे र कति सेटिंगको सरकारी जमिनमा पैसा हाले? बालुवामा अमृत हाले झैँ खन्याए कठैबरा हामीले उठाएको पैसा। संसारभरिका राष्ट्रिय समन्वय परिषदहरुले तत्काल एक्सन लिनु पर्ने थियो। तर बिचरा हाम्रा समन्वय परिषदका सोझा मित्रहरु, दलाल र बिचौलियाको रमिलो मुस्कानबाट झुक्किए। त्यति ठुलो अपराधमा पनि माथिल्ला लुटेराहरुलाई हामीले माफी दियौँ। सबै अपराधीहरुलाई माफी दिनु हुन् यसर्थ गल्ति हामीबाट पनि भएको छ।
चाहे लाप्राकको बस्ति निर्माणमा खर्चेको पैसा भन्नुस वा बालुवाटारमा खन्याएको पैसा भन्नुस यिनले आफ्नो खल्तीबाट कति हालेका छन् ? छैनन,सबै विश्वभरिका राष्ट्रिय समन्वय परिषदहरुको पहलमा उठेको पैसा हो। राष्ट्रिय समन्वय परिषदका बर्षौसम्म गरेको अथक प्रयत्न र विश्वभरिका एनआरएनले आफ्नो गाँस काटेर उठाएको आर्थिक अभियानबाट करिव २८–२९ करोड खर्चेर बनाएको आफ्नो कार्यालय आफ्नै कमसल नेतृत्वको अदूरदर्शी निर्णयले गुम्यो अझै हामी लुटेराहरुको भिमकाय जत्था सहित आइसीसी नेतृत्वलाई बोकेर हिड्न तयार नै छौं । बिचरा!हामी सँधै बिचौलियाको प्रयोगका औजार भन्दा बढी केहि भएका छौं त ! भएका छैनौँ। तर अब बिचौलियाको औजार बन्न इन्कार गर्नुको बिकल्प हामीसंग छैन। वि.सं. २०७१ चैत १ कालो दिन, एनआरएनको लागि कालो दिन ! माफियाको कमिसन चक्करमा परेर बिस्वभरिका एनआरएनहरुको ठुलो संयुक्त पुंजी खरानी बनाएको दिन।
बालुवाटारको ४८ आना जग्गा २६ लाख ५० हजारका दरले जम्मा १२ करोड ७२ लाखमा खरिद निर्णय गरिएको त्यो कालो दिनले हामीलाई सदैब सरापी रहने छ। यो दुर्घटनाको लागि गतिछाडाहरुले कहिल्यै छानबिन गर्ने जाँगर पनि गरेनन। बोल्ने र बिरोध गर्ने आँट पनि गरेनन। किनकि यी सबै मिलेका थिए। अहिले पनि त्यो बिषयमा चुइक्क बोल्दैनन। राष्ट्रिय समन्वय परिषदलाई केवल प्रयोग गर्ने औजार भन्दा माथि यिनीहरुले कहिल्यै सोचेनन।
हामी मद्धे केहि सदैब केन्द्रिय नेतृत्वको निर्णयमा ‘त्वं शरणम’ हुँदै आएका छौँ र यिनीहरुले दिएको गोप्य अनुदान,हुण्डी,ऋण र कलो खाएर अझै सम्म यिनीहरुले मच्चाई दिएको पिङमा स्वर मिलाएर मच्ची रहेका छौँ। आफ्नो स्वाभिमान यसरि कौडीको मुल्यमा बेचिरहेको दुनियाले थाह पाउदैन भन्ने होला बिचराहरुलाई ,२१सौं सताब्दीको जनमानसले यो कुत्ता पाल्तु हो कि भुस्याहा हो भुकाई बाटै थाह पाउछ।
कार्यालयमा बेथितिको अर्को कहालीलाग्दो कथा कर्मचारीको भजनी पजनी बिष्फोटक आवाज बनेर बेलाबेला बाहिर आउँछ। कार्यालय भित्रको कर्मचारी प्रसासन कसरि चल्छ थाह छ ? हिजोसम्म स्थानीय समन्वय परिषदले बिभिन्न तरिकाले उठाएको पैसाले खर्च चल्थ्यो। अहिले त्यसमा कार्यालय भवनको आम्दानि पनि थपिएको छ।
