आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ज्ञानको रुपान्तरण : डिल्ली अम्माईको विचार

मंगलबार, पुष १३ २०७८

अध्ययन र त्यसपछि गरिने छलफलको माध्यमबाट हामी इतिहास र वर्तमानलाई जोड्न सक्छौं र भबिष्यको आशालाई भरिलो र उज्यालो बनाउन सक्छौँ।अध्ययन र बहसले हाम्रो ज्ञानको क्षेत्रलाई फराकिलो बनाउदै लैजान्छ। संस्लेषित ज्ञान मार्फत कहिलेकाहीँ हामी सहभागी भएका भिन्नभिन्न संघर्षहरूलाई एकीकृत गर्न सक्छौँ।निजि संघर्षलाई साझा उद्धेश्यसंग जोडेर सिंगो देश र विश्वको रुपान्तरण गर्न सक्छौँ।त्यस्ता प्रयोग वा सामाजिक संघर्षहरुले हाम्रो अनुसन्धानको क्षेत्रलाई समेत झन् झन् गहनतातर्फ लैजान्छ।त्यसैले सामाजिक संघर्षहरु पनि हाम्रा अध्ययनका प्लेटफर्महरु हुन्।झट्ट सुन्दा, अध्ययन ब्याक्तिगत कर्म जस्तो लागेपनि यसको असर समाजमा देखिने गरि पर्दछ।अध्ययन पदार्थलाई चेतनामा बदल्ने वा भनौँ पदार्थलाई शक्तिमा बदल्ने प्रारम्भिक प्रयास हो।

जब हामी अध्ययनको दायरालाई सामूहिक रुपले प्रयोगमा लैजान्छौँ, बिचार समुहको निर्माण गर्छौं,उति उति समाज प्रति समर्पित हुँदै जान्छौँ। अध्यायनको यो प्रक्रियाले बैचारिक दायरालाई फराकिलो बनाउँछ। चेतनाको फराकिलो दायराले समाजका अन्तर सम्बन्धहरु बुझ्न मद्धत पुर्याउँछ र ज्ञानको बिकासले हाम्रो विश्लेषण क्षमतालाई गहन बनाउदै लैजान्छ। अध्ययन पछिको ज्ञानले जब व्याबहारिक परिक्षणमा खारिने मौका पाउँछ,त्यसले हजारौं प्रश्नहरुको उत्तर एकैसाथ दिन सक्छ। अध्यायन पछिको सैद्धान्तिक ज्ञान व्याबहारिक प्रयोग पछि बिज्ञान बन्दछ। जसले लाखौँ संका, विचार र सम्भावनाहरूको नयाँ ढोका एकैसाथ खोलिदिन्छ।

ज्ञान बिना चेतनाको बिकास सम्भव छैन र चेतनाको बिकास बिना मानिसले आँफुलाई पदार्थबाट अलग बनाउन सक्दैन। सामाजिक वा भनौँ राजनीतिक परिवर्तन र विकासका लागि समाजमा मानव चेतनाको अहम भूमिका हुन्छ। ति सबै चेतनाका आयामहरुलाई बुझ्ने बुझाउने माध्याम अध्ययन हो।अझ भनौं बहस सहितको संगठित अध्ययन चेतनाको स्रोत हो। संगठित अध्ययनले हाम्रा लक्ष्यहरू पूरा गर्ने सामुहिक आधार निर्माण गरिदिन्छ।आधारभूत रूपमा समुदायको हितमा आफ्नो भबिश्य देख्नेहरुले सदैव विचारको सम्प्रेषण गर्न चाहन्छन्, त्यसैले उनीहरुले आफ्नो समाजको भलाइको लागि आकासतर्फ हेरेर प्रार्थना गर्दैनन्। समाजको शुन्दरता चाहनेहरु निरन्तर पढ्छन र पदार्थलाई ज्ञानमा तथा ज्ञानलाई चेतनाको साथै शक्तिमा बदल्ने अभ्यास गरिरहन्छन।

