विद्यमान समयमा नेपाली समाजमा सबैभन्दा बढी सलबलाउने पात्र र प्रवृत्ति भनेकै चाकडीबाज हुन् । धर्मिक कुरादेखी नेता र ठूलाबडाहरुले नै चाकडी-संस्कारलाई गोडमेल र मलजल गरिरहेका दृष्टान्त प्रयाप्त छन् । आम नागरिकले विना चाकडी जागिर जागिर पाउदैन,पाईहाल्यो भनेपनी विना चाकडी जागिर जोगिन्न।चाकडी गर्नै पर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्यो, चाकडी गर्नुपर्छ । वित्तिय संस्थाबाट ऋण लिनुपर्यो, चाकडी गर्नुपर्छ । कुनै ठेक्कापट्टा लिनुपर्यो, चाकडी गर्नुपर्छ । हुँदा-हुँदा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति व्यापक छ । हूँदाहुदाँ चाकडीबाज विना नेपाली राजनीतिमा पनी राजनीति नहुने अवस्थाको सृजना भएको छ ।
हाम्रो देशमा चाकडी संस्कार कतिसम्म मौलाएको छ भने, कुनैपनि कामको लागि विधी वा प्रक्रिया पुर्याएर पनि चाकडी गरिएन भने आफ्नो काम समयमै फत्ते हुँदैन । घण्टौँ, दिनहुँ र महिनौँ लाग्नसक्छ, त्यसैले पनी चाकडी गर्नैपर्छ ।
चाकडी-प्रवृत्तिले समाजमा राम्रा, दक्ष, सिपालु, इमान्दार मान्छेहरु पछाडि पर्छन् । धूर्त, चतुर चाकडीबाजले हुर्कने अनुकुलता पाउँछन् । चाकडी संस्कृतिले नेपाली राजनीतिलाई बढी गाँजेको छ । नेता-मन्त्रीको चाकडी नगरी केहीपनि हुन्न भन्ने मानसिकता व्याप्त छ । सही काम गर्न र गराउन पनि नेता-मन्त्रीको चाकडी गर्नैपर्ने वाध्यत्मक अवस्था हो, या हामी नेपालीहरूको विवेकको कमी। या चाकडी गरेकै भरमा आफ्नो काम फत्ते हुन्छ भन्ने मानसिकताले यस्तो प्रवृत्ति मौलाउदै गएको पनि हुनसक्छ ।
चाकडी गर्नेहरु हदैसम्म निहुरिएर स्तुती गान गाइरहन सक्छन् । तबसम्म उनीहरु स्तुती गान गाइरहन्छन्, जबसम्म चाकडीले पुज्ने व्यक्ति पग्लदैनन् आफ्नो काम वा स्वार्थ पुरा गराउनका लागि उनीहरु आफुलाई जतिसुकै सानो बनाउन पनि पछि पर्दैनन् । उनीहरु ठूला/बडाको अगाडि हातपाउ मोल्छन् । साष्टङ्ग दण्डवत् गर्छन् । भक्तिभाव प्रकट गर्छन् । बढाई-चढाई कुरा गर्छन् यो पनी भन्न भ्याउछन् मेरो बा पछिको बा तपाई नै हो ।
यस्तो किसिमको चाकडी गर्नेहरुसंग अरु विशेष क्षमता हुँदैन । विशेष कला हुँदैन । विशेष दक्षता हुँदैन । यदि उनीहरुसँग अरु कला, क्षमता, सीप हुँदो हो त चाकडीबाज गर्नतर्फ लाग्दैनथे । अगाडीको नेताले जे गर्यो ताली ठोकेर बस्दैनथे। त्यहाँ विद्रोहको क्रान्तिको मसाल बल्दथ्यो। नीतिगत दस्ताबेजमा आफ्नो स्वामित्व खोज्थे। आफुमा केही क्षमता नभएकाले नै उनीहरु चाकडीबाज गर्न थाल्छन् । यस्ता चाकडी कर्ताहरूले गर्दा राजनीति देखी हरेक ठाऊँसम्म असल, इमान्दार र सोझा व्यक्तिहरु पछाडि पर्छन् ।