तर लुट्ने तरिका पुरानै छ कार्यालयमा। थाह छ कि छैन ? भ्रष्ट्राचारलाई छिपाउन र नियमित रुपले कागजात मिलाएर लुट्न अध्यक्षपिच्छे नयाँ नियुक्ति हुन्छन् कार्यालयमा । अहिले त महासचिवको हिङ्गको गन्ध अझ चर्को छ। उनको स्वार्थको रक्षा गर्ने कर्मचारी पनि थपिएका होलान। एनआरएनएका प्रकाशन ठेक्का, परियोजना ठेक्का, कमिसन मिलान र मानवतस्करीका खेलहरू सबै मिलाएर गरिन्छ। नेतृत्व फेरीने बित्तिकै आफ्नो भर बिश्वासको कर्मचारी खोजिन्छ । यी र यस्तै कारणले गर्दा अघिल्लो कार्यकालसम्म १७ जना कर्मचारी थिए केन्द्रिय कार्यालयमा। अहिले त्यतिनै छन् कि बढे विवरण आएको छैन अझै। ती मध्ये तीनजना त पियन (कार्यालय सहयोगी) नै छन् ।
उपरी संरचनाको नेतृत्वहरूले श्रमजीवी प्रवासी नेपालीहरूलाई आफ्ना कारिन्दासरह ठान्छन् भन्ने कुरा त कुनै पनि ठुला निर्णय गरिदा राष्ट्रिय समन्वय परिषदको अहिलेसम्म सल्लाह नलिएका घटनाहरुले पुष्टि गर्दछन । नत केन्द्रका कुनै पनि ब्याक्तिले महान गल्ति गर्दा राष्ट्रिय परिषदसंग माफी मागे न त घडेरी किन्दा होस् वा बस्ति निर्माणमा तलको सल्लाहलाई उचित सम्झे।

पाए भने दलालहरुले हाम्रो स्वाभिमान खरिद बिक्रि गर्न खोज्छन। अहिले देख्नु भयो नि प्रतिनिधि चयनमा तमासा ! लोकजी वा चित्रजी वा गंगाजी वा बरुवालजीहरुका परिवारबाट कति प्रतिनिधि बनाइए। जो हिजोसम्म सदस्य समेत थिएनन तिनलाई पनि अहिले केन्द्रको नेतृत्व चुन्न प्रतिनिधि छानिएको छ। तर जसले समाजमा केहि योगदान दिएको छ,जोसंग अलिकति बिबेक बाँचेको छ र राम्रो नराम्रोबारे खुलेर बोल्न सक्छ,परे त प्रतिनिधिमा ? परेनन्। यी माथिल्ला खुफियाका कारिन्दाहरू, चम्चा र दलालहरू सोच्छन् होला, ईनका गलत निर्णयहरूका नकारात्मक प्रभावहरू क्रमशः बिलाउने छन् र उनीहरूलाई सँधैभरि अघिपछि झैँ जयजयकार गर्दै एनआरएन जत्था हिँडिरहने छ । उनीहरूले बुझी राख्दा हुन्छ , यो सब यिनीहरुको भ्रम हो।

यिनीहरुसंग स्वाभिमानी एनआरएनहरु कदापि,कहिल्यै र कुनैपनि अबस्थामा झुक्ने छैनन्। हो,अहिलेसम्म विभिन्न कारणले चुप बसेका चाहि हुन्,दलालहरुले यो नसोचुन कि यिनीहरुलाई झुकाउन सकिन्छ। यी उठेभने दलाल र बिचौलियाहरुलाई कहिल्यै आरामले बस्न दिने छैनन्। अहिलेको सकसपूर्ण समयलाई हेर्दा पनि हुन्छ।
दलाल,बिचौलिया र कमिसनखोरहरु बिकृतिको बिरुद्ध चुँ पनि गर्न सक्दैनन् भन्ने कुरा प्रमाणित भैसकेको छ। एफएनसीसीआईका पूर्वअध्यक्ष कुशकुमार जोशीलगायतले नेपाल पूर्वाधार कम्पनीको नाममा उठाएको करोडौँ रुपैयाँबारे एनआरएनएको त्यो बेलाको नेतृत्व किन सदैब चुप रह्यो ? टावर निर्माण सुरुङ्ग निर्माणमा उठेको पैसा खै ?