बिज्ञान आँफै प्रकट हुँदैन,त्यसको लागि मानव संज्ञानले चेतनाको बाटो हुँदै अनेकौ व्याबहारिक परिक्षणहरु पार गर्नु पर्ने हुन्छ। परिक्षण भनेको क्रियात्मक अभ्यास हो। अभ्यास प्राय पर्दाथबाट चेतनामा लग्ने र फेरि पदार्थमा फर्काउने अर्थात व्यवहारबाट ज्ञानमा लग्ने र फेरी व्यवहारमा फर्काउने प्रक्रिया हो। जस्तै,विद्युतीयका दुई बिपरित धारको द्वन्दले सृजना गरेको सक्तिले ताप र प्रकास दुवै दिन्छ। नेगेटिभ नेगेटिभबीच द्वन्द हुदैन,त्यस्तै पोजेटिभ पोजेटिभ बिच पनि द्वन्द सम्भव छैन। बिना द्वन्द धारहरु शक्तिमा रुपान्तरित हुँदैनन्।सक्तिको रुपान्तरण बिना वल्बले उज्यालो र ताप दिदैन। यहि बिज्ञानको नियम सामाजिक अन्तरक्रियामा पनि अध्ययन गरिन्छ । यो बिज्ञान सम्मत बिचार हो। यसैलाई द्वन्दात्मक भौतिकबादी नियमको नामले जानिन्छ।

यसैलाई ज्ञान आर्जन गर्ने बैज्ञानिक बिधि भनिन्छ।बिचारको स्रोत के हो?बस्तुबादी बैज्ञानिक सिद्धान्त पैदा कसरि हुन्छन? के ति खालि दिमागी उपज मात्र होलान त ? कदापि हामीले त्यसो भन्न सक्दैनौं। सहि बिचार आर्जित ज्ञानको परिक्षणबाट आउने हुन्। ब्याक्तिको सामाजिक अन्तरक्रियाबाट बिचारहरुको निर्माण हुदै जान्छ। अन्तरक्रियात्मक संघर्षले भावनात्मक प्रभावलाई बिचारमा बदलि दिन्छ।बैचारिक धारणा उर्जामा रुपान्तरण हुन्छ भने सैद्धान्तिक ज्ञानले फड्को मार्दै परिवर्तनको एक चक्र पुरा गर्छ।

मानिसको दिमागमा भावनाको तह सबैभन्दा माथि हुन्छ, त्यसपछि धारणाको तह, अनि विचारको तह र सबैभन्दा गहिराइमा स्वत्वको तह हुन्छ। त्यहि स्वत्वको संकल्प भित्र नै ब्याक्तिको र उसले नेतृत्व गरेको समाज वा सामाजिक संघर्षको जीवन्तता टिकेको हुन्छ। केवल भावनाबाट निर्देशित कुराले परिवर्तनको दीर्घकालिन गतिशीलता सम्भव छैन। केवल भावनाको आवेगले केहीबेर आफै भित्र वा बाहिर तरङ्ग दिन सक्छ, तर रुपान्तरणको कारण र कारक बुझ्न सकिदैन। वैचारिक संकल्पको क्रियात्मक सत्य तथा स्वत्व स्वयम् द्वारा लिइने संकल्पले निर्धारण गर्दछ। मानिसको सामाजिक अस्तित्वले नै उसको विचारको तह निधारर्ण गर्छ। एकचोटी परिक्षण गरिएका सहि विचारहरुलाई बुझिसकेपछि ती विचारहरु भौतिक शक्तिमा फेरिन जान्छन्,जसले समाजको साथसाथै संसारलाई फेर्ने सामर्थ्य राख्दछ।

सत्व बिचारको परिक्षण पछिको संकल्पको मध्यमतह हो। सत्य संकल्पले नै बिचारलाई ब्याबहारमा लैजाने,ब्याबहारको प्रयोगले सृजित ज्ञानलाई रुपान्तरणको संकल्पमा बदल्ने गर्दछ। त्यसपछि अघिल्लो प्रयोगको ज्ञानले अर्को बिचार निर्माणको आवस्यकता पैदा गर्छ।फेरी त्यहि प्रक्रिया अझ बिकसित रुपमा दोहोरिंदै समुन्द्रको छालझैँ अगाडी बढी रहन्छ। यसरि समाज बिकासको गति निरन्तर अगाडी बढी रहन्छ। खगोलामा निहारिका,तारा र ग्रहहरु निर्माण पनि विज्ञानको यहि नियम अन्तर्गत हुने हो।त्यसैले यसलाई सृष्टिको भौतिकबादी नियम पनि भनिन्छ।