चाकडी गर्ने धूर्त र फटाहहरुले हरेक अवसर एवं मौका हत्याउँछन् । उनीहरुकै रजगज चल्छ । यसले गर्दा इमान्दारहरु निरुत्साहित हुनपुग्छन् । धूर्तहरु फस्टाउँदै जान्छन् । आखिरमा यसले समाजमा नराम्ररी जरा गाढ्छ, यसको प्रतक्ष्य असर चुनावी मैदानमा देखा पर्छ। निर्वाचन जित्नसम्मकै लागी वा आफू अनुकूलताको पद सुरक्षित गर्नकै लागी चाकडी गर्छन् आफ्नो काम फत्ते भइसकेपछि धोका दिन सक्छन् । उनीहरु आफैप्रति विश्वस्त हुँदैनन् । अरुलाई विश्वास गर्दैनन् । जनतालाई व्यवस्था परिवर्तनका नाममा दुःख दिन्छन् र देशलाई राजनीतिक अस्थिरतातर्फ डोर्याउछन् ।
जुन देशमा लोकतन्त्र बलियो हुन्न त्यहाँ चाकरीको विकृति धेरै हुन्छ । लोकतन्त्र र खुला संसारमा गुण र दोषको आधारमा नराम्रा कुराहरुको आलोचना गरिने हुँदा त्यस्ता देशहरुमा चाकरी गर्ने प्रवृति अलिकम हुन्छ । नेपालमा लोकतन्त्र र खुलापनको राम्रो विकास नभएकोले हामी कहाँ यो विकृति निकै छ ।
चाकडी प्रथाले एकआपसमा विश्वासघात बढायो, राजनीतिक, शैक्षिक सामाजिक र आर्थिक समस्या बढायो । नागरिकले कुन नेतासँग के विषयमा विश्वास गर्ने ? समस्याको भावना देखियो । पहिले चाकडी गर्ने पछि खुट्टा तान्ने मानवीय व्यवहार नै घातक बन्यो । पार्टीका ठूला नेताहरुले छलकपट गरेरै भएपनि प्रधानमत्री मन्त्री बन्ने होड लागेपछि चाकडीबाज र ईमानदारहरूको विच टकराव हुन्छ, यो टकराव गुट र उपगुटमा बाँडिन्छन् । एउटा गुट त्यागेर स्वार्थका लागि अर्को गुटको खुट्टा पकड्ने बानी र व्यवहार नेपाली राजनीतिमा बढिरहेको छ । गुटगत लडाइँको चपेटामा ईमानदार युवा नेताहरु इन्तु न चिन्तु हुन्छन् न आफ्नो मुद्दा एजेण्डा लत्त्याएर हिड्न सक्छन् न त समाजमा ईमानदारहरूको पकड नै बलियो रहन्छ। सीनियर नेताहरूको युवा नेताहरुले चाकडी र चाप्लुसी नगरेन्न भने तथास्तु हुँदैन । तथास्तु पाएका चाकडी युवा नेताहरु इमानदार नभएरै पनि नेता बन्छन् । त्यस्ता नेताहरूले जीवनमा सफलन नेतृत्व विकास गर्न सक्दैनन् ।
चाकडी प्रथा अशिक्षा हो । नागरिकको चेतनास्तरको विकास, समाजको विकास र राष्ट्रको विकासको मेरुदण्ड शिक्षा हो । नेपालमा शिक्षाको विकास विकसित नभएसमम नागरिकहरुमा जागरण आउँदैन । चेतनाको स्वर पनि बढ्दैन । साँधुरो दायराको शिक्षा प्रणालीले गर्दा चेतनाको स्तर समाजोपयोगी बन्न सकेको छैन । जस्ले गर्दा चाकडीबाज, चकडी र चाकडीप्रथा अझै झाङ्गिदै जानलेवाला छ । केही समय मेरो पुस्ता चाकडीप्रथाको शिकार हुनेनै छन्। चाकडीप्रथा मौलाउँदै जानेछ ।