त्यसमा एनआरएनएको केन्द्रीय तह संलग्न छ भनेर आरोप लागेको थियो । जिवाजीहरुले त्यसको कहिल्यै जवाफ दिएको थाह छैन। तलतिर आवाज मधुरो रुपमा उठ्यो,मिडियाले पनि यो कुरालाई बिशेष रुपले उठायो तर सुनुवाई गर्नु पर्ने संस्थाका पदाधिकारीहरू मौन बसे । त्यो प्रोजेक्टको हबिगत कस्तो भैरहेको छ, कहिल्यै बाहिर ल्याइएन ।किनकि त्यसमा सबैको स्वार्थको मिलिभगत थियो। तर आइएलओ भ्रष्टाचारको कुरा सतहमा आयो र छानबिन समितिले प्रमाणित पनि गर्यो। तलका केहि कारवाहीमा परे ! तर यसको बचाउमा लाग्ने केन्द्रका महासचिव,उपाध्यक्ष र स्वयम् अध्यक्षले पनि दमदार आवाजमा बोलेनन्। यो पनि मिलि भगत चिरिप्प हो भन्ने आरोप छ। जसले अधिकतम सहयोग पचायो ऊ केन्द्रको पदाधिकारी भएकोले बच्यो। मध्यपूर्वका साना उडुस बिचरा ढुस भए। नियति यहि र यस्तै छ सन् २००९ देखि नै।
मानब तस्कर कसरि गर्छन त यिनले भन्नेकुरा बेल्जियमको गेन्ट महोत्सव,एसेण्ट्रा मेलाले देखाइसकेको छ। त्यो बेला भएको मानव तस्करीका कार्यकारी निर्देशक को थिए। तलका रक्षान सुँघेर परान धान्ने अझै यतै तिर एनआरएनएको टपरी बुन्दै छन्। अहिले त झन् एनआरएनए केन्द्र र क्षेत्रका केहि दलालहरु समेत मिलेर बिभिन्न म्यान पावर कम्पनीहरु चलाएका छन्। फेसमा मान्छे अर्कै देखिन्छ तर लगानी हेर्नुहुन्छ भने यिनीहरुकै धेरै छ। यिनै म्यानपावरको भ्रममा परेर विदेशमा पाइने आकर्षक तलबको लोभले धेरै युवाहरू विदेश पलायन भैरहेका छन् । तर विज्ञापनमार्फत पाएका झुटा विवरणको आकर्षणले पलायन भएका नेपालीहरू कफनमा फर्कन बाध्य छन् । के त्यो मानवीय समस्या एनआरएनएको महत्वपूर्ण मुद्धा हैन ? यदि हो भने म्यानपावरका दलाल र मानवतस्करको विरुद्ध अहिलेसम्म यो संस्थाले आवाज उठायो ? चुनाबको बेला नेताको दैला चाहार्ने नेतृत्व र उम्मेदवारहरू यस्ता मानवीय मुद्धा लिएर कति पटक डेलिगेसन गए ? यी दलालहरूलाई कारवाहीको दायरामा ल्याउने आगामी मुद्धा खै ? सबैको उत्तर हो गोलो आलु !
डोल्मा बचाउ अभियान भनौं वा अहिले चलेका परोपकारी अभियान,कार्यालयको लागि उठाइएको पुंजी वा शंख मूल पार्क यस्ता धेरै अभियानहरुको लगभग सबै पुंजी राष्ट्रिय समन्वय परिषदबाट उठेको हो। केन्द्रमा यिनीहरुको नाम त सरम मान्दै राख्न लगाइएको मात्र हो। अझ आफ्नै देशको कानुन र साधन स्रोतबाट चलेका स्थानिय वा राष्ट्रिय समन्वय परिषदहरुलाई यिनीहरुले कारवाहीको घुर्की लगाउछन। यदि राष्ट्रिय समन्वय परिषदहरुले केन्द्रसंग सम्बन्ध बिच्छेद गर्ने अभियान चलाए भने वा दलाल र बिचौलियाको घेरा तोड्ने अभियान चलाए भने स्थिति के होला ? राष्ट्रिय समन्वय परिषदले सबै स्रोत साधन आफ्नै हैसियतले प्रायोग गर्ने छन्। त्यसपछि केन्द्रले आफ्नो घाटको यात्रा त्यहि दिन देखि तय गर्ने पक्का छ। किनकि केन्द्र आँफैमा सुन्य हो।

प्रतिक्रिया
सम्बन्धित समाचार