मानिसले अनुभवजन्य धारणाको सहाराले ज्ञानको संग्रह गर्दै जाने हो। इन्द्रीयग्राह्य ज्ञानको अन्तरक्रियात्मक प्रतिक्रियाले राम्रा नराम्रा अनुभवहरुको संग्रह गर्दछ। तिनै भावजन्य धारणाहरु अन्तरक्रियाको माध्यामबाट गुणमा रुपान्तरण हुने हुन्। धारणाले बिचारमा रुपान्तरण हुन थुप्रै ब्याबाहारिक अन्तरक्रियाको बाटोबाट गुज्रनु पर्ने हुन्छ।भौतिकबादी दार्शनिक नेता माओले भनेका छन् ,’बैज्ञानिक बिचार निर्माणको लागि यो क्रमको अन्य बिकल्प छैन। प्राप्त ज्ञान संग्रहको सम्पूर्ण प्रक्रियामा यो पहिलो चरण हो, वस्तुगत पर्दाथबाट मनोगत चेतनामा लैजाने चरण हो,अस्तित्वबाट विचारमा लैजाने चरण हो। कसैका चेतना वा विचारहरु (सिद्धान्तहरु, नीतिहरु, योजनाहरु वा उपायहरुसमेत) सहिरुपले वस्तुगत बाह्य संसारका नियमहरुलाई प्रतिबिम्बित गर्छन कि गर्दैनन भन्ने कुरा यस चरणमा अझै प्रमाणित भइसकेको हुदैँन, यस चरणमा ती कुरा सही छन् कि छैनन् भनि ठकुवा गर्नु अझै सम्भव हदैन ।’

ज्ञान आर्जन र प्रयोगको सृंखलाबारे बिचार बिज्ञानका ज्ञाताहरु के कुरामा सहमत छन् भने पर्दाथबाट चेतनामा लग्ने र फेरि पदार्थमा फर्काउने अर्थात व्यवहारबाट ज्ञानमा लग्ने र फेरी व्यवहारमा फर्काउने बारम्बारका अनकौँ क्रमपछि मात्र जो कोहि पनि सत्यको नजिक पुग्न सक्छौँ।त्यसपछि ज्ञान प्राप्तीको क्रममा दोस्रो चरण आउँछ, यो भनेको चेतनाको संकल्पले नयाँ चिज निर्माण गर्ने चरण हो। बिचार निर्माणको चरणले नयाँ अन्तरक्रिया गर्दै समाज रुपान्तरण गर्ने चरण भनेर बुझ्दा पनि भयो। अथवा चेतनाको सक्तिमा र सक्तिको पुन पदार्थमा रुपान्तरण भनेर बुझ्दा पनि भयो।अल्बर्ट आइष्टाइनको सुत्र अनुशार E=MC2 अर्थात पदार्थ प्रकाशको गतिको गुणामा शक्ति बन्दछ भनेर बुझ्दा पनि भयो। आइष्टाइनको सुत्रले प्रमाणित गरिसकेको छ कि पदार्थ सक्तिमा रुपान्तरण हुन्छ तर यसले प्रकासको गतिको गुणामा आफ्नो गति पैदा गर्नु पर्छ।पदार्थ पनि त्यहि हो र गति पनि त्यहि हो। भन्नाले दुवै बस्तुको गुणात्मक स्वरुप फरक हुने कारण नै बस्तु भित्र हुने अन्तरसंघर्ष। त्यो अन्तरसंघर्षको मुख्य कारक गतिलाई मान्न सकिन्छ। गतिले ताप वा उर्जाको साथै दुई बिपरित तत्वबीच अन्तरक्रिया उत्पन्न गर्छ र बस्तुले आफ्नो पुरानो रुपलाई गुणात्मक रुपले बदल्छ। बिना अध्ययन र प्रयोग बिज्ञानको यो नियम बुझिदैन। बिज्ञानको यो नियम सार्वभौम भएकोले जीवको उत्पत्ति,बिकास र रुपान्तरित मानव समाजमा पनि लागु हुने कुरा मार्क्सले पत्ता लगाए। अझ भनौं हेगेल( Georg Hegel) र फ्रायड लगायत भौतिकबादीहरुको धारणालाई गालेर दर्शनको रुपमा बिकास गरे। समाज बिज्ञानमा पनि ज्ञान पदार्थमा फर्कन सक्छ भनेर मार्क्स-एंगेल्सले भने।
भौतिकवादले पदार्थलाई प्रकृतिमा आधारभूत तत्व मान्दछ, साथै मानसिक अवस्था र चेतना सहित सबै चीजहरू भौतिक अन्तरक्रियाको परिणाम हुन् भनेर बुझ्दछ।भौतिकवादका अनुसार, मन र चेतना भौतिक प्रक्रियाहरू (जस्तै मानव मस्तिष्क र स्नायु प्रणालीको बायोकेमिस्ट्री) को उप-उत्पादन वा एपिफेनोमेना हुन्, पदार्थबिना तिनीहरू अवस्थित हुन त परे जावस अस्तित्वमा आउनै सक्दैनन्। यो अवधारणा पूर्णतया आदर्शवादको विपरित छ। भौतिकबादी बैज्ञानिकहरुले भावना बिचारमा गए जस्तै विचारलाई पनि भौतिक अस्तित्वमा लैजान सकिने गरि पदार्थलाई सक्तिमा रुपान्तरण गरेर देखाए। उनीहरुले शक्तिलाई पदार्थमा पनि बदलेर देखाए। बुझिने गरि उदाहरण दिनु पर्दा,हतियारमा युरेनियम पदार्थलाई अणुहरूको बिच्छेद र संकेन्द्रित गरेर बनाएको हाइड्रोजन बम र आणविक उर्जालाई लिन सकिन्छ। तिब्र गति र तापद्वारा कसरि पदार्थ शक्तिमा बदलिन्छ भन्ने कुरा आणविक भट्टीमा गएर सजिलै देख्न सकिन्छ।
मानव समाजमा त्यसलाई भिन्नै किसिमले बुझ्न सकिन्छ। उदाहरणको लागि मानिसको मजदुर बर्गले मालिकबाट आँफु लुटिएको ज्ञानलाई संघर्षको माध्यामले प्रतिक्रिया दिन्छन। मालिकहरुले तात्कालिक रुपमा थप आधारभूत सुबिधाको साथै मजदुरहरुको तलव बढाउँन बाध्य हुन्छन। त्यहि सफलतामा टेकेर मजदुर किसानबर्गले बर्गीय असमानता मेटाउने समाजबादी आन्दोलन मार्फत समानताकोलागि संघर्ष गर्दछन।

द्वन्दात्मक भौतिकबादका सिद्धहस्त माओको विश्लेषण अनुशार,’प्रयोगहरु समान्यरुपमा सफल भएका चाहिँ सही हुन्छन् र विफल भएका सही हुदैनन।विशेष गरी प्रकृतिसँग हुने मानिसको संर्घषमा यो कुरा साँचो हो।सामाजिक संघर्षमा प्रगतिशील वर्गलाई प्रतिनिधित्व गर्ने शक्ति कहिलेकाहीँ उनीहरुका विचारहरु सही नभएकोले होइन कि संघर्षमा लागेका शक्तिहरुको सन्तुलनमा केहीँ समयका निम्ती प्रगतिशील सापेक्ष पक्षका शक्तिहरु सरह उनीहरु शक्तिशाली नभएकोले हार खान्छन्,त्यसैले उनीहरु अस्थायीरुपले पराजित हुन्छ्न तर चाडो वा ढिलो उनीहरुले विजय पाउनु अवश्यम्भावी छ।’

ज्ञानले मानव व्यवहारको परिक्षणद्वारा गतिमा रुपान्तरण हुँदै जाने यो चक्र सरलताबाट गहनतातर्फ निरन्तर अगाडी बढी रहन्छ। प्रयोगको यो प्रक्रियाले नै सैद्धान्तिक बिचारलाई प्रमाणिक सत्यमा बदल्छ । सहि र गलतको पारख गर्ने अर्को कुनै सुत्र छैन।ज्ञानबाट संसार बुझ्ने र ब्याबहारबाट समाज बदल्ने यो बिधि बिज्ञानका हरेक आयाममा निर्विकल्परुपले स्वीकारिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार